मतदान केन्द्र बढ्यो, मतदान स्थल पुरानै

किशोर खनाल, भरतपुर । निर्वाचन आयोगले चितवनको मतदाता सङ्ख्याको विवरण बढाएर पठाएको छ । आयोगले निर्वाचन कार्यालय भरतपुरमा अन्तिम मतदाता नामावली पठाउँदा मतदाता सङ्ख्या बढाएर पठाएको हो ।

‘आयोगबाट मतदाता सङ्ख्या बढेर आएको छ । चितवनमा मतदाता सङ्ख्या ३ लाख ५४ हजार ३६ पुगेको विवरण आयोगबाट आएको छ’ निर्वाचन कार्यालय भरतपुरका प्रमुख हरिप्रसाद ढकालले भने । उनले ३ लाख ५४ हजार ३५ मतदाता सङ्ख्याको विवरण पठाएको बताए । उनले भने, ‘एक मतदाता सङ्ख्या बढेर आयो, तर यसमा पनि एकदुई मतदाता सङ्ख्या तलमाथि हुन सक्छ, तर अब फाइनल मतदाता सङ्ख्या यही नै हो ।’

चितवनमा पुरुष मतदाताको सङ्ख्या १ लाख ६९ हजार ९६७ पुगेको छ । त्यस्तै एक लाख ८४ हजार ६८ जना चितवनमा महिला मतदाता छन् । ‘चितवनमा पुरुषभन्दा १५ हजारभन्दा बढी महिला मतदाता रहेका आयोगबाट आएको विवरणमा पाइन्छ’ कार्यालय प्रमुख ढकालले भने ।

निर्वाचन आयोगले पठाएको विवरण अनुसार चितवन क्षेत्र नम्बर १ मा एक लाख १९ हजार ९९८ मतदाता छन् । क्षेत्र नम्बर २ मा १ लाख ८२ हजार १५ मतदाता छन् । क्षेत्र ३ मा १ लाख २५ हजार ८२३ मतदाता छन् ।

चितवनमा मतदान स्थल पुरानै कायम गरिएको छ । ‘स्थानीय तहको चुनावको बेला चितवनमा १६१ मतदान स्थल तोकिएको थियो । अब प्रदेश र प्रतिनिधि सभाको चुनावमा पनि त्यही मतदान स्थल कायम हुन्छ’ निर्वाचन कार्यालय भरतपुरका सूचना अधिकारी भीमप्रसाद ढकालले भने । उनले मतदान केन्द्र बढाएर ४०८ पु¥याइएको जानकारी दिए ।

सूचना अधिकारी ढकालका अनुसार स्थानीय तहको चुनावमा चितवनमा ३७६ मतदान केन्द्र तोकिएको थियो । चितवनमा ‘हेभिवेट’ उम्मेदवार उठ्ने चर्चा चलेसँगै चुनावी सरगर्मी पनि बढिरहेको छ । भरतपुरमा भोलि बिहीबार बिहान १० बजे मुख्य निर्वाचन अधिकृतको कार्यालय खुल्ने भएको छ ।

मतदाता शिक्षाको लागि यस पटक मतदाता शिक्षा स्वयम्सेवी बढी खटाइने निर्वाचन कार्यालय भरतपुरले जनाएको छ । स्थानीय तहको चुनावमा ३७६ मतदाता शिक्षा स्वयमसेवी खटिएका थिए । ‘अहिलेको प्रतिनिधि तथा प्रदेश सभाको चुनावको लागि ४०८ जना मतदाता शिक्षा स्वयमसेवीहरु खटाइनेछ’ सूचना अधिकारी भीमप्रसाद ढकालले भने ।

निर्वाचन कार्यालयले मतदाता शिक्षा स्वयमसेविका पठाइदिनको लागि विभिन्न कार्यालयलाई अनुरोध गरेको छ । ‘मतदाता शिक्षा स्वयमसेविकाको लागि जनस्वास्थ्य कार्यालय, महानगरपालिका र जिल्ला शिक्षा कार्यालयसँग अनुरोध गरेका छौँ’ सूचना अधिकारी ढकालले भने, ‘जनस्वास्थ्य कार्यालयबाट महिला स्वास्थ्य स्वयमसेविका, महानगरपालिकाबाट सामाजिक परिचालक र शिक्षा कार्यालयबाट पूर्व शिशुशिक्षिका पठाउन अनुरोध गरेका छौँ ।’ उनले तीन वटा कार्यालयबाट आएका नामहरुबाट मतदाता शिक्षा स्वयमसेवी छनौट गरिने बताए । मतदाता शिक्षा सामग्री आएपछि मतदाता शिक्षा कार्यक्रम सुरु हुने बताइएको छ । निर्वाचन आयोगबाट दिने सम्पूर्ण तालिमहरु सकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + fifteen =