भाेट तान्न अनेकाै दाउ हाल्दै प्रदेश नं १ का उम्मेदवार

कार्तिक २३, काठमाडौँ । जति चुनाव नजिकिदै जान्छ त्यति जनतालार्इ झुक्याउने दाउ नेताहरूले गरिरहेका हुन्छन् । अधिकांश नेताहरू चुनावका बेला हात जाेड्दै घरघर खाेज्दै आउँछन् तर जितेपछि वर्षाै सम्म नाक मुख देखाउन अाउँदैनन् । अहिले प्रदेश सभा र प्रतिनिधि सभाका लागि नेताहरूकाे दाैड सुरु भइसकेकाे छ । जनतालार्इ विकासका नारा दिँदै झुक्याउन नेताहरू लागि परेका छन् । यसकाे जाेलन्त उदाहरण भनेर प्रदेश नम्बर १ बाट चुनावमा प्रतिस्पर्धा गर्ने नेताज्यूहरूले दिएकाे भाषणबाट सहजै अनुमान गर्न सकिन्छ । प्रदेश नम्बर १ का सहरहरू बिराटनगर, इटहरी, धरान र धनकुटामा नेताहरूले यस्ताे राजनीति गरेका छन् कि एक प्रदेशकाे राजधानी एउटा हुनुपर्नेमा जता गयाे तेतै राजधानी भनेर भाषण गरेकाे सुन्न पाइन्छ ।
नेकपा एमालेले प्रदेश नम्बर १ को राजधानी कुन ठाउँलाई बनाउने नीति लिएको छ भनेर नेकपा एमालेका नेताहरूलार्इ साेध्दा तिन थरी जवाफ उम्मेदवारहरूले दिन्छन् । एमाले नेता राजेन्द्र रार्इ धनकुटालाई प्रदेशको राजधानी बनाउँछु भन्दै चुनावमा मत तानिरहेका छन् । राईले भनेका छन्, ‘मेरो मुख्य एजेण्डा भनेको धनकुटाका जनताको खुसी, सुख र समृद्धि हो । प्रदेश नं. १ को राजधानी धनकुटालाई बनाइनेछ ।’

एमाले र माओवादीका साझा उम्मेदवार बनेका राईले आफ्ना प्रतिद्वन्दी राप्रपा प्रजातान्त्रिकका नेता सुनीलबहादुर थापाले धनकुटालाई प्रदेशको राजधानी बनाउन नसक्ने र आफ्नो दल एमालेले मात्रै सक्ने भन्दै चुनावी भाषणहरु गरिरहेका छन् । धनकुटाबाट प्रतिनिधिसभामा राप्रपा र काँग्रेसका साझा उम्मेदवार थापाले पनि धनकुटालाई प्रदेशको राजधानी बनाउने भन्दै भोट मागिरहेका छन् ।
त्यस्तै एमाले नेता जयबहादुर रार्इ, धरानलाई प्रदेशको राजधानी बनाउँछु भन्दै हिडीरहेका छन् । प्रतिनिधिसभाका लागि सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका राईले आफूले चुनाव लडेकै क्षेत्रमा प्रदेशको राजधानी बनाइने नारा अगाडि सारेका छन् । उनले भने, ‘वाम गठबन्धनबाट केन्द्रीयस्तरमा घोषणापत्र जारी भइसकेको छ । यहाँको स्थानीय घोषणा पत्र तयार गर्ने काम भइरहेको छ । मेरो घोषणापत्रको मुख्य एजेण्डा भनेको धरानलाई प्रदेशको राजधानी बनाउने हो ।’ एमाले नेता राईले अगाडि भने, ‘प्रदेशको राजधानी बनाउनका लागि धरान उपयुक्त ठाउँ हो । हरेक दृष्टिकोणबाट धरान १ नं. प्रदेशको केन्द्रमा छ । बिराटनगरको गर्मीको मान्छे धरानमा आएर काम सम्पन्न गर्न सक्छ । किमाथाङ्काको जाडोको मान्छेले पनि यहाँ आएर काम गर्न सक्छ ।’

यी त दुर्इ क्षेत्रका प्रतिनिधिका कुरा भए । प्रदेशको राजधानी बनाउँछु भन्दै भाषण गर्नेमा लालबाबु पण्डित पनि के कम, उनी पनि विराटनगरलार्इ प्रदेशकाे राजधानी बनाउने भन्दै मतदाता माझ पुगेका छन् । पण्डितले भने- ‘बृहत्तर बिराटनगरको विकासको अवधारणा अनुरूप बिराटनगरलाई प्रदेशको राजधानी बनाइनेछ ।’ साथै बिराटनगरलाई प्रदेशको राजधानी अनुरूपको संरचनामा स्तरोन्नति गर्नका लागि अहिले बिराटनगरमा रहेको एयरपोर्टलाई विस्तार गरेर क्षेत्रीय स्तरको अन्तर्राष्ट्रिय एयरपोर्ट बनाउने योजना एमाले नेता पण्डितले अगाडि सारेका छन् । पण्डितले आफ्नो चुनाव प्रचारमा आफ्नो पार्टीले बिराटनगरलाई नै प्रदेशको राजधानी बनाउने बताउने गरेका छन् ।








