अपराधीलाई कारबाही गर्ने अग्रस्थानमा डिएसपी रामेश्वर यादव

काठमाडौं । एउटा सच्चा प्रहरीको रुपमा आफूलाई स्थापित गरेका डिएसपी रामेश्वर यादवको काम हो अपराधीलाई कारबाही गर्ने । यसअघि बागलुङ जिल्लाको नेतृत्व सम्हालेका यादव गत भदौ १३ गते सातदोबाटो प्रहरी चौकीमा सरुवा भएका हुन् ।
महानगरीय प्रहरी वृत, सातदोबाटोमा नेतृत्व सम्हाल्न आएका डिएसपी रामेश्वर यादवका हरेक दिनको सुरुवात फोनको घण्टिबाट हुन्छ अनि अन्त्य पनि ।

डिएसपी यादवको सक्रियताले सो क्षेत्रका स्थानीयले सुरक्षाको अनुभूति गर्न पाएका छन् भने अवैध गतिविधि गर्नेहरुको होस् हवास् नै हराएको छ । सरुवा भएर आएको एक हप्तामै उनले एक सय २० भन्दा बढी अपराधीलाई समातेर आफ्नो मनोबल झन उच्च बनाएका छन् ।
त्यसैको कारण अहिले उनी नेपाल प्रहरीका एक सच्चा अधिकृतको रुपमा चिनिन्छन् । एउटा प्रहरी, जो आफ्नो ज्यानको बाजी लगाएर देश र जनताको सेवा गरिरहेको हुन्छ, उसलाई समेत माथिबाट आफ्नो हिसावले काम गर्न दिँइदैन् । उनी भन्छन्, ‘माथिबाट कसैले पावर लगाउन खोजेपनि आजसम्म कसैलाई छाडेको छैन् ।’
दलाली, चोरी, वेश्यावृति र दुव्र्यसनीजस्ता कार्यमा संलग्न व्यक्तिलाई आफूले कुनै पनि हालतमा नछाड्ने उनी बताउँछन् । यहाँ आएर जिम्मेवारी सम्हालेदेखि नै सबैभन्दा पहिला आफ्नो कामलाई प्राथमिकता दिँदै आएको उनले बताए ।
उनले भने, ‘हालसम्म १ हजारभन्दा बढि अपराधीलाई कारबाही गरिसकेको छु । वेश्यावृतिको घटना र चोरीको घटना सबैभन्दा बढि छ । यस क्षेत्रका स्थानीय तथा बुद्विजिवीहरुले पनि मलाई सहयोग गर्नुभएको छ ।’
ग्वार्को नजिकै रहेको गेष्टहाउसमा यौनजन्य गतिविधि हुन्छ भन्ने सूचना पाएको आधारमा उनको नेतृत्वमा गएको प्रहरीको टोलीले भदौ १६ गते नै १४ जनालाई रंगेहात पक्राउ गरेको थियो ।
त्यसकै भोलिपल्ट ग्वार्खोकै ‘खाजा घर’ भनेर चिनिने युवतीहरुको मोलमोलाई हुने ठाउँबाट ११ जनालाई पक्राउ गरेको थियो । त्यहाँ युवतीको मोलमोलाई हुने र अन्तै गएर यौनजन्य गतिविधि हुँदै आएको भेटिएको यादवले बताए ।
उनले लागूऔषध जस्ता कार्यमा संलग्न व्यक्तिहरुलाई पनि समातेर कारबाही गरेका छन् । त्यस्तै यातायात कार्यलयमा घुस लिनेदिने कार्यलाई पनि आफूले पहिलो प्राथमिकतामा राखेको उनी बताउँछन् ।
उनले पहिलो चरणको स्थानीय तहको निर्वाचन पनि शान्तिपूर्ण ढंगले सम्पन्न गरेको बताए । यस्तै कामको उच्च मूल्याङ्कन गर्दै उनले राष्ट्रपतिबाट प्रबल जनसेवाश्री पदक समेत पाउने भएका छन् ।








