रत्ननगरलाई भष्टाचारमुक्त नगर बनाउने घोषणा

रत्ननगर । रत्ननगर नगरपालिकालाई भष्टाचार मुक्त नगर बनाउने घोषणा गरिएको छ । भष्टाचारविरुद्ध अभियान चितवनले रत्ननगरको पिठुवामा आयोजना गरेको सुशासन तथा सूचनाको हकसम्बन्धी प्रशिक्षण कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर नारायण वनले रत्ननगरलाई भ्रष्टाचारमुक्त बनाउने बताए ।

‘कर्मचारी नियुक्तिदेखि बिरामीको उपचारसम्म भष्टाचार छ’ उनले भने ‘यस्तो देशले कसरी विकास फड्को मार्न सक्छ ।’
‘क्यान्सरपीडित माथी भष्टाचार हुन्छ’ उनले थपे ‘बिरामी बोक्ने एम्बुलेन्सले समेत भष्टाचार गर्ने मुलुक हाम्रो हो ।’ मुहान सफा भयो भने तहसम्म पानी सफा हुने भन्दै उनले सिंहदरबारमा हुने भष्टाचार अन्त्य गर्न सके सबै निकायमा भष्टाचार अन्त्य हुन्छ । देश चलाउने राजनीतिमा संसद खरिद विक्रीमा समेत भष्टाचार हुने गरेको उनको भनाइ छ ।
मेयर वनले भने, ‘यसका लागि सबै भन्दा पहिला नगरपालिकाको प्रशासनलाई सुधार गर्छु । भित्रको सिस्टम सुधार गर्न सकियो भने सबै विषय आफै समाधान हुदै जान्छ ।’ नगरपालिकाको लक्षित वर्ग कार्यक्रमलाई छुट्याईएको बजेटमा समेत हिनामिना हुने गरेको आफुले जानकारी पाएको भन्दै उनले त्यसलाई रोक्ने प्रयास गर्न कर्मचारीले नै गलत सन्देश प्रभाह गरेको बताए ।
‘राम्रो गर्न खोज्दा अपजस पाए पाउँछु’ उनले भने ‘तर रत्ननगरलाई सुशासन युक्त बनाएरै छोडने छु । सिस्टम मिलाएर भुक्तानी गर्न खोज्दा कर्मचारीहरुले नगरवासीमा गलत सन्देश प्रबाह गरेको उनको भनाइ छ ।
स्थानीय विकास अधिकारी कृष्णप्रसाद सुवेदीले चितवनलाई सुशासनयुक्त जिल्ला बनाउन भष्टाचार अन्त्य हुनुपर्ने बताए । कार्यक्रममा साविक पिठुवा गाविसका पूर्व अध्यक्ष चन्द्रकान्त न्यौपानेले आर्थिक भन्दा नीतिगत भष्टाचार डरलाग्दो रुप भएको बताए ।
कार्यक्रममा अभियानका कार्यक्रम संयोजक शालिग्राम शर्माले विकास निर्माणका उपभोक्ता समिति,स्थानीय निकाय र नागरिक समाजको काम,कर्तव्य र अधिकार, अभियानका उपाध्यक्ष डा.ईश्वरीराज लौडारीले भष्टाचार न्यूनीकरणमा युवाहरुको भूमिका र स्थानीय विकास अधिकारी कृष्णप्रसाद सुवेदीले सुचनाको हक र यसको कार्यान्वयन लगायतका विषयमा सहजीकरण गरेका थिए ।








