विजयी उम्मेदवार अझै अविरजात्राको दौडमा

पुस १, भरतपुर । चितवनबाट निर्वाचित भएका प्रतिनिधि र प्रदेश सभाका सभासदहरु विजयी भएको ५ दिन बितिसक्दा पनि विजयी र्याली र अविरजात्रामै दौडिरहेका छन् । चितवनमा मंसिर २५ गतेसम्म प्रतिनिधि र प्रदेश दुबैको चुनावी नतिजा आइसकेको थियो । २५ गतेबाट सुरु भएको विजयी र्याली आज पनि जारी नै छ । कति उम्मेदवारले विजयीउत्सव अझै एक हप्तासम्म रहने बताएका छन् ।

आफ्नो क्षेत्रको के–कसरी विकास गर्न सकिन्छ भनेर अन्तक्र्रिया र छलफल गर्ने बेलामा विजयी भएको हप्ता दिन पुग्नै लाग्दा पनि अविरजात्रामा विजयी प्रतिनिधि सहभागी भइरहेका छन् । अविरजात्राको कार्यक्रम अझै केही दिन लम्बिने बताइरहँदा मतदाताहरुमा निराशा पैदा हुन थालेको छ ।

चितवन जिल्लामा ३ प्रतिनिधि र ६ प्रदेश गरी ९ वटा क्षेत्रमा बाम गठबन्धन विजयी भएको थियो । क्षेत्र नम्बर २ का प्रदेश एकबाट विजयी भएका कृष्ण खनालले विजयी ¥यालीलाई जारी राखेका छन् । २५ गतेबाट सुरु भएको उनको विजयी ¥याली शनिबारसम्म चलेको थियो । उनले भने, ‘मेरो सम्पूर्ण विजयी र्यालीका कार्यक्रम भोलि (आइतबार) सकिन्छ । भोलि चैनपुरतर्फ विजयी र्यालीको कार्यक्रम छ ।’

क्षेत्र नम्बर १ को प्रदेश १ मा विजयी भएका दावादोर्जे लामा पनि यतिबेला विजयी र्यालीमा सहभागी भइरहेका छन् । पुस ३ गतेसम्म उनको विजयी ¥याली चल्ने बताइएको छ । यतिबेला उनको पनि वडावडामा विजयी र्याली भइरहेको छ ।
त्यस्तै क्षेत्र नम्बर ३ को प्रदेशबाट विजयी भएका कृष्णप्रसाद भुर्तेल पनि यतिबेला विजयी र्याली तथा स्वागत कार्यक्रमहरुमा सहभागी भइरहेका छन् । उनले भने, ‘विजयी र्याली करिबकरिब सकिएजस्तो छ, अहिले स्वागत कार्यक्रम भइरहेको छ ।’ उनले आज आइतबार ६ नम्बर वडामा स्वागत कार्यक्रम रहेको बताए ।

क्षेत्र नम्बर २ का प्रतिनिधिबाट विजयी भएका कृष्णभक्त पोख्रेल र प्रदेशबाट विजयी भएका घनश्याम दाहाल ‘अविनाश’ यतिबेला क्षेत्र २ को पहाडी गाउँहरुमा विजयी र्यालीमा सहभागी भएका छन् । उनीहरु भरतपुरको विजयी र्याली सकेर पहाडतर्फ उक्लेका हुन् । क्षेत्र २ को प्रदेश २ बाट विजयी भएका विजय सुवेदी पनि शुक्रबारसम्म विजयी र्यालीमा सहभागी थिए । उनले भने, ‘कृष्णभक्तज्यू र अविनाशज्यू पहाडी भूभागको विजयी र्यालीमा सहभागी हुनुभएको छ । हिजोसम्म विजयी र्यालीमा हिँडेको थिएँ, अब स्वागत र विजयी र्यालीमा हिँड्ने दिन सकियो ।’

उनले आफू अबिरजात्रामा भन्दा पनि टोलको विकास कसरी गर्न सकिन्छ भनेर टोलका कार्यक्रममा हिँडेको बताए । उनले भने, ‘विजयीपछि मेरो पहिलो औपचारिक कार्यक्रम आफ्नै टोलबाट सुरु गरेको छु ।’ आफू अबिरजात्राभन्दा आफ्नो क्षेत्रको कसरी विकास गर्न सकिन्छ भनेर अन्तक्र्रियामा दौडिरहेको बताए ।

शिक्षाविद् रमाकान्त सापकोटा विजयी र्यालीमा दौडनुले राम्रो सन्देश नदिने बताए । उनले भने, ‘लोकतन्त्र छ, यसको उपभोग त गर्न पाइयो, तर निर्वाचित भएको हप्तौसम्म विजयी र्यालीमा सहभागी हुनु राम्रो
मानिदैन ।

‘विजयी उम्मेदवारले विजयी भएको दिन जनतासँग गरेका प्रतिबद्धताहरु पूरा गर्छु भनेर एउटा विज्ञप्ति निकाले पुग्थ्यो, तर यहाँ हप्तौंसम्म अविरजात्रा र रिबन काट्नमा व्यस्त भएर कसरी नयाँ नेपाल बन्छ ?’ शिक्षाविद् रमाकान्त सापकोटाले भने, ‘अथवा जो विजयी भएका छन्, उनीहरुले एउटा विशेष कार्यक्रममा सरिक भएर आफ्नो क्षेत्रका जनतालाई धन्यवाद दिएर प्रतिबद्धता पूरा गर्छु भने काफी हुन्थ्यो । माला लगाउन, अबिर दल्न घरघरै गएर नयाँ नेपाल बन्दैन ।’

अर्का बुद्धिजीवी प्रेम रिमालले विजयी उम्मेदवारलाई विजयी र्यालीमा हिँडेर माला लगाउने, अबिर दल्ने, खादा लगाउने काम छोडेर समृद्धितर्फ लाग्नलाई सुझाव दिएका छन् । ‘अब त काममा लाग्ने बेला भयो, प्रतिबद्धता कसरी पूरा गर्ने भनेर सोच्ने बेला भयो’ उनले भने, ‘लामो समयसम्म तडकभडक देखाउने, फूलमाला लगाउन थालियो भने हिजो र आजमा के फरक भयो ?

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − sixteen =