कांग्रेसलाई भोट दिनु बाँदरको हातमा नरिवल दिनु सरह

असार ११, इटहरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई भोट दिनु भनेको बाँदरका हातमा नरिवल दिनु जस्तै भएको भन्दै चुनावी सभामा भाषण गर्नुभएको छ । शनिबार इटहरीमा भएको चुनावी सभामा एमाले अध्यक्ष ओलीले यस अघि कांग्रेसलाई नागरिकले पटकपटक बहुमत दिँदा पनि केही गर्न नसकेको बरु देशलाई प्रतिगमन तर्फ धकेलेको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो ‘बाँदरलाई नरिबल दिँदा के गर्छ, चलाउँछ चलाउँछ फालिदिन्छ ।’ कांग्रेसले पनि नागरिकको अभिमतलाई त्यसै गरेको उहाँले आरोप लगाउनु भयो । अब कसैले चाहेर पनि नाकाबन्दी गर्न नसक्ने उहाँले दावी गर्नुभयो । आफ्नो नेतृत्वको सरकारले उत्तरतिर पनि बाटो खोलेको हुनाले अब देशमा कहिल्यै नाकाबन्दी हुन नसक्ने उहाँको भनाई थियो । उहाँले केही वर्ष भित्र किमान्थांकाबाट चारलेनको बाटो धरान जोडिने र आर्थिक वृद्धिमा टेवा पुर्याउने दावी गर्नुभयो । पौराणिक कालका पर्शुराम र रामको उदाहरण दिँदै अध्यक्ष ओलीले अब पर्शुरामले जस्तो कांग्रेसले खिया लागेको बन्चरो बोकेर हिडेर नहुने बताउनु भयो । उहाँले अब एमालेको जमाना आइसकेको दावी समेत गर्नुभयो ।








