प्रसाईले टिकट पाउँदा इटहरी काँग्रेसमा भाँडभैलो

जेठ २६, इटहरी । स्थानीय निकायको उम्मेदवार छनौटमा नेपाली काँग्रेस केन्द्रीय समितिले हस्तक्षेप गरेर कार्यकर्ताको भावना विपरीत उम्मेदवार घोषणा गरेपछि सुनसरीका दुई उपमहानगर पालिकामा विरोध सुरु भएको छ ।
सुनसरी स्थित इटहरी र धरान उपमहानगर नगरपालिकामा केन्द्रीय समितिको बैठकले उम्मेदवार टुंगो लगाउँदा विवाद बढेको हो । पार्टीको केन्द्रीय समितिले इटहरीमा मेयरका आकाक्षी हेमकर्ण पौडेल र धरानमा किशोर राईलाई बायस बनाएर रोहित प्रसाई र तिलक राईलाई टिकट दिएपछि कर्यकर्ताहरुमा चरम असन्तुष्ठि बढेको हो ।
काँग्रेसको हिजो बसेको बैठकले इटहरी उपमहानगरपालिकाको मेयरका सम्भावित उम्मेदवार हेमकर्ण पौडेललाई ‘बायस’ गरेर पार्टीमा सक्रिय नभएका रोहित प्रसाईलाई टिकट दिएको विषयमा पार्टीका स्थानीय कार्यकर्ताहरू विरोध मै उत्रिएका छन् । बिहीबार राती काँग्रेस नगर सभापति समेत रहेका मेयरका आकांक्षी हेमकर्ण पौडेलको निवासमा गएर केन्द्रीय समितिको निर्णय फिर्ता लिनुपर्ने बताएका छन् । कार्यकर्ताहरूले केन्द्रीय समितिको निर्णय पार्टीमा लामो समयदेखि योगदान दिएका कार्यकर्ताहरूको चाहना विपरीत भएको र काँग्रेसको जित सुनिश्चित हुने देखेर विरोधीहरुले गरेको षड्यन्त्र बताएका छन् ।
मेयर पदका आकांक्षी हेमकर्ण पौडेलले निवासमा आएका कार्यकर्तालाई सम्बोधन गर्दै ‘केन्द्रीय समितिको निर्णयले आफूलाई दुखः लागेको भन्दै पैसा र पावरको भरमा टिकट दिएको बताए । पौडेलले आफूले पार्टी र इटहरीको विकासमा गरेको योगदानको मुल्याङकन नभएको भन्दै असन्तुष्ठि प्रकट गरे । ‘यो निर्णयले काँग्रेस प्रति आस्था राख्ने तमाम् कार्यकर्ताको मन दुखेको छ, जुन निर्णय केन्द्रले गरेको छ त्यो कदापि राजनीतिक निर्णय छैन ।’ उनले भने । पौडेलले पार्टीको निर्णयबाट आफू अलिकति पनि विचलिन नभएको भन्दै जनताले नरुचाएको व्यक्तिलाई टिकट दिने हो भने भोलि जनता र कार्यकर्तामा पार्टीप्रतिको आकर्षण घट्ने बताए । ‘नैतिक बल सकिएका, पार्टी चलाउन नसकेका, न्यायिक निर्णय गर्न नसक्ने र पार्टीलाई सेण्डिकेट गर्नुपर्छ भन्नेहरुले मलाई उम्मेदवार बन्नबाट वञ्चित गरेका हुन् ।’ उनले भने ।
नगर सभापति पौडेलको निवासमा भेला भएका सयौँ कार्यकर्ताहरूले पौडेलको उम्मेद्वारीले काँग्रेसको विजय सुनिश्चित देखिँदा देखिदै पनि पार्टी नेतृत्वले गलत व्यक्तिलाई उम्मेदवार बनाएको आरोप लगाए । प्रसाईलाई कार्यकर्ताको भावना विपरीत टिकट दिएको भन्दै उनीहरूले उस्तै परिआए ‘पौडेल’ बागी उम्मेदवार घोषणा गर्नेसम्मका चेतावनी दिएका छन् ।
कार्यकर्ताहरू पौडेलले टिकट नपाएको आक्रोसमा बिहीबार बेलुकी पौडेलको घरमा गएर पार्टी विरुद्ध उत्रिने भन्दै नाराबाजी समेत गरेका थिए ।

हेर्नुहोस् भिडियो ।

https://www.facebook.com/Nanishum/videos/1531655850239634/

मेयरमा जित्ने उम्मेद्वारलाई पार्टीले टिकट नदिई नजित्ने उम्मेद्वारलाई टिकट दिएकोमा पार्टी कार्यकर्ताहरूले असन्तुष्ट व्यक्त गर्दै राजीनामा दिनेसम्मको तयारी गरिएको एक कार्यकर्ताले बताए ।
ट्रेड युनियन काँग्रेसका पूर्वाञ्चल उपाध्यक्ष ज्योति कोइरालाले पार्टीले तत्काल निर्णय नसच्याएर पार्टी विरुद्ध आन्दोलन गर्ने चेतावनी दिए । ‘जिवनभरी पार्टीमा लागेर त्याग गर्ने तमाम कार्यकर्ताको भावना विपरीत यो निर्णय भएको छ, केन्द्रीय समितिले निर्णय परिवर्तन गर्दैन भने पार्टी विरुद्ध जान पछि पर्दैनौं ।’ उनले भने ।
पार्टीका जनवर्गिय संगठनहरुले समेत केन्द्रीय समितिको निर्णय गलत भएको भन्दै आक्रोस प्रकट गरेका छन् । नेविसंघका २ नम्बर क्षेत्रीय सभापति टङ्क दाहालले पार्टीले निस्क्रिय मान्छेलाई उठाएर आफ्नै पार्टीलाई हराउने षड्यन्त्र गरेको जिकिर गरे । ‘यस पटक इटहरीका काँग्रेसको विजय निश्चित देख्दादेख्दै पार्टीले गलत निर्णय ग¥यो ।’ उनले भने । पार्टीको गैर राजनीति निर्णय प्रति इटहरी काँग्रेस जिम्मेवार नहुने भन्दै सुर्यमणी निरौला गलत निर्णयबाट हुने हारको जिम्मेवार केन्द्रीय समितिले लिनुपर्ने बताए ।


युवाहरूले पार्टी केन्द्रीय नेताहरूलाई हेमकर्ण पौडेललाई मेयरको उमेद्वार बनाऔं भन्दै एसएमएस अभियान पनि सुरु गरेका छन् । कुनै पनि हालतमा निर्णय फिर्ता लिई हेमकर्ण पौडेललाई मेयरको टिकट दिनु पर्ने काँग्रेस कार्यकर्ताहरूको माग छ ।
यता धरान उपमहानगरपालिकाको मेयरका आकांक्षी किशोर राईले टिकट नपाएको भन्दै कार्यकर्ताहरुमा चरम असन्तुष्ठि बढेको छ । केही कार्यकर्ताले पार्टी नगर सभापति तिलक राईले टिकट पाएको सन्दर्भमा पैसाको चलखेल भएको जिकिर गरेका छन् । उनीहरूले पार्टीले जनचाहना विपरीत टिकट दिएको भन्दै केन्द्रीय नेतृत्वको आलोचना गरेका छन् । तथापि, धरानमा इटहरीको जस्तो सार्वजनिक रूपमा कसैले उम्मेद्वारको विरोध गर्दै हिँडेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 17 =