तेस्रो लिंगीहरु गुनासोः कुनै पनि स्थानमा अटाईएन

भरतराज शर्मा (गोपाल) धरान

फोटो फायल

देश स्थानीय तहको निर्वाचनमा होमिएका बेला तेस्रो लिंगी तथा समलिंगीहरुले देशका कुनै पनि स्थानमा आफनो प्रतिनिधित्व नभएको गुनासो गरेका छन् ।
नेपाल सरकारले आफूहरुलाई उपेक्षित गरेको आरोप लगाउने उनीहरुले धरानमा आयोजित एक कार्यक्रममा यस्तो गुनासो गरेका हुन् ।
पहिलो संविधान सभामा सुनसरी क्षेत्र नंं. १ बाट नेपाल कम्युनिष्ट पार्टी संयुक्तबाट उमेद्ववारी दिई सम्मान जनक मत ल्याएकी तेस्रो लिंगी दिपिका राईले अहिलेको स्थानीय तहमा सातवटै प्रदेशका कुनै पनि स्थानबाट तेस्रो लिंगीबाट प्रतिनिधि बनाउन राजनीतिक दलहरुले कन्जुस्याई गरेको गुनासो पोखिन् ।
दलहरुले घोषणापत्रमा अल्पसंख्यक, पिछडिएका जातिहरुलाई प्राथमिकतामा राखेर काम गर्ने, आदिवासी, जनजाति, पिछाडएका जातिलाई समेत पार्टीमा प्रतिनिधित्व गर्ने कुरा उल्लेख गरेपनि त्यो घोषणापत्रमै सीमित हुने आरोप राईको छ ।
खासगरी ठूला मानिएका दल जसले मुलुकको परिवर्तन गर्न अग्रणी भूमिका निर्वाह गर्ने ठेक्का लिएका छन् उनीहरु नै अल्पसंख्यक, पिछडिएका जातिहरुको प्रतिनिधित्वको विषयमा खुलेरै अगाडि नआएको आरोप राईको छ ।
तेस्रो लिंगी र समलिगीको हकमा काम गर्दै आएको उदाउदो विहानी र ब्लु डाइमण्ड सोसाइटीले समेत तेस्रो लिंगी र समलिंगीलाई राज्यले अहिले पनि तेस्रो दर्जाको रुपमा हेर्ने गरेको बताउँदै आएका छन् ।
उदाउदो विहानीका सचिव सन्दिप राईले पिछडिएका वर्गको हक हित पिछडिएका वर्ग समुदायबाट प्रतिनिधित्व नहुन्जेलसम्म उनीहरु सबै उपेक्षित हुने भएकोले स्थानीय निकायमा कहीँ न कहीँ दलहरुले प्रतिनिधित्व गराएर जानुपर्नेमा जोड दिए ।
उनले महिला, दलित, जानजाति लगायतको स्थानीय चुनावमा कोटा भएपनि तेस्रो लिंगी र समलिगीका लागि कुनै कोटा दलहरुले नछुट्याएको भन्दै नेपालमा अझै तेस्रो लिंगी र समलिगीलाई हेर्ने दृष्टिकोणमा कुनै फरक नभएको बताए ।
नेपालमा तेस्रो लिंगी र समलिंगीको संख्या ५ लाख भएको ब्लु डाइमण्ड सोसाईटीले जनाएको छ भने सुनसरी ३५ हजार र धरान ८ हजार तेस्रो लिंगी र समलिंगीको संख्या रहेको उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 13 =