बैंकहरुले लगातार बढाएको व्याजदर थेग्नै गाह्रो

साउन १९, काठमाडौं । बैंकहरुले लगातार बढाएको कर्जाको व्याजदर थेग्नै गाह्रो भइरहेको छ ऋणीहरुलाई । तर, बैंकहरुको नियमक निकाय राष्ट्र बैंकका एक उच्च अधिकारीले भने अरु देशको तुलनामा नेपालको ब्याजदर धेरै नरहेको बताएका छन् । हालै एक कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले दक्षिण एशियाली राष्ट्रहरुमा रहेको औसत व्याजदरको विवरण दिएका थिए ।
थापाका अनुसार हाल दक्षिण एशियामा बंगलादेशका नागरिकहरुले कर्जा लिँदा सबैभन्दा सस्तो व्याज दर तिरिरहेका छन् । बंगलादेशमा कर्जाको औसत व्याजदर ९.९ प्रतिशत रहेको छ । त्यस्तै, माल्दिभ्समा १०.७ प्रतिशत, नेपालमा ११.३ प्रतिशत र श्रीलंकामा १२ प्रतिशत रहेको छ । यता, भारतमा (एसबीआई बैंकको आधारमा) १२.६ प्रतिशत, पाकिस्तानमा १३.९ प्रतिशत र भुटानमा १४ प्रतिशत रहेको छ । पछिल्लो समय निक्षेपको व्याजदरमा भएको सुधारलाई राष्ट्र बैंकले सकारात्मक रुपमा लिएको छ ।
‘अहिले व्यक्तिगत तथा साना निक्षेपकर्ताहरुले बैंकहरुबाट राम्रो व्याजदर पाएका छन्, यसअघि भने उनीहरु मर्कामा परेकै अवस्था थियो,’ थापा भन्छन् । थापाका अनुसार नेपालमा सबै किसिमका निक्षेपको आधारमा हेर्दा औसत व्याजदर ५.९ प्रतिशत रहेको छ । नेपाल भन्दा माल्दिभ्स, भुटान र पाकिस्तानमा यो दर कम रहेको देखिन्छ । माल्दिभ्स, भुटान र पाकिस्तानमा निक्षेपको औसत व्याजदर क्रमशः ३.७ प्रतिशत, ४ प्रतिशत र ४.८ प्रतिशत रहेको छ । त्यस्तै, भारतमा ६.९ प्रतिशत, श्रीलंकामा भने ८ प्रतिशत रहेको छ ।

‘ऋण सबैले लिने सहज विषय होइन, यो भनेको प्रतिबद्धता हो, तर अहिले सेयर लगायतका जोखिमयुक्त क्षेत्रमा लगानी गर्न पनि जो कोहीले ऋण लिने चलन बढिरहेको छ,’ थापाले भने । ऋण लिएपछि त्यसको उत्पादनमा पनि केही योगदान हुनुपर्ने भए पनि अहिले बैंकबाट कर्जा लिने र बढि भन्दा बढि मुनाफा कमाउन सकिने अपेक्षामा केही सिमित क्षेत्रमा मात्र लगानी गर्ने प्रवृत्ती बढ्नु सही नभएको उनको तर्क छ ।
सम्बन्धित शीर्षक अन्तरगत भन्दा पनि अन्य शीर्षकका कर्जाबाट ऋण जारी भइरहेको भन्दै राष्ट्र बैंकले यसलाई प्राथमिकता साथ अध्ययन गरिरहेको छ । यता, व्यवसायीहरुले भने व्यवसायको लागत धान्नै गाह्रो हुने गरि व्याजदर बढेको भन्दै राष्ट्र बैंकसँग समस्या समाधानको लागि माग राख्दै आएका छन् ।
‘६/७ प्रतिशतमा लिएको व्याज बढेर १२/१३ पुगिसेकको छ, फेरी साउन १५ पछि व्याजदर बढ्छ भनेर हामीलाई बैंकहरुले भनिरहेका छन्, व्यवसाय चल्न गाह्रो भइसक्यो,’ नेपाल चेम्बर अफ कमर्शका कार्यकारी सदस्य सुरेन्द्रकुमार श्रेष्ठले बताए । तर, राष्ट्र बैंक भने सम्भावना नभएका क्षेत्रमा ऋणीहरुले लगानी गर्नुभन्दा पनि कम्तिमा १४ देखि १५ प्रतिशत प्रतिफल हुने क्षेत्र हेर्नुपर्ने बताउँछन् । त्यस्तै, पुनः कर्जा जलविद्युत् तथा उत्पादन मुलक क्षेत्रको व्याजदर महंगो नहुने पनि राष्ट्र बैंकको दाबी रहँदै आएको छ ।








