३१ जोडी श्रीमान्–श्रीमती कार्यरत सीटीईभीटीमा राज्यको लगानी `बालुवामा पानी’

काठमाडौँ, माघ १८ । ३१ जोडी श्रीमान् श्रीमती कार्यरत अड्डाका रुपमा चिनिने सीटीइभीटीमा राज्यले गरेको अर्बाैँको लगानी बालुवामा पानी खन्याए बराबर भएको उराठ लाग्दो तथ्याँक फेला पारिएको छ ।

नेताहरुको श्रीमती,प्रेमिका तथा आफन्तले मात्र जागिर खाने अड्डाको रुपमा वदनामी कमाएको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् दिन प्रति दिन दलदलमा फस्दै गएको दृश्य फेला परेको छ । प्राविधिक शिक्षा दिई वेरोजगार उन्मलुन गर्ने भन्दै स्थापना भएको सीटीईभीटीईबाट तालिम लिएकाहरु नै वेरोजगारी हुनुपरेको उराठ लाग्दो तथ्यांक भेटिएको हो ।

सो संस्थाबाट तालिम लिएकाहरुमध्य अधिकांश बेरोजगार हुने गरेको भेटिएसँगै सो संस्थामाथि खन्याएको अहिलेसम्मको लगानी बालुवामा पानी खन्याएझैं औचित्य विहिन बन्न पुगेको त्यहाँका इमान्दार कर्मचारीहरुले बताउन थालेका छन् ।

१८ गते बिहीबार ४ जना ज्वाइँ–जेठान, २४ जना दाजु–भाइ, ८ जना बाबु–छोरा, ४ जना बहिनी–ज्वाइँ, २ जना भतिजी र ज्वाइँ, ८ जना साडुदाइ–साडुभाइ, ६ जना साला–साली–भिनाजु, २ जना देवर–भाउजू , २ जना काका–भतिज , ४ जना दिदी–भाइ, ४ जना भान्जा–भान्जी गरि कूल ३१ जोडी श्रीमान् श्रीमती कार्यरत रहेको प्राविधिक शिक्षा कार्यालमा पुग्दा नातागत शैलीमै एकले अर्कालाई सम्बोधन गर्दै काम अह्राउदै गरेको सुनियो ।

‘ए नानी ! म एक छिन बाहिर काम विशेषले जानुपर्ने भयो । केही समय यो अफिसको रेखदेख गर्नु है । बीचमा केही पर्यो भने मलाई तत्काल सम्पर्क गर्नु ।’ कार्यालयका निर्देशक रमेश बखतीको कोठाबाहिर यस्तै गन्थन सुनिन्थ्यो । यसकारण प्रष्ट हुन्छ कि प्राविधिक शिक्षा कार्यालय कसरी सञ्चालन भइरहेको रहेछ भनेर । हुन त यस सम्बन्धिका समाचार सामाग्रीहरु पटक पटक नआएका भने होइनन् । यसरी सीटीईभीटीलाई आफन्तको भर्ती केन्द्र बनाउन कांग्रेस नेता गोविन्दराज जोशीलाई श्रेया जान्छ । ०४८ देखि ०५१ सम्म शिक्षामन्त्री हुँदा उनले सीटीईभीटीलाई कार्यकर्ता र आफन्त भर्ती केन्द्र बनाएका थिए ।

५० प्रतिशत वेरोजगार
यसरी प्राविधिक शिक्षा तर्फ विद्यार्थीको आकर्षण बढ्दो भए पनि व्यवसायीक शिक्षा दिने निकाय प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सीटीईभीटी) को निकम्मापनका कारण अहिलेसम्म त्यहाँबाट अध्ययन गरेकामध्ये ५० प्रतिशत विद्यार्थीले मात्र रोजगारी पाएका र बाँकी ५० प्रतिशत वेरोजगार नै भएको तथ्यांक हालै मात्र सार्वजानिक भएको हो । स्रोतका अनुसार ५० प्रतिशत बेरोजगारमध्य ४३.५ प्रतिशत बेरोजगार र ५ प्रतिशत स्वयंसेवीका रुपमा काम गरिरहेका छन् ।ती स्वयंसेवी समेत बेरोजगार नै हुन् ।

 

सीटीईभीटी अन्तर्गत अघिल्लो शैक्षिक सत्रमा प्राविधिक एसएलसी तर्फ १२ हजार ८ सय ५२ जना, डिप्लोमा तर्फ ९ हजार ६ सय ६६ र विषेश कक्षातर्फ ३ सय विद्यार्थी गरी २२ हजार ८ सय १८ विद्यार्थी उत्तीर्णभएका मध्य सीटीईभीटीबाट पास भएका विद्यार्थी मध्ये डिप्लोमा तर्फका ४ हजार ८ सय ८२ जनाले मात्र रोजगारीको अवसर पाएका छन् भने प्राविधिक एसएलसी तर्फ ५९ प्रतिशत रोजगारमा आवद्ध छन् । अर्थात प्राविधिक एसएलसी गर्ने ७ हजार ५ सय ८३ जनाले रोजगारी पाएका हुन् । १२ हजार ८ सय ५२ जनाले प्राविधिक एसएलसी उत्र्तीण गरेको तथ्यांक छ । यस्तै, डिप्लोमा तर्फ स्वयंसेवकका रुपमा काम गर्ने ५ प्रतिशत अर्थात ४९ जना छन् भने प्रविधिक एसएसली तर्फका ४.१ प्रतिशत अर्थात ५ सय २७ जना रहेका छन् ।

