भरतपुरलाई एकपटक फर्केर हेर्दा !

किशोर खनाल

भरतपुर, साउन २२ । भरतपुर महानगर प्रमुखमा कांग्रेस–माओवादी गठबन्धनबाट विजयी भएकी रेणु दाहालको भाग्य निकै बलियो रहेछ भन्ने सावित भएको छ । भरतपुर महानगरमा वैशाख ३१ को निर्वाचन हिजो राति फस्र्यौट भएको छ । एकपटक निर्वाचनका ति दिहरुलाई फर्केर हेरौँ :

कति गते के भयो ?

वैशाख ३१ : स्थानीय तहको चुनाव
जेठ २ : मतगणना हुन सुरू
जेठ १४ : मध्यरातमा वडा १९ को मतपत्र च्यातियो
जेठ १५ : छानविन समिति गठन
जेठ २० : निर्वाचन आयोगको पुनः मतदान गर्ने निर्णय
जेठ २१ : आयोगको निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट
जेठ २२ : निर्वाचन प्रक्रिया रोक्न अन्तरकालीन आदेश
जेठ २८ : मुद्दा हेर्न नभ्याउने सूचीमा
जेठ ३० : मुद्दा पुनः हेर्न नभ्याउने सूचीमा
असार ६ : च्यातिएका मतपत्र पेस गर्न आदेश
असार १३ : च्यातिएका मतपत्र सर्वोच्चमा पेस
असार २३ : मुद्दाको सुनुवाइको पालो आएन
असार २६ : मुद्दाको सुनुवाइ पुनः भएन
साउन २ : मुद्दा हेर्दाहेर्दैमा स्थगित
साउन ८ : मुद्दा हेर्दाहेर्दैमा स्थगित
साउन ९ : मुद्दा हेर्दाहेर्दैमा स्थगित
साउन १२ : मुद्दा हेर्दाहैर्दैमा स्थगित
साउन १५ : अन्ततः पुनः मतदानको फैसला
साउन १७ : भरतपुर १९ मा पुनः मतदानको मिति घोषणा
साउन २० : भरतपुर १९ मा पुनः मतदान
साउन २० : रातिबाट मतगणना सुरु
साउन २१ : राति रेणु दाहाल विजयी ।

जेठ १४ गते मतपत्र च्यातेर पुनः मतगणना नगरेको भए रेणुले सायदै जित्ने थिइन् । सबैले सजिलै अनुमान लगाउन सकिने विषय हो । त्यतिखेर मतपत्र गन्दागन्दै कार्यकर्ताले मतपत्र नच्यातेको भए उनको जित पक्का थिएन । त्यसो त दुवै गठबन्धबीचमा जित सुनिश्चित छैन भन्ने  आंकलन भइसकेको थियो । तर, पुन :  मतदानपश्चात् तिरेल एक्का पल्टियो । निर्वाचनअघि भरतपुर महानगरमा नेपाली कांग्रेसबाट दिनेश कोइरालाले टिकट पाएपनि पार्टीले माओवादीसँग तालमेल गर्ने भएपछि कोइरालाको उम्मेद्वार फिर्ता भएको थियो ।

हिजो राति भरतपुर महानगरको प्रमुखमा कांग्रेस–माओवादी गठवन्धनकी रेणु दाहाल झिनो मतले विजयी भएकी छन् । रेणुले नेकपा एमालेका उम्मेद्वार देवी ज्ञवालीलाई २ सय ३ मतले पछाडि पार्दै विजयी भएकी हुन् । रेणुले ४३ हजार १२७ मत ल्याएकी छन् । एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीले देवी ४२ हजार ९२३ मत ल्याएका थिए ।

त्यस्तै उपमेयरमा पनि कांग्रेस र माओवादी केन्द्र गठबन्धनकै उम्मेदवार पार्वती शाह फराकिलो मतान्तरले विजयी भएकी हुन् । पार्वतीले ४७ हजार १९७ मत ल्याएकी थिइन् । एमालेबाट उपमेयरको उम्मेदवार बनेकी दिव्य शर्मा ३९ हजार ५२५ मत ल्याएकी छन् ।

पार्वतीले दिव्यको भन्दा ७ हजार ६७२ मत बढी ल्याएकी हुन् । भरतपुर महानगरपालिकामा मेयर तथा उपमेयर दुबै महिला छन् । वैशाख ३१ गते भएको चुनावको परिणाम ८३ दिनमा बल्ल भरतपुर महानगरले मेयर पाएको हो ।

मतगणनाको क्रममा जेठ १४ गते राति वडा नम्बर १९ को मतपत्र च्यातिएको थियो । निर्वाचन आयोगले पुनः मतगणनाको निर्णय गरेपछि सर्वोच्चमा रिट परेको थियो । सर्वोच्च अदालतले निर्णयलाई सदर गरेपछि साउन २० गते पुनः निर्वाचन भएको हो ।

पार्टीले उम्मेदवार बनाएपछि रेणु चुनावको मिति (वैशाख ३१ गते) भन्दा १५ दिनअघिमात्र चुनावी प्रचारको लागि चितवन आएकी थिइन् । उम्मेदवारको नोमिनेसन भइसकेपछि नेपाली कांग्रेस र माओवादी केन्द्रको तालमेल भएको थिए । त्यतिबेला नेपाली कांग्रेसभित्र रहेको व्यापक असन्तुष्टि सडकमै पोखिएको थियो ।

रेणुको प्रतिबद्धता  
रेणुले आफू मेयरमा विजयी भए भरतपुर महानगरपालिकालाई एउटा स्मार्ट सिटिको रुपमा विकास गर्ने बताएकी थिइन् । उनी भरतपुर महानगरको मेयरमा विजयी भएकी छन् ? बन्ला त अब भरतपुर महानगर अब स्मार्ट सिटी ?

त्यस्तै, चितवन आसपासका क्षेत्रलाई समेटेर देशकै वैैकल्पिक राजधानी बनाउन पहल गर्ने दाहालको प्रतिबद्धता पत्रमा उल्लेख थियो । होला त भरतपुर महानगर वैकल्पिक राजधानी ? बनाउन सक्छिन् त रेणुले महानगरलाई वैकल्पिक राजधानी ?

रेणुले भरतपुर महानगरका सबै सडक कालोपत्रे, भित्री र बाहिरी चक्रपथ निर्माण, सबै विद्यालयको भौतिक सुधार गर्ने प्रतिबद्धता पनि गरेकी थिइन् । निःशुल्क स्वास्थ्य सेवासहित महानगरका सबै वडामा १५ शैयाको अस्पताल निर्माण, शहरीकरण तथा सरसफाइ, सूचना प्रविधिको विकास, खेल क्षेत्रमा आमुल परिवर्तनलगायतका प्रतिबद्धता पनि रेणु दाहालले गरेकी थिइन् ।
महानगरका मतदातासामु रेणु दाहालले गरेकी प्रतिबद्धता पूरा होला त अब ? ‘कांग्रेस र माओवादी केन्द्रले जनता सामु गरेको प्रतिबद्धता ५ वर्षको कार्यकालमा जसरी पनि पूरा हुन्छ’ नेकपा माओवादीका जिल्ला सहइन्चार्ज घनश्याम दाहाल अविनाशले भने, ‘रेणुले मतदाता सामु गरेका प्रतिबद्धता पार्टीको घोषणापत्र नै हो, मेयर र उपमेयर कांग्रेस र माओवादी केन्द्र जितेका छन् । प्रतिबद्धता पूरा गर्नैपर्छ ।’

रेणु दाहालको ‘लक’?
पश्चिम चितवनको साविक शिवनगर–८ भीमसेन नगरमा २०३३ असार २२ गते जन्मिएकी रेणु दाहाल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी जेठी पुत्री हुन् रेणु दाहाल । रेणुले एसएलसीसम्मको अध्ययन गरेकी छन् । २०५२ सालदेखि माओवादी आन्दोलनमा लागेकी रेणु अनेमसंघ क्रान्तिकारी भारत प्रवास शाखा अध्यक्ष, युद्धकालमा नै माओवादी रोल्पा पार्टी सेक्रेटरी, सहइन्चार्ज, काठमाडौं जिल्ला कमिटीको सचिव भएर काम गरेकी छन् । माओवादी केन्द्रको पोलिट्व्यूरो सदस्य रहेकी उनी अनेमसंघ क्रान्तिकारीकी महासचिव पनि हुन् ।

२०६४ मा भएको संविधानसभा निर्वाचनपछि समानुपातिक सांसदका रुपमा काम गरेकी दाहाल २०७० सालमा भएको संविधानसभा निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्वर १ बाट कांग्रेसका नेता प्रकाशमान सिंहसँग पराजित भएकी थिइन् । अनिलकुमार पाठकसँग विवाह गरेकी रेणुका १ छोरा र एक छोरी छन् ।

उनी हुन् पार्वती शाह ?
०२४ साउन ५ गते चितवनको साविक गुञ्जनगर गाविस–५ मा पार्वती शाहको जन्म भएको हो । नेपाल महिला संघ चितवनको बहालवाला अध्यक्ष हुन् पार्वती शाह ।

शाहले ०४८ सालबाट कांग्रेसको विद्यार्थी संगठन नेविसंघमा आबद्ध भएर राजनीति सुरु गरेकी हुन् । प्रमाणपत्र तहसम्म अध्ययन गरेकी उनी विभिन्न सामाजिक संघसंस्थाहरुमा पनि सक्रिय छिन् । तरुण दलबाट राजनीति सुरू गरेकी पार्वती तरुण दल वडा अध्यक्ष, नगर अध्यक्ष, जिल्ला सदस्य, नारायणी अञ्चल सम्पर्क समितिको सदस्य, तरुण दलको केन्द्रीय सदस्य हुँदै भरतपुर महानगरको उपप्रमुख बनेकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 4 =