नेपाली काँग्रेस पाँचथरले छान्यो उम्मेदवार

असाेज २२, पाँचथर । आगामी मङ्सिर १० गते हुन गइरहेकाे प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि पाँचथरका राजनीतिक दलहरूलाई उम्मेद्वारको नाम छनोट गर्ने कार्य भइरहेकाे छ । नेपाली काँग्रेस पाँचथरले प्रतिनिधिसभाका लागि केन्द्रीय सदस्य तथा हालका सांसद भिष्मराज आङदेम्वे, जिल्ला सदस्य तथा महासमिति सदस्य मित्रप्रसाद काफ्ले एवम् महाधिवेशन प्रतिनिधि डिकबहादुर चेम्जोङको नाम सिफारिस गरेको छ ।
त्यस्तै, समानुपातिक तर्फ पूर्वमन्त्री तथा पूर्व केन्द्रीय सदस्य पूर्णकुमार शर्मा, पूर्वमन्त्री दीपकप्रकाश बाँस्कोटा, महासमिति सदस्य कृष्णकुमारी खतिवडा र पूर्व जिल्ला सदस्य चन्द्रकला केरुङको नाम सिफारिस गरेको छ । यस्तै काँग्रेस पाँचथरले प्रदेश सभाका लागि क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ पार्टीका जिल्ला सभापति नरेन्द्रकुमार केरुङ, सचिव रुपनारायण जवेगू, बालकृष्ण ओझा र पत्रकार महासङ्घ पाँचथरका अध्यक्ष लवदेव ढुंगानाको नाम सिफारिस गरेको छ ।

यी मध्ये प्रदेशसभामा रुपनारायण जवेगुको सम्भावना बलियो देखिएको छ । २०४७ सालमा काँग्रेसको विद्यार्थी सङ्गठन नेविसंघका जिल्ला सदस्य भई राजनीति सुरु गरेका जवेगु २०५० मा शिक्षक सङ्घ पाँचथरका जिल्ला सदस्य भएका थिए । उनले २०६४ सालदेखि शिक्षक युनियन पाँचथरका अध्यक्षका रूपमा २ कार्यकाल निर्वाह गरे । त्यसयता जवेगु पाँथथर काँग्रेसको निर्वाचित जिल्ला सदस्य निर्वाचित जिल्ला सचिव हुँदै हाल जिल्ला सचिव रहेका छन् । माओवादी द्वन्द्वकालमा उनलाई साविक याङनाम गाविस– २ हाल फिदिम–१० मा राति १२ बजे माओवादीले गोलीसमेत प्रहार गरेको थियो । हालसम्म भएका सबैजसो निर्वाचनहरुमा पार्टीलाई जिताउन सक्रिय भूमिका निर्वाह गर्दै आएका जवेगुलाई नै पार्टीले प्रत्यक्षतर्फ प्रदेश सभामा मनोनीत गर्ने सम्भावना बलियो देखिएको छ ।
पार्टीले प्रदेशसभाका लागि समानुपातिकतर्फ महासमिति सदस्य लक्ष्मीराज तावा, अम्बिका न्यौपाने, पूर्णबहादुर नेपाली, मधु जवेगु, मानप्रकाश खेवाङ, जयप्रसाद रिजाल, टेकबहादुर काम्वाङ, विश्वराज योङया, सुरेन्द्र तिम्सिनालगायतलार्इ छनोट गरेको छ । सिफारिसमा परेका मध्ये पार्टीले प्रदेशसभा सदस्यमा लक्ष्मीराज तावालार्इ मनोनीत गर्ने सम्भावना बलियो देखिएको छ ।
२०४६ सालमा बहुदलीय प्रजातन्त्र बहाली हुनुअघिदेखि नै पार्टीमा क्रियाशील भएर लागेका तावा सुरुमा नेपाली काँग्रेसको विद्यार्थी सङ्गठन नेविसंघमा आबद्ध थिए । उनी काँग्रेसको युवा सङ्गठन नेपाल तरुण दलमा महेन्द्र यादव अध्यक्ष हुँदाको कार्य समितिमा विभागीय सदस्य भएर समेत काम गरेका थिए । २०६२/६३ को आन्दोलनमा जिल्ला संयोजन समितिको सदस्य भएर समेत उनले काम गरे । पार्टीको ११ औँ महाधिवेशनमा महासमिति सदस्य भए । त्यसै गरी पूर्व जिल्ला कार्यसमिति सदस्य समेत भए । २०४८ सालमा नेविसंघको जिल्ला सहसचिव भएर काम गरेका तावा २०७० को संविधानसभा निर्वाचनमा समानुपातिक सभासद्तर्फ पार्टीको सिफारिसमा समेत परेका थिए ।
यस्तै क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ महासमिति सदस्य सुरेन्द्रकुमार दाहाल, शिक्षक सङ्घका जिल्ला अध्यक्ष विरेन्द्र खड्का, महाधिवेशन प्रतिनिधि धर्मेन्द्र विक्रम नेम्वाङ र क्षेत्रीय सदस्य सूर्यकुमारी चेम्जोङको नाम सिफारिस भएको छ । समानुपातिक तर्फ धनेन्द्र चेम्जोङ, पत्रकार विपेन्द्र गौतम, गंगामायाँ आङदेम्वे, रामराज आङदेम्वे, हरिराज आङदेम्बे, आशा आङदम्बे, निरवहादुर विश्वकर्मा, धनराज तुम्वापो लगायतको नाम केन्द्रमा अनुमोदनको लागि सिफारिस गरिएको बताइएको छ ।








