बुद्ध बृद्धाश्रमका लागि ३३ हजार पाँच सय पाउण्ड संकलन


लण्डन, जेठ २३ । लुम्बिनी स्थित कपिलवस्तुमा बुद्ध वृद्दाश्रम निर्माणको लागि बेलायतको लन्डनमा आयोजित च्यारिटी कार्यक्रममा ३३ हजार पाँच सय पाउण्ड (४४ लाख नेपाली रुपैयाँ) रकम संकलन भएको छ। बुद्ध फाउन्डेसन यूकेले आइतबार आयोजना गरेको उक्त च्यारिटीमा एन आर एन यूके, कपिलवस्तु समाज यूकेलगायत अन्य संघ संस्थाले सहयोग र सहकार्य गरेका थिए।
कार्यक्रमबाट ३३ हजार पाँच सय पाउण्डको प्रतिवद्दता आईसकेको फाउन्डेसनका कोषाध्यक्ष राजन खकुरेलले जानकारी दिएका छन्।
सहयोग संकलन कार्यक्रममा बेलायतका नेपाली समुदायको उत्साहजनक सहभागिता रहेको यो अभियान अन्तर्गत आयोजित कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत दुर्गा बहादुर सुवेदी प्रमुख अतिथि थिए । उनले कार्यक्रममा बोल्दै प्रवासी नेपालीहरुले आफ्नो जन्मभूमि प्रति गरेको माया उत्साहजनक रहेको र सार्थक कार्यको थालनी भएकोमा बुद्ध फाउन्डेसन र सहयोगीहरुको प्रशंशा गरेका थिए।
फाउन्डेसनका अध्यक्ष दीपक श्रेष्ठले प्रवासमा रहँदा आफ्नो मातृभुमी प्रतिको माया अझ बढ्ने बताए । उनले बृद्धाश्रम निर्माणले सो क्षेत्रका परिवार विहिन आमा बुबाहरुको हेरचाहमा सहयोग पुग्ने विस्वास ब्यक्त गरे ।
कार्यक्रममा एन आर एन यूके अध्यक्ष मुच्छेत्र गुरूङ, उपाध्यक्ष शान्ति थापा, युरोप संयोजक कुल आचार्य, एन आर एन पूर्वअध्यक्ष सूर्य गुरुङ, समाजसेवी तथा ब्यावसायी विनोद ज्ञवाली, शिवजी श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए ।
सो कार्यक्रमको संयोजक हिराधन राई थिए ।
कार्यक्रममा सहयोग प्रदान गर्नुहरुलाई सम्मान गरिएको थियो भने, नेपालबाट आएकी भारतिय चर्चित रियालिटी शो डान्स इण्डिया डान्स र झलक दिखलाजाकी विजेता नेपाली कलाकार तेरिया मगर साथै नाम्लो ब्याण्डले सांस्कृतिक प्रस्तुति दिएका थिए ।
नेपालमा कपिलवस्तु जिल्लाको बाणगङ्गा, नन्दनगरमा ७० लाखको अनुमानित लागतमा १४ वेडको वृद्धाश्रम सहयोगार्थ कार्यक्रम आयोजना गरिएको थियो ।








