भरतपुरका जनप्रतिनिधिलाई इन्जिनियरहरुको सुझाव

किशोर खनाल, भरतपुर । इन्जिनियरहरुले भरतपुर महानगरपालिकाका जनप्रतिनिधिहरुलाई दीर्घकालीन योजना बनाएर एकीकृत विकास चलाउन अनुरोध गरेका छन् । नेपाल इन्जिनियरर्स एशोसिएसन क्षेत्रीय केन्द्र भरतपुरले बिहीबार गरेको ‘समृद्ध महानगरपालिका र हामी’ विषयक कार्यक्रममा इन्जिनियरहरुले भरतपुर महानगरपालिकाका जनप्रतिनिधिहरुलाई भरतपुर महानगरपालिका देशकै मध्येभागमा रहेको हुनाले यसलाई समृद्ध, व्यवस्थित र सुन्दर नगरपालिका बनाउन योजनासहित जनतामाझ जान अनुरोध गरेका थिए । कार्यक्रममा भरतपुर महानगरपालिकाका मेयर, उपमेयर र २९ वडा सबै वडाध्यक्षहरु उपस्थित भएका थिए ।
नेपाल इन्जिनियर्स एशोसिएसन क्षेत्रीय केन्द्र भरतपुरका अध्यक्ष तथा कार्यक्रमको अध्यक्षता गरेका हरि भण्डारीले महानगरको विकासमा इन्जिनियरहरुले के भूमिका खेल्न पर्छ, त्यो भूमिका खेल्न तयार रहेको बताए । उनले भने, ‘महानगरपालिकाको विकासको लागि इन्जिनियरहरुको साथ मागे हामीसँग रहेका २०० इन्जिनियरलाई फिल्डमा निःशुल्क रूपमा खटाइदिन सक्छौँ ।’ उनले महानगरको समृद्धिको लागि इन्जिनियरहरु जस्तोसुकै भूमिका पनि खेल्न सक्ने दाबी गरे । उनले चितवनमा २०० इन्जिनियरहरु रहेको बताउँदै भने, आवश्यक परे सबै इन्जिनियरहरु महानगरपालिकाको समृद्धिको लागि खटिन तयार छन् ।’

जनप्रतिनिधिहरुलाई कसरी भरतपुर महानगरलाई समृद्ध र व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा सहरी योजना जग्गा तथा आवास विकास विज्ञ तथा वास्तुकलाविद् ईश्वर जोशीले करिब २ घण्टा विकासका योजनाहरू प्रस्तुत गरेका थिए । उनले महानगरको कुन क्षेत्रलाई के बनाउने हो, त्यसबारेमा पहिला निर्णय हुनुपर्ने बताए । उनले भने, ‘कुन क्षेत्र औद्योगिक, कुन पर्यटकीय, कुन कृषि, कुन क्षेत्र हस्पिटल र कुन क्षेत्र शैक्षिक नगरी त्यो छुट्याउन जरुरी छ, नत्र महानगर व्यवस्थित नभई भद्रगोल हुन्छ ।’
उनले महानगरलाई दीर्घकालीन योजना बनाएर अघि बढ्न सुझाव दिए । उनले भने, ‘दीर्घकालीन योजना बनाएर कार्यान्वयनमा लाग्नुपर्छ, अन्यथा महानगर व्यवस्थित र समृद्ध हुन सक्दैन ।’ उनले जमिनलाई खण्डीकरण नगर्न सुझाव दिए । उनले भने, ‘प्लटिङ भन्दा माथि उठौँ र सुविधा सम्पन्न एवम् योजनाबद्ध मानव बस्तीको विकास गरौँ ।’ जोशीले विभिन्न व्यवस्थित सहर बन्न लागेका उदाहरणसहित भिडियो पनि प्रस्तुत गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालले इन्जिनियरहरुले दिएको सुझावलाई आत्मसाथ गर्दै अघि बढ्ने बताइन् । ‘जनताको अपेक्षा धेरै छन्, कुराभन्दा पनि काम गर्न जरुरी छ । हामी काम गर्ने हिसाबले अगाडि बढिरहेका छौँ’ मेयर रेणु दाहालले भनिन्, ‘विकासको योजना बनाएर अघि बढ्छु । सुन्दर, सफा र समृद्ध महानगर बनाउने लक्ष्यका साथ काम गरियो भने महानगर हिरा बन्न सक्छ ।’ कार्यक्रममा जनप्रतिनिधिलाई मायाको चिनो प्रदान गरिएको थियो ।








