विद्यार्थी माथि यौन दुव्यवहार : क्याम्पस प्रमुखको आलोचना

भदौ २५, नेपालगन्ज । नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज इकाइले पछिल्ला विकसित घटना क्रमहरुलाई लिएर क्याम्पस प्रमुखको चर्को आलोचना गरेको छ । सङ्गठनका अध्यक्ष गिरिराज पौडेलले प्रेस विज्ञप्ति जारी गरी क्याम्पसमा भइरहेको घटनाक्रमहरुमा क्याम्पस प्रमुखको भूमिका गैर जिम्मेवार भएको भन्दै आलोचना गरेका हुन् ।
गत भदौ १२ गते विविएस प्रथम वर्षको परीक्षाका क्रममा परीक्षार्थीमाथि यौन दु्व्यवहार भएको भन्दै क्याम्पसका शिक्षण सहायक रविराज शर्मामाथि कानुनी कारबाही अगाडी बढाइएको घटनालाई लिएर क्याम्पस प्रमुखको भूमिकामाथि टिप्पणी गरिएको हो ।
‘क्याम्पस प्रमुखले क्याम्पसमा भएको भनिएको घटना सम्बन्धी समस्यालाई यथाशिघ्र समाधान गर्नुको साटो पन्छिने कार्य गरेको हुँदा समस्या झन् बल्झिंदै गएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘क्याम्पसमा सञ्चालित परीक्षाका सम्पूर्ण गतिविधिको जिम्मेवार स्वयम् केन्द्राध्यक्ष अर्थात् क्याम्पस प्रमुख नै हुन् ।’ क्याम्पस प्रमुख गणेश कुमार रेग्मीले शिक्षक, विद्यार्थी यौन दुव्यवहार प्रकरणबारे अहिलेसम्म कुनै औपचारिक धारणा सार्वजनिक गरेका छैनन् ।

सङ्गठनले क्याम्पस प्रमुखको गैरजिम्मेवार भूमिकाले क्याम्पसमा दिनानुदिन आर्थिक, शैक्षिक तथा प्रशासनिक वातावरण खल्बलिंदै गएर अराजकताको स्थिति पैदा भएको भन्दै चर्को आलोचना गरेको हो । यौन दुव्यवहारको घटनाप्रति सङ्गठनले प्रहरी प्रशासनको पनि ध्यानाकर्षण गराएको छ । ‘कुनै अनुसन्धान नै नभई एकपक्षीय रूपमा विभिन्न सञ्चारमाध्यममा शर्मालाई अपराधीका रूपमा चित्रण गरी प्रहरी हिरासतमा पुग्नु परेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘अर्को तर्फ शैक्षिक संस्थाका साथै समग्र प्राध्यापक वर्गको शिर निहुरिने गरी अनर्गल प्रचार गर्ने कार्यले आगामी परीक्षा मर्यादित बनाउने कुरामा प्रश्न उब्जिएको छ ।’
सङ्गठनले घटनाको सत्यतथ्य, प्रमाणका आधारमा अनुसन्धान गरी वास्तविकता पत्ता लगाउन ध्यानाकर्षण गराउँदै आरोपित शर्मालाई प्रहरी हिरासतबाट रिहाइका लागि पहल गर्न क्याम्पस प्रमुख तथा अन्य सम्बन्धित निकायस“ग माग गरेको अध्यक्ष पौडेलले विज्ञप्तिमा उल्लेख गरेका छन् ।








