चितवनमा यस कारणले पछारियो कांग्रेस

किशोर खनाल
मंसिर २७, भरतपुर । प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनको परिणामले नेपाली कांग्रेसले नराम्रोसँग धक्का लगाइदिएको छ । चितवनको ३ वटा प्रतिनिधि सभा र ६ वटा प्रदेश सभामा नेपाली कांग्रेसले एक सिट पनि जित्न सकेन ।
२०४८ सालको चुनावमा पनि चितवनमा मात्र बाम एकता हुँदा कांग्रेसको एक सिट पनि आएको थिएन । २०६४ सालको चुनावमा पनि चितवनमा कांग्रेसले एक सिट पनि जित्न सकेन । ०५१, ०५६, ०७० को चुनावमा कांग्रेसले दुई सिट जितेको थियो । यसपटकको चुनावमा चितवनबाट नेपाली कांगे्रस नराम्रोसँग बढारिएको छ । उसको एक सिट पनि आएन । सबै ९ ठाउँमा बाम गठबन्धनका उम्मेदवार विजयी हुँदा कांग्रेस पराजयका कारणहरु खोजी गरी अघि बढ्ने सुरसारमा लागेको छ ।
आखिरी यसपटक किन बढारियो त कांग्रेस ? कांग्रेसका पुराना हस्ती भीमबहादुर श्रेष्ठले कांग्रेस पराजय हुनुमा धेरै कारणहरु देखेका रहेछन् । उनले कांग्रेसको नेतृत्व पंक्तिमा पनि केही खोटहरु देखे । चितवनमा कांग्रेसले गरेका कामहरु चितवनका जनतासम्म पु¥याउन नसक्दा कांग्रेसले धक्का खाएको उनी बताउँछन् ।
‘यसअघि यहाँबाट जितेका सांसदले चितवनमा गरेका गतिला कामहरु जनतासम्म पु¥याउन नसक्नु पनि हारको केही कारणमध्ये एउटा प्रमुख कारण हो’ उनले भने, ‘लोकतन्त्रमा कांग्रेसले बिकाउ नारा दिन सकेन । नेतृत्वले नयाँ नारा दिनै सकेन । चुनावको बेला बिकाउ नारा चाहिन्छ ।’
विपक्षी शक्तिले गरेका कर्तुतहरु पर्दाफास गर्न नसक्दा पनि जिल्लामा कांग्रेसले हार खानुपरेको उनी बताउँछन् । विपक्षीले कस्ता कर्तुत गरेका हुन् त्यसबारेमा उनले खुलाएनन् । उनले भने, ‘कांग्रेसलाई पराजयमा पु¥याउनुको अर्को कारण गुटवन्दी पनि हो । केही कारणमध्ये पार्टी भित्रको गुट–उपगुटले कांग्रेसलाई पराजयको शिकार बनायो ।’ कांग्रेसले हारे पनि देश र लोकतन्त्रले जितेको भन्दै उनले खुसी प्रकट गरे । ‘हिजो बन्दुकको नालबाट सत्ता कव्जा गर्छु भन्नेलाई लोकतन्त्रमा ल्याउनु नै कांग्रेसको जित हो’ उनले भने ।
पुराना कांग्रेसका कार्यकर्ताहरुले चितवनमा कांग्रेस पराजय हुनुमा नेतृत्व पंक्तिलाई बढी दोषी देखेका छन् । बाम गठबन्धनको शीर्ष नेताहरु केपी ओली, माधव नेपाल, प्रचण्डलगायतको उपस्थितिमा ठूलठूला आम सभा भए तर कांग्रेसको शीर्ष नेता आएर चितवनमा कुनै कार्यक्रम गरेनन् । कांग्रेसका कुनै शीर्ष नेताहरु आएर भोट मागेनन् । लोकतन्त्रमा कांग्रेसले खेलेको भूमिका मतदातासामु पुग्नै पाएन । कांग्रेसले के ग¥यो जनताले बुझ्नै पाएनन् ।
‘कांग्रेसले पनि गतिला काम गरेको छ । संविधान निर्माणको कांग्रेसले खेलेको भूमिका अतुलनीय छ । यस्ता कामहरु जनतासम्म पुग्नै सकेनन्’ नेता श्रेष्ठले भने, ‘त्यो पु¥याउने कसरत नेतृत्वबाटै भएन ।’
