तिन चाेटी कफी पिउनुस् यी राेगबाट छुट्कारा पाउनुस्

एजेन्सी । दैनिक तीनदेखि चार कप कफी पिउँदा स्वास्थ्यमा फाइदा पुग्ने एक अध्ययनले देखाएको छ । दैनिक तीन कप कफी पिउने व्यक्तिमा असामयिक मृत्यु र मुटुको समस्या पनि कम देखा परेको अनुसन्धानकर्ताहरुले बताएका छन् । अनुसन्धानले कफी पिउनेहरुमा मधुमेह, कलेजोको रोग, विक्षिप्तता र केही प्रकारका क्यान्सरको जोखिम पनि हुने देखाएको छ । यो यस अघि गरिएका २ सयभन्दा बढी अनुसन्धानहरुको निष्कर्षमा आधारित भएर गरिएको अध्ययन हो ।

कफी विश्वभर धेरैले पिउने पेय पदार्थमध्ये एक हो । स्वास्थ्यमा कफीले पार्ने असरबारे बेलायतको युनिभर्सिटी अफ साउथह्याम्पटनका जनस्वास्थ्य विज्ञ रोबिन पुलको नेतृत्वमा यो अध्ययन गरिएको हो । यो अनुसन्धानले विश्वभरका २०१ अवलोकनमा आधारित अनुसन्धान र १७ ओटा उपाचारात्मक अध्ययनको निष्कर्षलाई समेटेको थियो ।यो अनुसन्धानले गर्भवती महिला र अंगभंगको जोखिम उच्च भएका व्यक्तिबाहेक अरूले तीनदेखि चार कप कफी दैनिक पिउँदा सबैभन्दा बढी फाइदा पाउन सक्ने निष्कर्ष निकालेको छ ।
यस अघि पनि कफी सेवनलाई विभिन्न कारणबाट हुने मृत्यु र मुटुरोगको जोखिम न्युनीकरणसँग जोडेर हेरिन्थ्यो । यो अनुसन्धानमा कफी नपिउने व्यक्तिको तुलनामा दैनिक तीन कप कफी पिउने व्यक्तिहरूमा अचानक मृत्युको जोखिम सबैभन्दा कम रहेको पाइएको छ । दैनिक तीन कपभन्दा बढी कफी पिउँदा त्यसले कुनै क्षति नपु¥याए पनि फाइदाको मात्रा भने घट्ने गरेको पाइएको छ ।
त्यसै गरी कफी पिउँदा प्रोस्टेट, गर्भाशय, छाला तथा कलेजोको क्यान्सरको जोखिम पनि कम हुने देखिएको छ । त्यसबाहेक कफीले दुई प्रकारका मधुमेह, पित्तथैलीको पत्थरी र गठिया रोगको जोखिम पनि घटाउने अनुसन्धानकर्ताहरुले जनाएका छन् । तर, कफीमा चिनी र अस्वस्थ चिल्लो मिसाउदा भने स्वास्थ्यका लागि फाइदा जनक नभएको विज्ञहरुले बताएका छन् ।
अध्ययनले कफी सेवन सुरक्षित भएको पुष्टि गरे पनि के यसले वास्तवमै यस्ता रोग लाग्नबाट रोक्छ ? वा स्वास्थ्य फाइदाका लागि चिकित्सकले कफी पिउन सल्लाह दिन्छन् त ? जस्ता प्रश्नहरूको जवाफ भने प्राप्त भइसकेका छैनन् । अनुसन्धानकर्ताहरुले यी प्रश्नहरू बारे ठोस निष्कर्ष निकाल्न नसकेपनि आफ्नो अध्ययनले कफी अध्ययनबारे हालैका अन्य निष्कर्षहरुलाई समर्थन गर्ने जनाएकाे छ ।








