उम्मेदवारी दिएका पत्रकारलाई महासङ्घ द्वारा बधाई तथा शुभकामना

नेपालगन्ज ६ । स्थानीय तहको निर्वाचनमा बाँकेबाट उम्मेदवारी दिएका पत्रकारलाई नेपाल पत्रकार महासङ्घ बाँकले शुभकामना सहित बधाई दिएको छ ।

महासङ्घ बाँके शाखाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी बधाई तथा शुभकामना दिइएको हो । कार्यक्रममा बोल्दै महासङ्घका केन्द्रीय सदस्य एवं मध्यपश्चिम संयोजक झलक गैरेले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका महासङ्घका सदस्यहरूलाई आफ्नो गन्तव्य सुनिश्चित गर्न सुझाव दिनुभएको थियो । उहाँले राजनीति र पत्रकारितासँगै अगाडी बढाउँदा स्वार्थ बाझिन सक्ने भएकाले नैतिकताको सङ्कट उब्जिएको बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका तर्फबाट नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख उम्मेदवार पदमा उम्मेदवारी दिनुभएकी उमा थापाले महासङ्घको सम्मानले थप हौसला प्रदान गरेको बताउनुभयो । पत्रकारिता क्षेत्रका समस्या आफूले बेहोरेको बताउँदै विजयी भएमा यस क्षेत्रको विकासका लागि लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै कार्यक्रममा नेपागन्ज–१० बाट सदस्य पदका उम्मेदवार अछरी पोखरेलले आफ्नो ठाउँको समस्या समाधान गर्न आफै अग्रसर हुनुपर्ने भएकाले उम्मेदवारी दिएको बताउनुभयो । पत्रकारिताबाट सेवा गर्दै आएको उल्लेख गर्दै पोखरेलले अब गाउँ र टोल विकासमा पनि लाग्ने बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष ठाकुर सिह थारुको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव तिलक गाउँलेले गर्नुभएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष रुपा गहतराजले दिनुभएको थियो । कार्यक्रममा जिल्लाका अग्रज पत्रकारहरुको सहभागिता रहेको थियो । स्थानीय तह निर्वाचनका लागि बाँके जिल्लाबाट सात जना पत्रकारको उम्मेदवारी परेको छ ।

 

उमेदवारी दिनेमा नेपाली काँग्रेसबाट नेपालगञ्ज उपमहानगरको उपमेयर पदमा उमा थापा मगर, खजुरा गाउँपालिकाको उपाध्यक्षमा दीपा आले ,एमालेबाट डुडुवा गाउँपालिकाको अध्यक्षमा सकिल खान, नेपालगञ्ज उपमहानगरपालिकाको १० नम्बर वडा सदस्यमा अक्षरी पोखरेलले उमेदवारी दिएका छन् । माओवादी केन्द्रबाट कोहलपुर नगरपालिकाको पाँच नम्बर वडाध्यक्षमा शिव सुनारले, नेपालगञ्ज उपमहानगरपालिकाको चार नम्बर वडाको सदस्यकमा मेराज सल्मानी उठेका छन् । यस्तै स्वतन्त्रबाट नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २० को वडाध्यक्ष पदमा वीरेन्द्रप्रकाश पुनको उम्मेद्धारी दर्ता गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 7 =