कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे तालाबन्दी खुलेन

कार्तिक ९, जुम्ला । विभिन्न २१ पदमा लिइएको परीक्षामा दुई ओटा प्रश्नपत्र प्रयोग गरेको भन्दै अनेरास्ववियूले आन्दोलन गरेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा तनाव बढेको छ ।

गत मङ्गलवार अनेरास्ववियू जुम्लाका विद्यार्थीहरूले प्रतिष्ठान उपकुलपति डाक्टर राजेन्द्रराज वाग्लेलाई उनकै कार्यकक्षमा तालाबन्दी गरेपछि प्रतिष्ठानले विद्यार्थीहरूलाई प्रहरी प्रशासन लगाएर नियन्त्रणमा लिएपछि जुम्ला प्रशासन तातिएको हो ।

२०७३ फागुन १४ गते प्रतिष्ठानका लागि लेक्चरर देखि सेक्सन अफिसर सम्मका विभिन्न २१ ओटा पदका लागि कर्मचारी पदपुर्ति विज्ञापन खुलाएको थियो । उक्त विज्ञापन अनुसार असोज २१ गते परीक्षा तोकिँदा प्रतिष्ठानको केन्द्रीय कार्यालय जुम्लामा परीक्षा सञ्चालन गर्ने भनिएको थियो । तर, प्रतिष्ठानका पदाधिकारीले जुम्लाका साथै सम्पर्क कार्यालय काठमाडौँमा समेत छुट्टै प्रश्नपत्र बनाएर परीक्षा लिएको थियो । प्रतिष्ठानका पदाधिकारीले दुई तिर फरक–फरक तरिकाले प्रश्न तयार गरेर परीक्षा लिएको थाहा पाएपछि अनेरास्ववियूले विरोध जनाउँदै परीक्षा रद्द गर्न माग गरेको थियो । तर, पदाधिकारीले परीक्षा रद्द गर्नुको सट्टा गलत कामको ढाकछोप गर्न थालेपछि विद्यार्थीहरू आन्दोलित भएका थिए ।

विद्यार्थीहरूले पदाधिकारीलाई परीक्षा रद्द गर्न माग गरिरहँदा उनीहरू अटेर गरेर बसेको अनेरास्ववियूका विद्यार्थी नेता अमरजंग शाहीले बताए । ‘विद्यार्थीहरूलाई वार्ताका लागि बोलाएर वेवास्था गरेपछि तालाबन्दी गरिएको हो । एउटै पदको दुई तिर परीक्षा त्यो पनि दुई किसिमको प्रश्नहरुबाट हुनै सक्दैन ।’–उनले भने । शाहीले विद्यार्थीहरूलाई वार्ता गर्न बोलाएर प्रहरी प्रशासन लगाउनु ज्यादति भएको बताए । ‘प्रतिष्ठान हामी सबैको भएकोले त्यहाँ भएका सबै गतिविधि र कार्यक्रमका विषयमा हामीलाई जान्ने अधिकार हुँदाहुँदै विद्यार्थी माथि प्रहरी प्रशासन लगाउने काम भयो । यो एकदमै दुखद् कुरा हो ।’ उनले भने ।

रजिष्ट्रार भन्छन्–‘परीक्षा र प्रश्नपत्रमा गल्ती भयो’

२० प्रतिशत कमिसन खाएको छैन

रजिष्ट्रार इ. विश्वराज काफ्ले

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार इ. विश्वराज काफ्लेले असोज २१ गते लिएको परीक्षामा आफुहरुबाट पदीय अख्तियारीको दुरुपयोग भएको स्वीकार गरेका छन् । बुधवार मकालु खबरसँग फोन सम्पर्कमा बोल्दै रजिष्ट्रार काफ्लेले विज्ञापनमा परीक्षा केन्द्रीय कार्यालयमा हुने भनेपनि धेरै उम्मेद्वारहरुलाई काठमाडौँबाट जुम्लासम्म जान समस्या देखिएकोले उनीहरूको परीक्षा सम्पर्क कार्यालयबाटै लिइएको स्वीकार गर्दै उनले भने,–‘हामीले गलत मनसायले त्यस्तो गरेका त हैनौं, तर, पनि काम गर्दै जाँदा केही कमी कमजोरी भएकै हो, हाम्रो कमजोरी सच्याउँछौं ।’ त्यस अघि उनले करार नियुक्ति परीक्षामा एउटै प्रश्न हुनुपर्ने भन्ने नभएको बताउँदै विगतमा चारपाँच वटा सम्म प्रश्नपत्र बनाएको उदाहरण समेत रहेको बताए । ‘यो ठुलो विषय नै हैन, करार परीक्षामा धेरै प्रश्नपत्र पनि बनाउन मिल्छ ।’ उनले भने ।