जस मध्ये स्वरोजगारमा १८ प्रतिशत, औपचारिक क्षेत्रमा ७१.७ प्रतिशत, अनौपचारिक क्षेत्रमा ८.६ प्रतिशत र विदेशमा १.७ प्रतिशत जनशक्ति रोजगारीमा लागेका छन् । यस्तै ८२ प्रतिशत इन्जिनियरिङ, ७३ प्रतिशत स्वस्थ्य र ७४ प्रतिशत कृषिमा रोजगारी पाएका छन् । हाल सीटीईभीटीले ३८ वटा पाठ्यक्रम डिप्लोमा तर्फ, २५ वटा पाठ्यक्रम प्राविधिक एसएलसीतर्फ र १ सय ७७ व्यवसायिक पाठ्यक्रम (तीन महिने) कार्यक्रम सञ्चालनका लागि अनुमति दिएको छ । सीटीईभीटीमा यति धेरै विकृति र विसंगतिहरु देखिन थालेसँगै सिटिभिटिई सुधार गर्ने भन्दै डा. सुरेशराज शर्माको संयोजकत्वमा सात सदस्यीय उच्च स्तरीय समितिमा गठन गरिएको छ । सो समितिमा सदस्य सचिव पुष्पराम वाग्ले, योजना आयोगका गिता भक्त जोसी, प्रा.डा. शिवकुमार राई, डा.हरी लम्साल र डा. दिनेश चन्द्र देवकोटा रहेको बताइएको छ ।

                   रमेश बखती, निर्देशक, सीटीईभीटी

के भन्छन् निर्देशक बखती ?
देश संघीयतामा गएको कारण प्राविधिक शिक्षाको अवस्था कस्तो हुन्छ ? भन्ने विषयमा उच्च स्तरीय कार्यदल गठन भएको छ । काठमाडौँ विश्व विद्यालयका पूर्व उपकूलपति तथा सीटीईभीटीका संस्थापक डा.सुरेशराज शर्माको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । र, ती सबै सात प्रदेशमै यसको कार्यालय स्थापना गरिँदै छ । हाल तीन स्थानमा सञ्चालन रहेको क्षेत्रीय कार्यालय पनि प्रदेशमा रुपान्तरण हुनेछ । जस्ले गर्दा सेवाग्राहीलाई सहज हुने बताउछन् निर्देशक बखती । बखतीका अनुसार सीटीईभीटीकै कर्मचारीहरुलाई प्रदेशमा कार्यसञ्चालनका लागि पठाइनेछ । तत्काललाई सात प्रदेशका लागि ३१ जनाको कर्मचारी पठाइने निर्णय भएको छ भने ती प्रदेशहरुका लागि आवश्यक कर्मचारीहरुको दरबन्दी पनि गरिनेछ । यसकारण अब पहिला भएका कमीकमजोरीलाई सुधार गर्दै नयाँ नीति निर्माण गरिने उनी बताउँछन् ।

५० प्रतिशत बेरोजगार छैनन्
वैदेशीक रोजगारीमा जाँदा सीप अनुरुपको आम्दानी गरोस् भन्ने खातिर पनि कार्यालयले त्यस्ता खालका कार्यक्रमहरु अघि बढाएको उनी बताउँछन् । तर, देशमा ५० प्रतिशत युवाहरु बेरोजगार भएको तथ्याँक भने गलत भएको उनी बताउँछन् । ‘कतिपय मोबाइल तथा मोटर साइकल मर्मतका तालिम लिएका हुन्छन् । उनीहरुले आ–आफ्नै पसल खोलेर त्यहाँबाटै वैदेशिक रोजगारमा गएका छन् भने धेरै मात्रामा स्टाफ नर्सहरु विदेशीएका तथ्याँक नभएकोले यस्तो खालको देखिन गएको हो ।’

अर्कातिर सीटीईभीटीबाट मान्यताप्राप्त शैक्षिक संस्थाको शुल्क पनि एकरुपता भएको देखिँदैन । जब कि शुल्कमा एकरुपता हुन जरुरी छ । यस विषयमा निर्देशक बखती भन्छन्–‘ डिप्लोमा इन फार्मेसी, जनरल मेडिसिन (एचए) र स्टाफ नर्स अध्ययन शुल्कमा एकरुपता होस् भनेर नै एउटा समिति नै गठन भएको छ । शिक्षा मन्त्रालयको सह–सचिवको संयोजकत्व रहेको यो समितिमा सीटीईभीटीका प्रतिनिधि र २ जना विज्ञ गरि पाँच जनाको टोली रहेको छ । तर, यो निर्णयको टुङ्गो लागिसकेको अवस्था भने छैन ।’ यसकारण अब कसरी हुन्छ राज्यले यसका लागि आवश्यक नीति नियम बनाएर अघि बढाउनुपर्ने उनी बताउँछन् । ‘प्राविधि शिक्षा बिना देशको विकल्प गर्न सकिँदैन । त्यसैले राज्यले यो क्षेत्रमाथि विशेष अध्ययन तथा अनुसन्धान गरेर आवश्यक नीति बनाउन जरुरी छ ।’ अन्त्यमा उनी यो पनि भन्छन्,‘राज्यले यो क्षेत्रमा अझ लगानी नबढाइ हुँदैन । जसरी हुन्छ लगानी बढाएर प्राविधिक शिक्षा दिलाएर देशको विकास गर्न युवा वर्गलाई प्रेरित गर्नुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =