विराटनगरमा दीप प्रज्वलन, धनकुटामा प्रधानमन्त्रीको पुत्ला दहन

काठमाडौं, माघ ४ । सरकारले प्रदेश नम्बर १ को अस्थायी मुकाम विराटनगर तोकेको बिरोधमा धनकुटामा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरिएको छ । सरकार बिरुद्ध नाराबाजी गर्दै धनकुटेलीले बुधबार साँँझ जिरोपईन्टमा देउवाको पुत्ला जलाएका हुन् ।
सरकारको गलत निर्णय खारेज गर, प्रधानमन्त्री देउवा मुर्दावाद जस्ता नारा लगाउँदै बिरोध प्रदर्शन गरिएको हो । सरकारले धनकुटा आन्दोलनको विरुद्धमा निर्णय गरेकाले अव आन्दोलन शसक्त बनाईने आन्दोलन परिचालन समितिले जनाएको छ ।

प्रदेश नं १ को राजधानी धनकुटा बनाउनुपर्ने माग गर्दै पूर्वाञ्चल क्षेत्रीय प्रशासन धनकुटामा तालाबन्दी समेत भएकाे छ । धनकुटाबासीले प्रदेश राजधानी माग गर्दै बुधबार देखि अनिश्चितकालिन धनकुटा बन्द समेत गरेका छन् । ३३औँ दिनको आन्दोलनमा आमहडतालको आयोजना गरी क्षेत्रीय प्रशासन कार्यालय धनकुटामा तालाबन्दी गर्ने कार्यक्रममा झडप समेत भएको थियो ।
यता, सरकारको निर्णयलाई विराटनगरमा भने ब्यापक रुपमा स्वागत गरिएको छ । ऐतिहासिक नगरी र सबै पूर्वाधार विद्यमान रहेको विराटनगरलाई प्रदेश नं १ को अस्थायी मुकाम तोकिएको भन्दै स्थानीयले दीप प्रज्वलन गरी खुशीयाली मनाएका हुन् ।
मोरङ व्यापार संघका अध्यक्ष पवन शारदाले प्रत्येक दृष्टिकोणबाट विराटनगर अस्थायी राजधानी हुनुपर्ने थियो, राजा विराटको राजधानी, औद्योगिक नगरीका साथै स्वास्थ्य, शिक्षा, समानुपातिक तथा समावेशी आधारमा पनि विराटनगरबाहेक अन्य विकल्प नरहेको बताए ।








