पाहुना टोली दुर्गापुर स्टीललाई हराउदै थ्रीस्टार बुढासुब्बा गोल्डकपको फाईनलमा

धरान, माघ २५ । सुनसरीको धरानमा जारी २०औँ बुढासुब्बा गोल्डकपको बिहिबारको अन्तिम सेमिफाइनल खेलमा भारतको दुर्गापुर स्टिल क्लब कलकत्ता लाई १–० गोल अन्तरले पराजित गर्दै थ्रीस्टार क्लब फाईनल प्रवेश गरेको छ ।
धरान १६ स्थित प्रस्तावित क्षेत्रीय रंगशालामा भएको खेलमा पाहुना टोली कलकत्तालाई १– ० ले पछि पार्दै थ्रिस्टार क्लब विभागीय टोली नेपाल पुलिस क्लबसँग फाईनल खेलमा भिडन्त पक्का गरेको हो ।
थ्रि स्टारको जितका लागि खेलको ईन्जुरी समयको अन्तिम २ मिनेट बाँकी छँदा जर्सी नंम्बर १३, का विष्णु गुरुङले एक मात्र गोल गरेका थिए ।

निकै प्रतिस्पर्धात्मक भएको खेलमा थ्री स्टार क्लबका खेलाडीहरुले गोल गर्ने थुप्रै मौका पाएपनि कलकताका डिफेन्सका कारण गोल गर्न भने असर्मथ रहेका थिए ।
उता कलकताको टीमले पनि गोल गर्ने सुनौलो अवशर पाएपनि कुनै गोल गर्न सकेन र अन्तमा ईन्जुरी समयमा एक गोलको अन्तरले हार भयो ।
आज (बिहिबार) को खेलको म्यान अफ दि म्याच थ्रिस्टारका गोल किपर एलेन न्यौपाने घोषित हुदै नगद १० हजार रुपैयाँ समेत प्राप्त गरेका छन् ।

अब फाईनल खेलका लागी थ्री स्टार क्लबले नेपाल पुलिसको सामना गर्नेछ । नेपाल पुलिस क्लब गत बुधबार संकटा क्लबलाई २–१ गोल अन्तरले हराउँदै फाईनलमा आफनो स्थान सुरक्षित गरिसकेको छ ।
प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँ र उप विजेताले ३ लाख रुपैयाँसँगै टर्फी मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै खेल अबधीभरीका बिभिन्न बिधामा उत्कृष्ट प्रर्दशन गरेको आधारमा याहामाको मोटर साईकल, नगद २५ हजार तथा अन्य पुरस्कार समेत पाउनेछन् ।
बुढासुब्बा गोल्डकपको फाईनल खेल २७ गते शनिबार धरानको क्षेत्रीय प्रस्ताबित रंगशालामा दिनको २ बजे हुने आयोजकले जनाएको छ ।








