रियल म्याड्रिड र युनाइटेड सिजनको पहिलो उपाधिका लागि भिड्दै

एजेन्सी । युएइफा सुपर कप अन्तर्गत हुने च्याम्पियन्स लिग विजेता र युरोप लिगको विजेता बिचको खेल म्यासेडोनियामा मंगलबार हुँदैछ । स्पेनिस च्याम्पियन रियल म्याड्रिड र इङ्गलिस क्लब म्यानचेस्टर युनाइटेड सिजनको पहिलो औपचारिक उपाधिका लागि भिड्ने छन् ।

जिनेदिन जिदानको प्रशिक्षकत्वमा रहेको रियलको सामना गर्न जोसे माउरिन्होको टोली सोमबार त्यसतर्फ लागेको छ । यी दुई टोलीले ३३ हजार ४ सय ६० जना दर्शक क्षमताको फिलिप एरिनामा एक-अर्कोको सामना गर्नेछन् । युनाइटेडका नयाँ खेलाडी नेमान्जा म्यटिचले बुधबार साम्पडोरियासँग २–१ को जितमा प्रभावशाली प्रदर्शन गरेकाले उनले रियलविरुद्ध खेल्ने सम्भावना छ । अर्कोतिर यो सिजन क्लबमा आबद्ध भएका भिक्टर लिन्डेलोफ र रोमेलु लुकाकुले पनि प्रतिस्पर्धात्मक खेलमा ‘डेब्यू’ गर्ने सम्भावना छ ।

प्रि सिजनको कुनै पनि खेलमा सहभागिता नजनाएका रोनाल्डोले सुपर कपमा अधिकांशको ध्यान खिच्ने पक्का छ । उनीसँगै २४ सदस्यीय टोलीमा नयाँ सदस्य डानी सेबालोस र थियो हर्नान्डेज रहेका छन् । बालोन डी’ ओर विजेता रोनाल्डो पुरानो क्लब युनाइटेडविरुद्ध उत्रदा लुका मोड्रिच र ग्यारेथ बेलजस्ता स्टारको पनि साथ रहनेछ । रियलले गत सिजन लोनमा बिताएका बोर्जा मायोरल र जेसस भालेजोलाई पनि टोलीमा समावेश गरेको छ ।

युनाइटेडका प्रशिक्षक माउरिन्होले आफ्नो क्लबको प्रि-सिजन उत्कृष्ट रहेको बताएका छन् । ‘सबैले खेले । हामीले धेरै परिक्षण गर्यौं । यद्दपी नतिजाको हामीले धेरै मतलब गरेनौं,’ उनले भने, ‘हामीले टोलीमा आउने आमुल परिवर्तनका विषयमा परिक्षण गरेका हौं । केही चोटले समस्या पारेको छ, तर त्यस्तो चिन्ताजनक छैन । अब हाम्रो ध्यान सुपर कप र प्रिमियर लिगको पहिलो खेलमा लक्षित छ ।’

यता रियलका प्रशिक्षक जिदानले, रियलले प्रिसिजनमा तयारी राम्रो गरेको बताए । नतिजा रियलको पक्षमा नआएपनि टोलीले युवा र अनुभवी खेलाडीलाई एकतृत पार्न मद्दत पुगेको उनको बुझाई छ । उनले ग्यारेथ बेल रियलमै रहने प्रष्ट्याए । नेपाली समयानुसार खेल मंगलबार मध्यरातको १२:३० बजे हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 1 =