उकाली ओराली गर्दै वृद्ध उम्मेदवार शर्मा भाेट माग्दै

मङ्सिर ७, पोखरा । उमेरले सात दशक पार गरिसकेका शुक्रराज शर्मा सकी नसकी उकाली ओराली गर्दै अहिले मतदाताको घरदैलोमा पुगेका छन् । प्रतिनिधिसभा कास्की क्षेत्र नं ३ मा नेपाली काँग्रेसबाट उम्मेदवार बनेका शर्मा जिल्लामा प्रतिनिधिसभाका तीन र प्रदेशसभाका छ निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयन दर्ता गराउने १९ दल र तीन स्वतन्त्रका ९५ उम्मेदवारमध्येका सबैभन्दा पाका उम्मेदवार हुन ।

प्रत्यक्षतर्फबाट एक पटक निर्वाचित हुने उनको धोको पूरा गर्ने आशामा सम्भवतः उनी अन्तिमपटक उम्मेदवार बनेका हुन् । लामो समयसम्म कास्की काँग्रेसको नेतृत्वमा रहेर पार्टीको सङ्गठन विस्तारमा विशेष योगदान पु¥याएका शर्माको यो उम्मेदवारी तेस्रोपटक हो ।

निडर, त्यागी र प्रस्ट वक्ताका रूपमा परिचित शर्माले प्रजातन्त्रको पुनर्वहालीमा लाग्दा पटक–पटक जेल जीवन पनि भाेगिसकेका छन् । शर्माले पार्टीलाई पु¥याएको योगदानको कदर गर्दै नेपाली काँग्रेसले २०५६ सालमा राष्ट्रिय सभाको सदस्यमा मनोनीत गरेपछि उनी एक कार्यकाल सांसद समेत बनेका थिए ।

आफ्नो जन्मथलो क्षेत्र नं ३ हालको अन्नपूर्ण गाउँपालिका–५ सल्यान भए पनि अघिल्ला चुनावमा बसाइँ सरेको क्षेत्र नं २ बाट चुनावी प्रतिस्पर्धा गर्दा उनले पटक पटक हार व्यहोर्नु प¥योे ।

आफ्नै जन्मथलो क्षेत्र नं ३ बाट उम्मेदवारी दिएका शर्मा यसपालि भने विजयी हुनेमा ढुक्क छन् । उनको टक्कर वाम गठबन्धनका साझा उम्मेदवार नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य जगतबहादुर सुनार विश्वकर्मासँग हुनेछ । घरदैलो कार्यक्रममा उनले नेपाली काँग्रेसले जितेमात्रै लोकतन्त्र संस्थागत हुने र आर्थिक समृद्धि तथा विकास हुने भएकाले काँग्रेसलाई जिताउन आग्रह गर्दै हिँडेका छन् ।

प्रतिनिधिसभाको क्षेत्र नं ३ मा विभिन्न राजनीतिक दलका ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । सो क्षेत्रमा ८८ हजार ७१७ मतदाता रहेका छन् । सो क्षेत्रमा कास्कीको अन्नपूर्ण र माछापुच्छे गाउँपालिका तथा पोखरा लेखनाथ महानगरपालिकाका वडा नं १, २, ३, ५, ६, १८, १९, २२, २३, २४ र २५ पर्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 11 =