काफ्लेले एउटै परीक्षामा दुईओटा प्रश्न किन बनाइयो भन्ने विषयमा आफुहरुको कमजोरी भएको स्वीकार गरे । उनले परीक्षा लिइएपनि रिजल्ट सार्वजनिक नगरेको र मौखिक परीक्षा अझै बाँकी रहेको भन्दै सबैसँग सल्लाह गरेर जाने बताए । उनले मकालु खबरमा प्रकाशित समाचारमा दुई करोडको उपकरण खरिदमा २० प्रतिशत कमिसन खाएको र पूर्व स्वास्थ्यमन्त्री गगन थापालाई जिताउन आर्थिक सङ्कलनमा लागेको कुरा गलत भएको बताए । उनले आफूले कुनै पनि खरिदमा कमिसन नखाएको जिकिर गरे ।

‘तपाईँहरूको समाचार आएका अरू विषयमा मेरो आपत्ति छैन, हामीबाट केही कमी कमजोरी भए होलान्, तर, २० प्रतिशत खाएको र, गगन थापालाई जिताउन अर्थोपार्जनमा लागेको कुरा गलत हो ।’ उनले भने । 

विद्यार्थीहरूले परीक्षा खारेज नभएसम्म आन्दोलन नरोक्ने चेतावनी दिएका छन् । प्रतिष्ठानको प्रशासनमा तालाबन्दी पछि कर्मचारीहरू बाहिर बस्न बाध्य भएका छन् । प्रतिष्ठानका कर्मचारीहरुले समस्या समाधान गर्न पदाधिकारीहरू गम्भीर नभएको बताए । एक कर्मचारीले नाम नबताउने सर्तमा ‘तालाबन्दी गरेर केही हुनेवाला छैन, कतिन्जेल गर्छन् हेरौं’ भन्दै पदाधिकारीले वार्ता गर्न गम्भीर नभएको बताए ।

प्रतिष्ठानले कुलपति वाग्लेको कार्यकक्षमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला स्वास्थ्य कार्यालयको बैठक भइरहेको बेला अनेरास्ववियू जुम्लाका सचिव भरत रावतसहित ५ जनाले बैठक विथोल्न खोजेकोले सुरक्षाका लागि प्रहरी बोलाउनु परेको दाबी गरेको छ ।

साेमबार प्रकाउ परेका विद्यार्थीहरू

प्रतिष्ठान जुम्लाले गत असोज २१ गते लिएको परीक्षा विभिन्न तहका करार सेवाका कर्मचारीहरू नियुक्त गर्ने विषयमा केन्द्रीय कार्यालयमा परीक्षा सञ्चालन गर्ने भनेपनि काठमाडौँ स्थित सम्पर्क कार्यालयमा समेत परीक्षा सञ्चालन गरेको थियो ।

परीक्षा स्थल र प्रश्नपत्र नै फरक भएको भन्दै परीक्षा खारेज लगायत ५ वटा माग अनेरास्ववियूले राखेको थियो । मागको सुनुवाइ नभएको भन्दै विद्यार्थी आन्दोलित बनेका थिए । त्यसपछि प्रतिष्ठानले समस्या समाधान गर्न भन्दै विद्यार्थीहरूलाई सोमबार वार्तामा वोलाए पनि बेवास्ता गरेपछि आफूहरू तालावन्दी गर्न बाध्य भएको अनेरास्ववियू जुम्लाका सचिव भरत नेपालीले बताए ।

उनले पदाधिकारीले वार्तामा बोलाएर ‘हामीलाई जानकारी छैन’ भन्दै वास्ता नगरेपछि तालावन्दी गरिएको जिकिर गरे । रावलले परीक्षाको विषयमा वार्ता बस्न नचाहने र गल्ती गर्नेलाई कारबाही हुनुपर्ने र परीक्षा खारेज नभएसम्म आफूहरू आन्दोलित हुने चेतावनी दिए ।

तालाबन्दी भए लगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली गई ताला खोल्नुका साथै ५ जना विद्यार्थीलाई पक्राउ गरेर ल्याएको थियो । सोही दिन बेलुका प्रतिष्ठानका पदाधिकारी, स्थानीय व्यक्ति र विद्यार्थीविच वार्ताद्वारा समस्या समाधान गर्ने सहमति भएपछि विद्यार्थीलाई छोडिएको जिप्रका जुम्लाका वरिष्ठ प्रहरी उपरिक्षक डा. तपन कुमार दाहालले जानकारी दिए । तर, भोलिपल्ट दुवैपक्ष वार्तामा बसेर समस्या समाधान गर्ने भनेपनि प्रतिष्ठानका पदाधिकारीले चासो नदेखाएपछि विद्यार्थीले पुनः तालाबन्दी गरेका थिए ।

गत आश्विन २१ गते लिइएको लिखित परीक्षाको मौखिक परीक्षा भने हुन सकेको छैन । असोज २६ गते मौखिक परीक्षा गर्ने भनेपनि काठमाडौँमा सिनेट बैठक परीक्षा सारिएको थियो ।

