मौसमी रुघाखोकीको समस्या बढ्दै, सचेतना अपनाउन चिकित्सकको सुझाब 

काठमाडौं, मंसिर १६ । देशभरी चिसो बढेसंगै मौसमी रुघाखोकीको समस्या पनि बढेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनका अनुसार मौसमी रुघाखोकीको समस्या लिएर दैनिक सरदर १५ जना बिरामी अस्पताल आउने गरेका छन् ।

चिसो मौसम शुरु भएसंगै रुघाखोकी, ज्वरो, घाँटी खसखस हुने समस्या लिएर अस्पताल आउने बिरामी बढेका छन् । चिकित्सकका अनुसार चिसो मौसममा झाडापखाला, निमोनिया, टाउको र छाती दुख्ने जस्ता समस्या देखिन्छन् । यस्तै चिसोमा हातखुट्टाका औंँला र कान रातो हुने, चिलाउने, सुन्निने र कहिलेकाहीँ घाउ हुने समस्या पनि देखिन सक्छ । रुघाखोकी, दम, ओठ, हातखुट्टा फुट्ने, छाला सुख्खा हुने, फुस्रो हुने र फुट्ने जस्ता समस्या पनि चिसोकै कारण देखिन सक्छ ।

मुटु, मस्तिष्क, मृगौला, मधुमेह जस्ता दीर्घ रोग भएकालाई चिसोले अझै छिटो असर पुर्याउछ । त्यसैले चिसोबाट बच्न सके नै यस्ता खाले मौसमी स्वास्थ्य समस्याबाट बच्न सकिने चिकित्सकले बताएका छन् । डाक्टर शेरबहादुर पुनेले तातो पानी तथा झोलिलो खानेकुरा धेरै पिउने, न्यानो कपडा लगाउने, बिहान बेलुका चिसोमा सकेसम्म ननिस्कने गरे चिसोबाट बच्न सकिने बताउनुभयो ।

चिसोमा निस्कनै परे न्यानो तथा बाक्लो कपडा लगाएर मात्रै निस्कन पनि डाक्टर पुनले सल्लाह दिनुभयो । यसैबिच राजधानीमा प्रदुषणको मात्रा बढेका कारण आज पनि तुवाँलो लाग्ने र दिनभरी नै चिसो हुने मौसमविद्हरुले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 2 =