दलहरु राष्ट्रियसभा चुनावका लागि उम्मेदवार छान्न व्यस्त 

काठमाडौं, माघ ९ । दलहरु राष्ट्रियसभा चुनावका लागि उम्मेदवार छनौटमा केन्द्रित भएका छन् । नेकपा एमालेले सबैभन्दा धेरै प्रदेशमा छानिसकेको छ भने नेपाली कांग्रेस र माओवादी केन्द्र पनि छलफलमा छन् । एमालेले प्रदेश ५, ६ र ७ का उम्मेदवारको टुंगो लगाएको छ ।

गएराती अवेरसम्म स्थायी समिति बैठक बसेको थियो । सिफारिसमा परेका प्रत्येक व्यक्तिका विषयमा छलफल गर्नुपर्ने भएकाले बैठक लम्बिएको हो । आज फेरि बैठक बसेर बाँकी प्रदेशका उम्मेदवार छान्ने एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले  जानकारी दिनुभयो । नेपाली कांग्रेसले आज छलफल गर्दैछ । राष्ट्रिय सभा चुनावका लागि प्रदेश २ मा मधेसी गठबन्धनसँगको तालमेल अनिश्चित बनेपछि कांग्रेस उम्मेदवार छनोटमा जुटेको छ ।

तालमेलका लागि कांग्रेसले प्रदेश २ मा २ सदस्य दिन राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमसँग आग्रह गरेको छ । तर, मधेसी दुई दलको गठबन्धनले आफूहरूलाई ५ सिट दिन कांग्रेसलाई आग्रह गर्दै आएका छन । मधेसी गठबन्धनले कांग्रेस र वाम गठबन्धनसँग नमिल्दा पनि प्रदेश २ मा ४ सिट जित्ने करिब निश्चित छ । उम्मेदवार छनोटका लागि पार्टी पदाधिकारी, पूर्वपदाधिकारी र केही वरिष्ठ केन्द्रीय सदस्यबीच आज छलफल हुने नेताहरुले बताएका छन् ।

मधेसी गठबन्धनमा रहेका राजपा र संघीय समाजवादी फोरममा पनि कांग्रेससँगको तालमेल गर्ने या नगर्ने भन्नेमा अलमल छ । राष्ट्रिय सभा चुनावका लागि माओवादीले पनि प्रादेशिक तहबाट सिफारिस भएका नामलाई आज टुंग्याउने भएको छ ।

हिजो बसेको प्रदेश इन्चार्जसहितको बैठकले नाम टुंगो लगाउने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल तथा नेताहरू नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई दिएको छ । एमालेसंगको साझेदारीमा माओवादीले राष्ट्रिय सभामा १४ जना उम्मेदवार पाउने सहमति भएको थियो । राष्ट्रिय जनता पार्टी, नेपालले राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस र संघीय समाजवादी फोरम, नेपालसँग तालमेल गरेर जाने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 9 =