प्रतिष्ठानका शिक्षाध्यक्ष डा. धर्मराज श्रेष्ठले प्रतिष्ठानको मुख्य कार्यलयमा परीक्षा लिएपनि सम्पर्क कार्यालयले पनि सोही विषयमा छुट्टै प्रश्न बनाएर परीक्षा लिइदिँदा समस्या आएको बताए । ‘परीक्षा दिने विषयमा मेरो कुनै संलग्नता रहन्न । यहाँ परीक्षा समिति नै बनाएर परीक्षा लिएको हो, सम्पर्क कार्यालयमा पनि परीक्षा लिइयो भन्दै विद्यार्थीहरू आएपछि थाहा पाँए ।’ उनले भने ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पछिल्लो समय पदाधिकारीले नियम कानुन नै मिचेर कार्य गरिरहेको भन्दै कर्णालीबासी चिन्तित बनेका छन् । कर्णाली जस्तो दुर्गम क्षेत्रका जनतालाई सर्वसुलभ स्वास्थ्य शिक्षा दिन सरकारले तीन सय वेडको अस्पताल सहित शिक्षण संस्था स्थापना गरेकोमा पदाधिकारीहरुले सरकारको योजना माथि नै कुठाराघात गर्न लागेको स्थानीय बुद्धिजिवीहरुले बताएका छन् ।

प्रतिष्ठानको गत २६ गते बसेको सिनेट बैठकमा समेत प्रश्नपत्र बाहिरीएको, दुईवटा प्रश्न बनाएको विषयमा सो क्षेत्रका सांसद (हालका पूर्व सांसद) ललितजंग शाहीले समेत प्रश्न उठाएका थिए । उनले विगतमा कार्यवाहक उपकूलपति भएका डा. धर्मराज श्रेष्ठ (हालका शिक्षाध्यक्ष) को संलग्नतामा प्रश्नहरू बेचिएको विषयमा समेत छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग राखेपनि प्रतिष्ठानले केही गर्न सकेको छैन ।

प्रतिष्ठानमा भइरहेको तालाबन्दी, परीक्षा काण्डका विषयमा प्रतिष्ठानका सिनेट सदस्यहरूले समेत चासो व्यक्त गरेका छन् । सिनेट सदस्य नरेश भण्डारीले परीक्षामा रजिष्ट्रार लगायत पदाधिकारीले आफ्नो पदीय अख्तियारी दुरुपयोग गरेको कुरा आएको र सिनेटमा समेत कुरा उठेकोले सत्यतथ्य छानबिन हुनुपर्ने बताए । चन्दनपुर नगरपालिकाकी मेयर तथा प्रतिष्ठानकी सिनेट सदस्य कान्तिका सेजुवाल समेतले चासो व्यक्त गर्दै सत्यतथ्य सार्वजनिक हुनुपर्ने बताएकी छिन् ।

आवासीय भवन र महाबिद्यालयहरु निर्माण गर्नका लागि जग्गा दान लिन पदाधिकारी असफल भएको भन्दै जुम्लेली जनता असन्तुष्ठ भएका छन् । गत आर्थिक वर्षमा सोही कार्यको लागि नेपाल सरकारले विनियोजन गरेको ९० लाख रकम फ्रिज भएसँगै जुम्लाका शिक्षक मकर खत्रीले समेत असन्तुष्टी व्यक्त गरेका छन् । कर्णालीका नयन खत्रीले फेसबुकमा दुइटा परीक्षा र प्रश्नपत्रका विषयमा फेसबुकमा ‘एउटै पद र परीक्षामा फरक–फरक प्रश्नहरू सोधिनु कत्तिको जायज हुन्छ होला ? भन्दै प्रश्न गरेका छन् ।

प्रतिष्ठानमा अहिले मासिक दुई लाख बन्दा बढी तलब भत्ता बुझ्ने पदाधिकारीहरुको सङ्ख्या सात पुगेको छ । उपकूलपति, अस्पताल निर्देशक, रजिष्ट्रार डीन लगायतले मासिक दुई लाख भन्दा बढी तलब भत्ता बुझ्ने गरिरहँदा प्रतिष्ठानको अधिकतर बजेट प्रशासनिक खर्चमा जाने गरेको छ भने, राजधानीमा सम्पर्क कार्यालय खोलेर मासिक ७५ हजार भाडामा आलिसान भवन नै लिइएको छ । यसबाट प्रतिष्ठानको खर्च बढेको छ ।

स्रोतका अनुसार प्रतिष्ठानले आर्थिक वर्षको पहिलो चौमासिक बित्दा समेत खरिद योजना बनाउन सकेको छैन चालु आर्थिक वर्षमा कुनै टेन्डर भएको छैन । कोटेसन मार्फत महँगो दर रेटमा सामग्री खरिद गर्नु भनेको सार्वजनिक खरिद ऐन नियमावली अर्न्तगत पर्दैन । सार्वजनिक खरिद नियमावलीमा तीन देखि पाँच लाखसम्मकाे खरिदमा मात्र काेटेसनबाट खरिद गर्न पाउने प्रावधान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =