जीप दुर्घटनामा गाउँपालिकाका अध्यक्ष सहित पाँचको मृत्यु

काठमाडौं, पुस ३० । संखुवासभाको मकालु गाउँपालिका–२ हेदङ्नामा आइतबार बिहान भएको जीप दुर्घटनामा परि गाउँपालिकाका अध्यक्षसहित पाँचजनाको मृत्यु भएको छ ।
संखुवासभाको सदरमुकाम खाँदबारीबाट भोटखोलाको वरुण मेला भर्न जाने क्रममा बा ५ च १३०९ नम्बरको जीप दुर्घटना भएको हो । जीप सड्कबाट करिब ७ सय मिटर तल अरुण नदीको बगरमा खसेको छ ।
यो दुर्घटनामा मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटुवाल, जिल्ला समन्वय समितिका सूचना अधिकारी सुबासचन्द्र कुइँकेल र मकालुमा बस्दै आएका हेदाङ्नाका सुरेश राईसहित पाँचजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक सन्तोष खड्काले बताए ।
दुर्घटनामा परेका अन्य दुईजनाको सनाखत हुन सकेको छैन । जीपमा १२ जना भन्दा बढी यात्रु सवार भएको बताइएको छ । घटनाबारे थप जानकारी आउन बाँकी रहेको र प्रहरी घटनास्थल पुगिसकेको छ ।
घटना के कारणले भएको भन्ने अहिलेसम्म खुल्न सकेको छैन । यसबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








