च्याम्पियन्स ट्रफी अन्तर्गत आज आयोजक इङ्ल्यान्ड न्युजिल्यान्डसँग भिडदै

आइसिसी च्याम्पियन्स ट्रफी अन्तर्गत मंगलबार समूह ‘ए’ को प्रतिस्पर्धामा आयोजक इङ्ल्यान्डको भेट न्युजिल्यान्डसँग हुँदैछ । इङ्ल्यान्डका लागि आजको खेल महत्वपूर्ण छ, न्युजिल्यान्डलाई हराएको खण्डमा आयोजक टोली २ खेलमा ४ अंक बटुल्दै सेमिफाइनल प्रवेश गर्नेछ । न्युजिल्यान्डका लागि भने पराजय प्रतियोगिताबाट बाहिरिने कारण बन्न सक्छ । त्यसैले इङ्ल्यान्डको तुलनामा न्युजिल्यान्डको लागि आजको खेल निकै महत्वपूर्ण छ । न्युजिल्यान्डले आफ्नो अघिल्लो खेलमा अस्ट्रेलियासँग अंक बाँड्नु परेको थियो ।

विश्व कप र च्याम्पियन्स ट्रफीको विगत कोट्याउँदा न्युजिल्यान्ड निकै बलियो देखिन्छ । न्युजिल्यान्डले पछिल्लो ७ प्रतिस्पर्धामा ६ मा जित निकालेको छ । पछिल्लो समय २०१३ मा कार्डिफको यही मैदानमा वर्षाले प्रभावित खेल इङ्ल्यान्डले जितेको थियो ।

यसपालि इङ्ल्यान्डको ब्याटिङ लाइन अप बलियो मानिएको छ। कप्तान इयोन मोर्गन लगायत एलेक्स हल्स, जोए रुट उत्कृष्ट लयमा देखिन्छ् । रुटले बंगलादेश विरुद्ध पहिलो खेलमा सतकीय इनिङ खेलेका थिए। हल्स ९५ रनमा आउट भएका थिए । मोर्गनले पनि ६१ बलमा अविजित ७५ रन बनाएका थिए । प्रारम्भिक ब्याट्सम्यान जासोन रोयको प्रतिभाबाट सबै जानकार छन् तर पछिल्लो केही इनिङमा उनी राम्रो ब्याटिङबाट चुकिरहेका छन् । उनी पछिल्लो ६ इनिङमा २० भन्दा बढि रन बनाउन सकिरहेका छैनन् । त्यही पनि कप्तान मोर्गनले उनी माथि ठूलो विश्वास देखाएका छन् । सम्भवत उनी आज पनि मैदानमा उत्रिँदैछन्।

न्युजिल्यान्डका कप्तान केन विलियम्सन पनि यसपालि इङ्ल्यान्डको ब्याटिङ राम्रो भएको स्विकार्छन् । भन्छन्, ‘उनीहरुको ब्याटिङको क्रम पछाडि सम्म छ । कुनै पनि गल्ती र सुरुमै हामीले विकेट झार्न सकेनौ भने यसको नतिजा हामीले ठूलो स्कोरको रुपमा स्विकार्नु पर्नेछ ।’ न्युजिल्यान्डका तीनजना तीब्र बलर टिम साउथी, एडम मिल्न र ट्रेन्ट बोल्ट फर्ममा छन् । उनीहरुले अस्ट्रेलिया विरुद्ध पहिलो खेलमा उत्कृष्ट बलिङ गरेका थिए । ब्याटिङमा पनि लुक रोञ्ची, मार्टिन गुप्टिल र केन विलियम्सन उत्कृष्ट लयमा छन् । कप्तान विलियम्सनले अस्ट्रेलिया विरुद्ध सतक बनाएका थिए ।

आजको खेलमा इङ्ल्यान्डलाई आफ्नो प्रारम्भिक बलर क्रिस ओक्सको अनुपस्थिति महसुस हुन सक्छ। बंगलादेश विरुद्ध पहिलो खेलमै उनी घाइते बन्न पुगेका थिए जसका कारण उनले प्रतियोगिता नै गुमाउनु परेको छ । उनको स्थानमा स्टिभन फिनलाई टिममा समावेश गरिएको छ तर आजको खेलमा कप्तान मोर्गनले अदिल रसिदलाई समावेश गर्ने सम्भावना बलियो छ । अदिल मध्यक्रममा इङ्ल्यान्डको सबैभन्दा विश्वासिलो बलर हुन् । उनले २०१५ को विश्व कपयता ३५ दशमलव ३५ को औसतले ५१ विकेट लिइसकेका छन् ।

इङ्ल्यान्डका लागि टिम साउथी घातक बन्न सक्छन् । उनले विलिङ्टनमा विश्व कपमा इङ्ल्यान्ड विरुद्ध जीवनकै उत्कृष्ट बलिङ गरेका थिए । त्यतिबेला उनले ३३ रन खर्चेर ७ विकेट लिएका थिए ।

सम्भावित टिमहरु

इङ्ल्यान्डः

जासोन रोय, एलेक्स हल्स, जोए रुट, इयोन मोर्गन (कप्तान), बेन स्टोक्स, जस बटलर (विकेटकिपर), मोइन अली, लियाम प्लुङ्केट, डेभिड विली–जाक वेल, स्टिभन फिन, मार्क उड

न्युजिल्यान्डः

मार्टिन गुप्टिल, लुक रोञ्ची (विकेटकिपर), केन विलियम्सन (कप्तान), रोस टेलर, निल ब्रुम, जेम्स निसहाम, कोरे एन्डर्सन, मिचेल सान्टनर, एडम मिल्न, टिम साउथी, ट्रेन्ट बोल्ट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 6 =