असोज ४ गतेदेखि निर्माण व्यवसायी महासंघको २० औं साधारण सभा सुरु हुँदै, कस्तो छ तयारी ?

“
काठमाडौँ, असोज ३ । नेपाल निर्माण व्यवसायी महासंघको २० औं साधारण सभा ‘निर्माणबाट समृद्धि’ भन्ने नारा सहित आगामी बिहिबारदेखि राजधानीमा शुरु हुने भएको छ । महासंघले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी साधारण सभा तथा नयाँ नेतृत्व चयन गर्नका लागि हुन लागेको निर्वाचनको तयारी लगभग पूरा भएको जानकारी दिएको छ ।
साधारणसभाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने जानकारी पत्रकार सम्मेलनमा दिइएको थियो । सोही अवसरमा प्रधानमन्त्री ओलीबाट महासंघको वार्षिक स्मारिका निर्माण विशेषांक र महासंघका पूर्व उपाध्यक्ष केशव प्रसाद गौतमद्धारा लिखित पुस्तक नेपालमा निर्माण व्यवसाय समेतको विमोचन हुने कार्यक्रम राखिएको महासंघले जनाएको छ ।
साधारणसभा सफल बनाउन महासंघका अध्यक्ष विष्णु भाइ श्रेष्ठको संयोजकत्वमा ३ सय ३१ सदस्यीय मूल आयोजिक समिति गठन गरिएको महासंघले जानकारी दिएको छ । असोज ४ गते साधारण सभाको औपचारिक उद्घाटन भएपछि असोज ५ गते बन्द सत्र सञ्चालन हुने बताइएको छ । बन्द सत्रमा महासचिव रामशरण देउजा तथा कोषाध्यक्ष रोशन दाहालले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहनेछ ।
असोज ६ गते निर्वाचनमार्फत् आगामी तीन वर्षका लागि महासंघको नयाँ नेतृत्व चयन हुने पत्रकार सम्मेलनमा जानकारी गराइयो । निर्वाचनमा एक अध्यक्ष, वरिष्ठउ पाध्यक्ष, ७ प्रदेश उपाध्यक्ष, एसोसिएट उपाध्यक्ष, महासचिवसहित पदाधिकारी र सदस्यहरु गरी ५४ पदका लागि निर्वाचन हुने महासंघका प्रवक्ता विष्णु बुढाथोकीले जानकारी दिए । महासंघमा देशभरका १२ हजार ५ सय व्यवसायी आबद्ध छन् ।
यसैबीच भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले मंगलबार नै महासंघको सचिवालय अगाडि निर्माण गरिएको महासंघका संस्थापक अध्यक्ष स्वर्गीय वनवारी लालमित्तल तथा पूर्व अध्यक्ष स्वर्गीय शरद कुमार गौचनको शालिकको अनावरण गर्नु भएको छ । शालिक अनावरणपछिको सभालाई सम्बोधन गर्दै मन्त्री महासेठले निर्माण व्यवसायीहरुको योगदान विना समृद्ध मुलुकको कल्पना गर्न नसकिने बताए । निर्माण व्यवसायीहरुलाई सुरक्षाको प्रत्याभूति दिन सरकार प्रतिबद्ध रहेको समेत मन्त्री महासेठले बताएका छन् ।
महासंघका मानार्थ सदस्य जीप छिरिङ लामा शेर्पाले व्यवसायीहरुको समस्याका बारेमा मन्त्री महासेठको ध्यानाकर्षण गराएका थिए भने महासंघ अध्यक्ष विष्णु भाइ श्रेष्ठले महासंघ नेतृत्व देशभरका व्यवसायीहरुको हकहितका लागि प्रतिबद्ध रहेको बताएका छन् ।
“








