‘शिक्षाको नाममा व्यापार गरी अभिभावकको ढाड सेकाउने काम नगरौं’

 

बैशाख ४, काठमाडौं । हिसानका अध्यक्ष रमेश सिलवालले भर्ना अभियानलाई प्रभावकारी बनाउनेतर्फ सरकार, विद्यालय सञ्चालक र अभिभावकहरु लाग्नुपर्ने बताएका छन् । 

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै सिलवालले विद्यालय भर्ना अभियान धेरै वर्षदेखि चलिरहेकोले यसलाई मौसमी अभियान बनाउन नहुने स्पष्ट पार्दै उनले भने, ‘यसबारेमा राज्यले खासगरी स्थानीय निकायले धेरै ध्यान दिनुपर्छ ।’ 

null

सिलवालले भर्ना अभियान प्रभावकारी बनाउनको लागि विद्यालयहरुले विद्यार्थीलाई आकर्षण गर्न सक्नुपर्नेमा पनि जोड दिए । नयाँ शिक्षा ऐनमा पनि केही कमजोरी भएकोले सुधार गर्न जरुरी रहेको सिलवालले बताए । 

सिलवालले साक्षरता अभियानलाई पनि खाली अक्षर र अंक चिन्ने खालको मात्रै बनाउन नहुने स्पष्ट पारे । उनले थपे, ‘अक्षर र अंक मात्रै चिन्नु साक्षरता हाेइन, पढाइ र सिपको माध्यमले जीवनयापन गर्न सक्ने बनाउनुपर्छ । अब साक्षरताको परिभाषा बदल्नुपर्छ ।’  

महानगरपालिकाले शिक्षालाई प्राथमिकतामा नराखेको उनको गुनासो छ । उनले भने, ‘साँच्चै शिक्षामा सुधार गर्ने हो भने सरोकारवाला पक्ष एक ठाउँमा भेला भएर बहस गरौं । छलफल गरौं । के गर्दा शिक्षा क्षेत्रमा राम्रो गर्न सकिन्छ, त्यही गरौं ।’ उनले बढि शुल्क लिने विद्यालयहरुलाई अनुगमन गरेर कारबाही गर्नुपर्ने बताए । तर, यसको नाममा कसैले पनि खेती गर्ने काम गर्न नहुने उनको भनाइ छ । 

शिक्षा निःशुल्क भनिएपनि स्थानीय निकायले अहिले त्यो भार बोक्ने क्षमता नै नराख्ने उनको भनार्य छ । उनले भने,‘देशकै ठूलो काठमाडौं महानगरपालिका नै यो भार बोक्ने क्षमता राख्दैन । अरु, स्थानीय निकायको के कुरा गर्ने ?’ उनले शिक्षा निःशुल्क भनिएपनि ९९.९ प्रतिशत सरकारी विद्यालयहरुले शुल्क उठाईरहेको दाबी गरे । 

कतिपयले निजी विद्यालयले अभिभावकलाई लुटिरहेको भन्ने आरोप लगाएको सुनाउँदै उनले प्रश्न गरे,‘लुटेराको स्कुलमा विद्यार्थी नपढाऔं भन्नुहुन्छ अनि त्यही स्कुलमा लगेर विद्यार्थी भर्ना गर्न किन मरिहत्ते गर्नुहुन्छ ?’ 

राष्ट्रिय निजी तथा आवासीय विद्यालय संगठनका अध्यक्ष ऋतुराज सापकोटाले विद्यालय भर्ना अभियान लामो समयदेखि चल्दै आएपनि अहिलेसम्म प्रभावकारी बनाउन नसकिएको आरोप लगाएका छन् । विद्यालय भर्ना भएकाहरुलाई टिकाउनको लागि पनि अभियान चलाउनुपर्ने उनको तर्क छ । 

सापकोटाले शिक्षालाई खण्डीकरण गर्न नहुने धारणा राखेका छन् । उनले भने,‘शिक्षालय निजी वा सार्वजनिक हुनसक्छन् । तर, शिक्षा निजी हुँदैन । त्यसैले शिक्षालाई खण्डीकरण नगरौं ।’ शिक्षाको सिकाई उपलब्धिमूलक छ कि छैन् ? भन्नेतर्फ आजको बहस हुनुपर्ने पनि उनले जोड दिए । 

आफूहरुले मनोमानी शुल्क नलिएको दाबी गर्दै सापकोटाले स्थानीय निकायले तोकेको मापदण्डभित्र रहेर भर्ना शुल्क लिइएको बताए । 

नेपाल अभिभावक महासंघका केन्द्रिय संयोजक सुप्रभात भण्डारीले विद्यालय भर्नासँगै भर्ना भएकाहरुलाई कसरी टिकाउने भन्नेतर्फ राज्य लाग्नुपर्ने बताए । उनले शुल्क बढाउँदा वैज्ञानिक तवरले बढाउनुपर्नेमा जोड दिए । शुल्क वृद्धिको नाममा अभिभावकको ढाड सेकाउने काम र शोषण गर्ने काम गर्न नहुने उनको भनाइ छ । 

शिक्षा नीति बलियो बनाउने खालको हुनुपर्ने पनि उनको धारणा छ । उनले भने,‘शिक्षा क्षेत्रमा देखिएका सबै खाले विकृति र विसंगतिहरु रोक्नुपर्छ ।’ 

शिक्षामा सरकारले बजेट कम विनियोजन गरेकोमा पनि उनले गुनासो पोखे । विद्यालय भर्ना अभियानकै प्रसँगमा उनले चैत्र/बैशाखको समयलाई अभिभावकको लागि दशा र निजी विद्यालयहरुलाई दशैंको संज्ञा दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 2 =