अस्ट्रेलियासँगको पहिलो टेस्टमा बङ्गलादेश विजयी

एजेन्सी । अस्ट्रेलियासँगको पहिलो टेस्ट क्रिकेटमा बङ्गलादेश विजयी भएको छ । ढाकामा भएको खेलको चौथो दिन बुधवार अस्ट्रेलियाले आफ्नो दोस्रो पारिमा सबै विकेटको क्षतिमा दुई सय ४४ रन मात्रै बनाउन सक्यो ।

दोस्रो पारिमा अस्ट्रेलियाका लागि डेविड वार्नरले एक सय १२, कप्तान स्टिभन स्मिथले ३७ तथा प्याट कमिन्सले ३३ रनमा अविजित रहे । भने, अरूले राम्रो प्रदर्शन गर्न सकेनन् । बङ्गलादेशका लागि शकिब अल हसनले पाँच, ताइजुल इस्लामले तीन तथा मेहदी हसन मिर्जाले दुई विकेट लिए ।

अस्ट्रेलियानले पहिलो पारिमा दुई सय १७ रन बनाएको थियो । पहिलो पालीमा दुई सय ६० रन बनाएको बङ्गलादेशले दोस्रो पारिमा दुई सय २१ रन बनायो । बङ्गलादेशले अस्ट्रेलियालाई टेस्ट क्रिकेटमा पहिलो पटक पराजित गरेको हो । दुई टेस्टको श्रृङ्खलामा बङ्गलादेशले १–० को अग्रता लिएको छ । बङ्गलादेशका शकिब अल हसन खेलको उत्कृत्ट खेलाडी भए । उनले पहिलो पारिमा पाँच विकेट लिनुका साथै ८४ रनको योगदान समेत दिएका थिए ।








