दुर्घटनामा एकको मृत्यु, चारजना गम्भीर घाइते

कातिक २, दमक । मोटरसाइकल र म्याजिक भ्यान एकअापसमा जुध्दा झापाको कमल गाउँपालिकामा बुधवार एकजनाको मृत्यु भएको छ भने चारजना गम्भीर घाइते भएका छन् ।

कमल गाउँपालिकाको पाडाजुंगी–गौरीगञ्ज सडकखण्डस्थित गेउरियामा बुधवार दुवै सवारी एकअापसमा जुध्दा मोटरसाइकलमा सवार झापा, गौरादह–१ का ३४ वर्षीय योगेन्द्र अधिकारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते अधिकारीको उपचार गर्न दमक ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो ।


इलाका प्रहरी कार्यालय, दमकका प्रहरी निरीक्षक मिलन बस्नेतका अनुसार को २७ प २९८९ नम्बरको मोटरसाइकल र मे १ च ४९६३ म्याजिक भ्यान एकापसमा ठक्कर खाएका थिए । दुर्घटनामा परेर भ्यानमा सवार चारजनामध्ये दुई जनाको दमकस्थित लाइफलाइन र अन्य दुईजनाको भने बिएण्डसी अस्पताल, बिर्तामोडमा थप उपचारका लागि रिफर गरिएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये गौरादह–५ का बमबहादुर कटुवाल र उनकी श्रीमती देवीमाया कटुवालको बिएण्डसीमा रिफर गरिएको छ भने घाइतेद्वय दमक–७ का जगत विक र भरत ल्वागुनको भने स्थानीय लाइफलाइन अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =