प्रधानन्यायाधीश हुन योग्य छ जना न्यायाधीशको नाम सिफारिस

न्यायपरिषदको बैठक बस्न नसकेपछि प्रधानन्यायाधीश सुशीला कार्कीले भावी प्रधानन्यायाधीका लागि आफैंले नाम सिफारिस गरेर पठाएकी छन्। कार्कीले आफ्नो कार्यकालको अन्तिम दिन मंगलबार प्रधानन्यायाधीश हुन योग्य सर्वोच्च अदालतका छ जना न्यायाधीशको नाम सिफारिस गरेर संवैधानिक परिषदमा पठाएकी हुन्।
न्यायाधीश गोपाल पराजुली, दीपकराज जोशी, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्रशमशेर राणा र जगदीशप्रसाद शर्मालाई कार्कीले प्रधानन्यायाधीशका लागि सिफारिस गरेकी हुन्। कार्कीले आफ्नो सिफारिशमा सबै उम्मेदवारको व्यक्तिगत विवरण समेत खुलाएकी छन्। गोपाल पराजुलीको जन्ममिति बि.सं. २००९ साउन २१ गते तोकिएको छ। यस अनुसार पराजुलीलाई भावी प्रधानन्यायाधीश नियुक्त गर्ने हो भने उनको पदावधी ५६ दिन हुनेछ। पराजुलीले पदावधी बढाउन आफ्नो उमेर सच्याउने प्रयास गरेका थिए।

न्याय परिषदको बैठक बसेर त्यहाँबाट नाम सिफारिस गर्ने व्यवस्था छ तर कार्कीले गत साता बैठक बोलाउँदा न्याय परिषदको सदस्य कोही नआएपछि बैठक बस्न सकेको थिएन । परिषदको बैठक बोलाउन उनले सचिवलाई मौखिक र लिखित निर्देशन दिँदा पनि कोही उपस्थित भएका थिएनन् । त्यसपछि कार्कीले आफैं नाम सिफारिस गरेकी हुन् ।
नेपालको संविधानको धारा २८४ को उपधारा ३ बमोजिम प्रधानन्यायाधीश पद रिक्त हुनुभन्दा एक महिना अगावै भावी प्रधानन्यायाधीश पदका लागि नाम सिफारिस गर्नुपर्ने प्रावधान छ। प्रधानन्यायाधीशका लागि योग्य हुन संविधानको धारा १२९ को उपधारा ३ बमोजिम सर्वोच्च अदालतको न्यायाधीश पदमा कम्तीमा तीन वर्ष काम गरेको हुनुपर्ने व्यवस्था छ तर यसपालि प्रधानन्यायाधीश पद रिक्त हुन एक महिना अघि सम्म कसैको पनि तीन वर्ष अवधि पूरा नभएकाले सिफारिस सम्भव नभएको हो । ६५ वर्षीय उमेरहदका कारण प्रधानन्यायाधीश कार्कीले भने मंगलबार अवकाश पाउँदैछिन्।