चुनावको मुखमा कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट शासन आए देशमा अधिनायकवाद आउँछ भनेर विभिन्न सभाहरुमा बोले । उनले सभाहरुमा कम्युनिष्ट शासन आए रुन पनि नपाइने, हाँस्न पनि नपाइने बताए । उनको यो कुरालाई जनताले पत्याएनन् । २०४८ सालमा बाम गठबन्धनले जित्दाको अनुभव चितवनवासीको मनमुटुमा ताजै थियो ।
‘संसदीय अभ्यासमा आएका पार्टीहरुले जिते अधिनायकवाद आउँछ भन्दा जनताले विश्वास गरेनन्’ कांग्रेसका पुराना नेता तथा पूर्व प्रेस विभाग प्रमुख विष्णु ढकालले भने, ‘जनताले विश्वासै नगर्ने कुरालाई नेतृत्व पंक्तिले बोल्दा कांग्रेसलाई घाटा भयो ।’
चितवन क्षेत्र नम्बर ३ का कांग्रेस मतदाताले प्रतिनिधि सभातर्फ यसपटक पनि रुखमा भोट हाल्न पाएनन् । स्थानीय तहको चुनावमा पनि उनीहरुले रुखमा भोट हाल्न पाएनन् । कांग्रेसको नेतत्वले क्षेत्र नम्बर ३ का मतदातालाई स्थानीय तहको चुनावमा हँसिया हथौडामा भोट हाल्न आदेश दियो । अहिले हलोमा भोट हाल्न आदेश ग¥यो ।
‘०७ सालदेखि कांग्रेसमा भोट हाल्दै आएका कार्यकर्ताहरुलाई अरु चिन्हमा पटकपटक भोट हाल्न लगाउँदा उनीहरुका भोटहरु सबै भनेको ठाउँमा आएनन्’ ढकालले भने, ‘पटकपटक अरुको चिन्हमा भोट हाल्न लगाउँदा जनतामा वितृष्णा जाग्यो । केही मतदाता विच्केर अन्यत्र भोट हाले ।’ उनले पराजय हुनुको अर्को कारण केन्द्रदेखि जिल्लासम्म गुटवन्दी रहेको बताए । उनले भने, ‘केन्द्रमा जस्तै चितवनमा पनि गुटउपगुट छन्, त्यसको असर पनि परेको देखिन्छ ।’
केही कांग्रेसका पुराना कार्यकर्ताहरु अघिल्लो गठबन्धन (माओवादी केन्द्र र कांग्रेस) नभाँडिएको भए कांग्रेसको यस्तो परिणाम नआउने बताउँछन् । उनीहरुको भनाइअनुसार नेतृत्व पंक्तिले अघिल्लो गठबन्धन टुट्न दिनु नै ठूलो गल्ती भयो । ‘माओवादी केन्द्रलाई एमालेसँग मिल्न दिने वातावरण नेतृत्व पंक्तिले कुनै हालतमा बनाउनु हुन्थेन’ कांग्रेसका एक कार्यकर्ताले भने ।
पहिलेका दोस्रो र तेस्रो ठूला दल मिल्दा पहिलो भएको कांग्रेसलाई ठूलो घाटा भएको छ । ‘बाम गठबन्धन भएर ठूला पार्टी मिले पछि कांग्रेसलाई केही घाटा हुने नै भयो नि’ कांग्रेस नेता मिलनबाबु श्रेष्ठले भने, ‘दुई दल मिल्दा चितवनमा कांग्रेसले पराजय भोग्नुपरको हो तर समानुपातिकतर्फ हामी पहिलो नै हुन्छौँ ।’ उनले चितवनमा कांग्रेस कमजोर नरहेको बताए ।
उनले भने, ‘समानुपातिकको मतले बताइदिन्छ, चितवनमा कांग्रेसको स्थिति । कांग्रेस कमजोर छैन । कांग्रेसको एउटा भोट पनि यताउता गएको छैन । कांग्रेसका मतदाता अडिग छन् । यहाँ दुई पार्टी मिल्दा कांग्रेसलाई केही घाटा भएकै हो ।’ २०४८ सालको चुनावमा चितवनमा मात्र बाम एकता भएको थियो । त्यतिबेला बाम गठबन्धनले ‘एक ठाम एक बाम’ नारा ओरालेका थिए । चितवनका ३ वटा क्षेत्र त्यो बेला बाम गठबन्धनले जितेको थियो । कांग्रेसले त्यो बेला एक सिट पनि जितेन । अहिले पनि एक सिट जितेन ।








