फेरीएको स्वाद (कविता)

कवि: सगाेत्री अाचार्य

दाँत छइन्जेल कागती टोक्दा पनि
नरसाउने जिब्राहरू आजकाल
पानी चपाएर स्वाद लिन्छन्
खै के बदलियो कुन्नि ?
तिनका राल ग्रन्थिहरूमा !

आँत छइन्जेल, भोको पेटमा
महको भत्तेर छोडेर मृत्यूको रोटि टोक्दा पनि
उखुका लाँक्रा टेकेर रगतका जँघार तर्नेहरू
आजकाल तिते करेलामा पनि
झोल हालेर पिउँछन्
खै के बदलियो कुन्नि ?
तिनका राल ग्रन्थिहरूमा !

ग्रीष्म छइन्जेल, अँधेरी रातमा
बुलेटका बगरहरू छिचोल्दै जाँदा
सर्पले बाटो छेक्दा पनि
हड्डिको ढाल बनेर आस्थाको पुष्प छेक्नेहरू
आजकाल आँसुका ढिक्काहरू पनि
चिनि घोलेर पिउँदछन्
खै के बदलियो कुन्नि ?
तिनका राल ग्रन्थिहरूमा !

कहर छइन्जेल, तुफानका बारीहरूमा
जल्लादका लासहरू गिजोल्दै
आफ्नै चिहान खन्दा पनि
क्रान्तिको कलम बोकेर
बिजयको आकार कोर्नेहरू
आजकाल बिछोडका सुपारिहरू पनि
सुनपानी छर्केर चपाउँछन्
खै के बदलियो कुन्नि ?
तिनका राल ग्रन्थिहरूमा !

हिउँद छइन्जेल
फासिका फोकल्याण्डहरूमा
काट्टोको भाउमा टाउकोको मोल तोक्दा पनि
आफ्नै चिहानबाट नेतृत्वको जुन बोकेर
नितिको शिखर चुम्नेहरू
आजकाल आरोपका ओखरहरू पनि
उहि जुनका बिरुद्ध
चुइगम झैं मज्जाले चपाउँछन्
खै के बदलियो कुन्नि ?
तिनका राल ग्रन्थिहरूमा !

Email: [email protected]

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 4 =