सरकारी कार्यालयसँग समेत ‘कमिशन’ अशुली

धरान, माघ ११ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग क्षेत्रीय कार्यालय विराटनगरले सुनसरीको धरानमा आयोजना गर्न लागेको मेलामा एक सरकारी कार्यालयले अर्काे सरकारी कार्यलयबाट ‘कमिशन’ लिन खोजेको छ । कार्यक्रमको स्थान सिफारिस गरिदिने भन्दै कमिशन स्वरुप २७ सय रुपैया दस्तुर सहितको सिफारिस पत्र लेखेको पाईएको हो । सिफारिस पत्र धरान वडा नं १२ मार्फत धरान उपमहानगरपालिकाको भएको श्रोतको दावी छ ।
यही माघ १२ गतेदेखी १४ गते सम्म आयोजना हुन लागेको खाद्य मेलालाई पब्लिक उच्च माविको खेल मैदानमा लगाउन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग विराटनगरसंग स्थान उपलब्ध गराउने सिफारिसको लागि २७ सयको तोक सहितको पत्र फेला परेको हो ।

वडा नं १२ मा रहेको पब्लिक स्कुललाई सो विभागले मेला लगाए बापतको ४५ हजार बुझाएपनि अन्य सिफारिस चाहिने भन्दै धरानका मेयर तारा सुब्बाको तोकमा २७ सय लिई अनुमति प्रदान गर्ने भनेर आयोजकलाई सिफारिस पत्र थमाईएको छ । श्रोतका अनुसार पत्र थमाईएपनि आयोजकले सो बराबरको रकम भने तिरेको छैन ।
त्यस्तै स्थान प्रदान गरि कार्यक्रम गर्न दिईएको पब्लिक उच्च माविले ३ दिनको भाडा बापत ४५ हजार लिएपनि थप बिद्यालयको चौरमा रहेको दुर्गन्धित शौचालय सरसफाईका लागी थप ५ हजार समेत मागि बह्मलुट गर्न खोजेको आयोजकको गुनासो छ ।
सामाजिक जनचेतना जगाउने कार्यक्रम गर्दा पनि एक सरकारी कार्यालयले अर्काे सरकारी कार्यालयसंगै यस्ता प्रकारका समस्या खेपीरहनु पर्दा सर्वसाधारणको अवस्था के हुने भन्ने स्थानीयले चिन्ता जाहेर गरेका छन् ।
शुक्रबारबाट बिहान १० बजेदेखि साँझ ६ बजेसम्म तीन दिन निःशुल्क अवलोकन गर्न सकिने उक्त मेलामा विभिन्न जातजातीका परम्परागत परिकार सहित विभिन्न संघसंस्थाका जानकारीमुलक ६० वटा स्टल राखिएको छ ।
मेलामा विभिन्न अनुसन्धानबाट विकसित नयाँ तथा स्वदेशी खाद्य उत्पादनको प्रवद्र्धन तथा खाद्य पोषणसम्बन्धी सूचना प्राप्त गर्न सकिनेछ ।








