अभियुक्तको मोटरसाइकल प्रयोग गर्दै डिएसपी वीरेन्द्र थापा

जेष्ठ ३१ । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) वीरेन्द्र थापाले मुद्दा मिलाई दिने आश्वासन दिदै अभियुक्तको मोटरसाइकल चढ्ने गरेका छन् । किर्ते गरी सवारी अनुमति पत्र लाइसेन्स बनाउने आरोपमा प्रक्राउ परेका फिरोज खानको बुलेट बाइक चढेर थापा घर चितवन गएका हुन् । सोमबार घर बिदामा गएका डिसएपी मंगलबार राति सोही बा ७९ प ९८८२ नम्बरको मोटरसाइकल चढेर जिल्ला प्रहरी कार्यालय फिरेका थिए ।

खान नक्कली लाइसेन्स बनाउने गिरोहका नाइक भएको प्रहरीले दाबी गरेको छ । प्रहरीले उक्त आरोपमा खान सहित १० भन्दा बढीलाई प्रक्राउ गरी मुद्दा दर्ता गरेर हिरासतमा राखेको छ । लाइसेन्स किर्ते आरोपमा संलग्न बाँकी आरोपीहरुको अझै खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । खानको दाजु राजुसँगको मिलेमतोमा थापाले अभियुक्तको मोटरसाइकल प्रयोग गर्दै आएको स्रोतले जनाएको छ । उनका दाजुले भार्इको मुद्दा मिल्ने लोभमा मोटरसाइकल प्रयोग गर्न दिएको स्रोतको दाबी छ ।

यसअघि जिल्लाका विभिन्न नदीहरुबाट ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गर्ने ठेकेदारहरुसँग डिएसपी थापाको मिलेमतो रहेको आरोप लागेको थियो । सोही आरोपमा जिल्ला अनुगमन समितिले ढुङ्गा, गिट्टी, बालुवा उत्खननको अनुगमन र नियन्त्रण गर्ने जिम्मा सशस्त्र प्रहरीलाई दिने निर्णय गरेको छ । ‘डिएसपी साप नदीबाट ढुङ्गा, गिट्टी, बालुवा झिक्ने तस्करहरुसँग मिलेको धेरै प्रमाणहरु भेटिएको छ’, अनुगमन समितिका एक सरकारी कार्यालयका प्रमुखले भने, ‘हामी अनुगमनमा जाँदा पनि उहाँले अवैध काम गर्नेलाई सूचना दिएर भगाउने गर्नु भएको छ ।’ ठेकेदारहरुसँग थापाको अवैध सम्बन्ध र उठवस रहेको अन्य सुरक्षा अधिकारीहरु नै दाबी गर्छन् । थापाले भने भाडामा लिएर मोटरसाइकल चढेको दाबी गरेका छन् । ‘कसको मोटरसाइकल हो मलाई थाहा छैन’, उनले भने, ‘हाम्रो केटाहरुले खोजेर ल्याइदिएका हुन ।’

भाडाको मोटरसाईकल चढेको हुँ: डिएसपी

सार्वजनिक यातायात चढेर घर चितवन जाँदा मुग्लिन नारायणगढ सडकमा झन्झटिलो हुने हुदाँ १५ सयमा मोटरसाईकल भाडामा लिएर गएको उनको भनार्इ रहेको छ । उक्त मोटरसाईकल चढ्नुमा हिरासतमा रहेका अभियुक्तसँग कुनै सम्बन्ध नभएको उनले भनाई रहेको छ ।

त्यस्तै ढुङ्गा, गिटी, बालुवा तस्करीमा आफ्नो संलग्नता नभएको भन्दै उनले संलग्नता पुष्टि भए कानुन बमोजिम कारवाही भोग्न तयार भएको बताएका छन् । ‘ढुङ्गा, गिटी बालुवा सम्बन्धित ठेकेदारहरु सँग मेरो कुनै संलग्नता छैन’, उनले खण्डनमा लेखेका छन् । सम्पूर्ण मुद्धाहरु प्रहरी प्रमुख एसपीको निर्देशन बमोजिम अनुसन्धान भई कारवाही भएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 5 =