अमेरिका–नेपालका कामदार, विद्यार्थी र पत्रकारलार्इ समान प्रवेषाज्ञा

पुस २०, काठमाडौं । नेपाल सरकारले अमेरिकी नागरिकलाई दिने प्रवेशाज्ञा समान बनाएको छ । गत पुस १३ गते बसेको मन्त्रिपरिषद् बैठकले अध्ययन, कामदार र पत्रकारसलगायत गैर पर्यटकीयहरुका लागि भिसा) शुल्क र अवधिमा परिवर्तन गरी समान बनाएको छ। अब दुवै देशले एकअर्काका नागरिकलाई दिने भिसा अवधि र लाग्ने शुल्क समान भएको सरकारले जनाएको छ ।

बैठकले अमेरिकी प्रस्तावबमोजिम अध्ययन, कामदार र पत्रकार भिसा शुल्क र अवधिमा एकरूपता कायम गर्ने निर्णय गरेको हो। नेपालस्थित अमेरिकी दूतावासले गत असोज १९ मा अमेरिकी नागरिकप्रति नेपालको नीति समान बनाउन तथा भिसाको किसिम, अवधि र लाग्ने शुल्कमा हेरफेर गरी पर्यटक, अध्ययन, कामदार र पत्रकार भिसाको शुल्क र अवधिमा एकरूपता कायम गर्न परराष्ट्र मन्त्रालयमार्फत प्रस्ताव गरेको थियो। त्यसपछि सरकारले करिब तीन महिना अध्ययन गरेर निर्णय गरेको हो । पर्यटक भिसामा भने थप छलफल गर्नुपर्ने भन्दै एकरूपता कायम गर्न सकेन ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद दुवाडीले अध्ययन, कामदार र पत्रकार भिसामा दुवै देशबीच समानता कायम गर्ने निर्णय भएको जानकारी दिए ।

अब दुवै देशले विद्यार्थीका लागि ३ सय ६० अमेरिकी डलरमा पाँच वर्ष (अध्ययन अवधिभर) का लागि बहुप्रवेशी (मल्टीपल) अध्ययन भिसा जारी गर्नेछन्। भने, दुवै देशका कामदारले १ सय ९० अमेरिकी डलरमा ३ वर्षको बहुप्रवेशी भिसा पाउने छन्। पत्रकारलाई पनि दुवै देशले १ सय ६० अमेरिकी डलरमा ५ वर्षको बहुप्रवेशी भिसा जारी गर्ने छन्।

पर्यटक भिसामा पनि एकरूपता कायम गर्न परराष्ट्र मन्त्रालयले अमेरिकी दूतावासका अधिकारीसँगको छलफलपछि थप छलफल गर्नुपर्ने सुझाव दिएको थियो । गृहले परराष्ट्रको सुझाव बमोजिम नै प्रस्ताव पठाएपछि मन्त्रिपरिषद्ले पर्यटक भिसामा थप अध्ययन गर्नुपर्ने भन्दै अध्ययन, कामदार र पत्रकार भिसामा एकरूपता कायम गर्ने निर्णय गरेको हो।

गृहले परिवर्तित भिसा नीतिको निर्णय कार्यान्वयन गर्न/गराउन पुस १६ मा अध्यागमन विभागलाई जानकारी समेत गराइसकेको छ। अध्यागमन विभागका महानिर्देशक दीपक काफ्लेले अमेरिकीका लागि जारी हुने भिसासम्बन्धी निर्णय कार्यान्वयन भइसकेको बताए।

अमेरिकाले यसअघि अध्ययन भिसामा ३ सय ६० अमेरिकी डलर शुल्कमा ५ वर्षको बहुप्रवेशी भिसा दिने गरेको भए पनि नेपालले भने अमेरिकी नागरिकसँग स्नातकोत्तर अध्ययनका लागि १ वर्षको २ सय ५० र अन्य अध्ययनका लागि अध्ययन अवधिभरको ५ सय ८० अमेरिकी डलर भिसा शुल्क लिँदै आएको थियो।

अमेरिकाले १ सय ९० अमेरिकी डलरमा ३ वर्षको बहुप्रवेशी श्रम भिसा दिने गरेको छ। नेपालले गैरसरकारी आयोजनाका कामदारका लागि १ वर्षको ३ सय ६०, सरकारी आयोजनामा प्रतिवर्ष २ सय ५० र अन्य आयोजनामा प्रतिवर्ष ३ सय ९० अमेरिकी डलर भिसा शुल्क लिने गरेको थियो।

सञ्चार (पत्रकार) भिसाका लागि अमेरिकाले १ सय ६० अमेरिकी डलर शुल्कमा ५ वर्षको भिसा दिने गरेको छ भने नेपालले १ सय ४० अमेरिकी डलरमा १ वर्षको बहुप्रवेशी भिसा जारी गर्दै आएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =