धरानको रिले अनशन तोडियो, अझै कडा आन्दोलन गर्ने चेतावनी

धरान, माघ ४ । प्रदेश नं १ को राजधानी धरानलाई बनाउन धरानबासीहरुले फरक शैलीको आन्दोलन गर्ने चेतावनी दिएका छन् । आन्दोलनको स्वरुप परिवर्तन गर्ने निर्णयसँगै धरानमा महिनौ देखी जारी रिले अनशन बिहिबार अन्त्य भएको छ ।
‘सुनसरीको धरानलाई प्रदेश नं १ को राजधानी बनाउ’ अभियान स्वतन्त्र समितिको अगुवाइमा पौष ७ गते देखि धरानको भानुचौकमा रिले अनशन जारी थियो । अनशनकारीलाई सुनसरी क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य प्रदिप भण्डारीले पानी पिलाएर अनशन तोडाएका थिए ।

त्यस क्रममा भण्डारीले सुनसरीको धरान १४ जिल्लालाई पायक पर्ने भएकाले नेपाल सरकारले निर्णय सच्याई धरानलाई राजधानी बनाउन आग्रह गरेका थिए ।

अनशन कार्यक्रम सकिए लगतै समितिले थप आन्दोलनको कार्यक्रमको घोषणा समेत गरेको छ । जस अनुसार बिहिबारै मन्त्री परिषदको १ नं प्रदेश राजधानी सम्बन्धि निर्णय जलाउने, राजनितिक दलहरुसंग अन्तकृया गर्ने, धरान १ नं प्रदेशको राजधानी किन उपयुक्त छ भनि १ मिनेटको भिडियो तयार गरी सबै सांसद तथा शिर्ष नेतृत्वहरुमा पत्र सहित पठाउने, लबिङ गर्ने र आवश्यकता अनुसार कडा दवावमुलक कार्यक्रमहरु तयार गरी अघि बढ्ने लगायतका कार्यक्रमहरु रहेका छन् ।








