अम्रिसो खेतीले गाउँको मुहार फेरियो

चितवन, माघ ५ । इच्छाकामना गाउँपालिकाको वडा नं.६ स्थित यकराङ गाउँका स्थानीयलाई अहिले घाँसपातको लागि टाढा जानुपर्ने समस्या हटेको छ । हुन त पहाडी क्षेत्रमा सामान्य रूपमा डाले घाँस सबैको बारीमै हुन्छ । तैपनि गाउँलेले पहिले पहिले जंगलमा जहाँ पायो त्यहीँ वस्तु चराउने, वनमा भएका बिरूवा पनि हुर्किन नपाउँदै काटिदिने गर्दा नासिँदै गएको वन अहिले गाउँलेले नै संरक्षण गरेपछि हराभरा बन्दै गएको छ ।
यकराङको न्युरेनीघारी कबुलियती वनमा अहिले गाउँलेले समिति नै बनाएर संरक्षण गरिरहेका छन् । जसले गर्दा गाउँलेलाई आवश्यक परेको खण्डमा घाँसपात ल्याउन पनि सजिलो भएको छ । विगत दश वर्षदेखि संरक्षण गर्दै आएको वनमा अहिले गाईवस्तु प्रवेशमा रोक लगाइएको छ ।

वन समितिका सदस्य डम्बरबहादुर गुरूङका अनुसार वन संरक्षण गर्दा वन जोगिने मात्रै नभई बेलाबेलामा डालेघाँस र भुईँ घाँससमेत बेच्न पाएका छन् । चारजनाको समूहले अहिले अम्रिसो रोपेका छन् । अम्रिसोको कुचो र यहाँ उत्पादन हुने घाँस बेचेर वार्षिक वीस हजार रूपैयाँभन्दा बढी आम्दानी गर्दै आएको उनले बताए । ‘अम्रिसो मात्रै करिब एक हजार बिरूवा रोपिएको छ,’ उनले भने, ‘यसबाट आम्दानी भन्दा पनि गाउँलेलाई कुचो किन्नु परेको छैन । बढी भएको बेच्न पनि पाइएको छ ।’ गाउँलेको लागि सबैभन्दा ठूलो कुरा त वन जोगाउनु नै हो । वन जोगाउँदा भूक्षय पनि कम भएको गाउँलेको भनाइ छ ।
वनमा अहिले खनायो, कुटमेरो, कोइरालो, नेमारो, सिन्दुरेलगायतका डाले घाँसको रूख प्रशस्तै छन् । पछिल्लो समय छिटो उत्पादन हुने र वस्तूभाउले पनि निकै रूचाउने हुँदा नेपियर (स्थानीय भाषामा उखू घाँस भन्छन्) घाँस रोपेका छन् । नेपियर घाँस छिटै बढ्ने भएकोले वर्षमा तीनपटकसम्म काटेर बेच्न पाइने उनले बताए । यति मात्रै नभई नेपियर घाँसको डाँठ समेत बेच्न पाइने हुँदा अन्य घाँसभन्दा नेपियरबाट बढी आम्दानी गर्न सकिने उनले बताए ।
वन समूहका अर्का सदस्य वीरबहादुर गुरूङका अनुसार वन संरक्षणमा अहम् भूमिका खेलेको भन्दै न्युरेनीघारी कवुलियती वनले प्रोत्साहनस्वरूप तीनपटक जिल्ला वन कार्यालयबाटै पुरस्कार पाइसकेको छ । पहिलो पटक आठ हजार, दोस्रो पटक २० हजार र तेस्रो पटक तीन हजार रूपैयाँ नगद पुरस्कारबाट पुरस्कृत भइसकेको उनले बताए । जिल्ला वनबाट पाएको पुरस्कारले वन संरक्षणमा अझ प्रोत्साहन मिलेको उनको भनाइ छ । समूहले करिब पाँच विघा क्षेत्रफल संरक्षण गर्दै आएका छन् । न्युरेनीघारी वन जस्तै सात वटा समूहले घाँस खेती गर्दै आएको उनले बताए ।








