दोश्रो चरणको निर्वाचन : तयारी लगभग पुरा

असिम तिमल्सिना

प्रदेश नम्बर एक, दुई, पाँच र सातमा असार १४ गते हुने भनिएको दोस्रो चरणको निर्वाचनको तयारी लगभग पुरा भएको छ । चुनावको भविष्य अन्योलमा रहेको र स्थानीय स्तरमा निराशा एवम् आशँका बढेको बेलामा निर्वाचन आयोगले आफ्नो तर्फबाट तयारी लगभग पुरा गरेको छ ।

उम्मेदवारको सुरक्षा लगायतका अन्य शान्ति सुव्यवस्थाको निम्ति गृह मन्त्रालयलाई जानकारी गराईसकिएको छ भने, मतपत्रसहित अन्य आवश्यक सामाग्री समेत जिल्लाजिल्लामा पठाईसकिएको छ । मतदान अधिकृतलाई निश्चित जिल्लामा खटाईनुका साथै मतदाता शिक्षा कार्यक्रम व्यापक रूपमा सञ्चालन भइरहेको छ ।

निर्वाचन आयोगका प्रवक्ता सूर्य प्रसाद शर्मा भन्नुहुन्छ, “हाम्रो तर्फबाट सम्पूर्ण तयारी पुरा भैसकेको छ, अब सम्बन्धित निर्वाचन अधिकृतले कर्मचारीलाई निर्वाचन क्षेत्र तोकि खटाउन मात्र बाँकी रहेको छ ।” राजनीतिक दलहरुबिच भैरहने सहमति भन्दा पनि निर्वाचन आयोगको निर्णयलाई आधिकारिक मान्न समेत उहाँले आग्रह गर्नुभयो ।

पहिलो चरणको निर्वाचनमा ग्रामीण भन्दा सहरी क्षेत्रमै बढी मत बदर हुनाले मतदाता शिक्षामा कमी रहेको तथ्य बाहिरिएको पृष्ठभूमिमा यस चरणको निर्वाचनमा भने आयोगले मतदाता शिक्षा एवम् चेतनाको निम्ति प्रचारप्रसारलाई तीव्रता एवम् व्यापकता दिएको छ । रेडियो, टिभी, सडक नाटक लगायतका माध्यम प्रयोग गरेको आयोगले, राष्ट्रिय स्तरका कलाकारको समेत सहयोग लिएको छ ।

यस्तै निर्वाचन आचारसँहिता पालनाहुने कुरामा समेत आयोग ढुक्क रहेको छ । उनै प्रवक्ता शर्मा भन्नुहुन्छ, “आचारसँहिता उल्लँघन भएको अथवा हुँदै गरेको जे अवस्था भेटे पनि तत्काल कदम चाल्न आयोगले आदेश दिएको छ । मतदाताले कसैको दबाब वा प्रभावमा नपरी स्वविवेक प्रयोग गरी मतदान गर्न हामी आग्रह गर्दछौँ ।”

निर्वाचन आचारसँहिता उल्लँघन गरेको पाईएमा निर्वाचन पूर्व उम्मेदवारी खारेज हुनुका साथै निर्वाचित भैसकेको अवस्थामा समेत खारेज हुने व्यवस्था रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 6 =