वीपी प्रतिष्ठानमा लूट मच्चाउनेलाई कसले गर्ने कारवाही ?

साउन २८, सुनसरी । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले गत वर्षको असोज २४ गते नेपाल समाचारपत्रमा एउटा बोलपत्रको सूचना प्रकाशित गर्यो । Full High Definition Endoscopic camera with Integrated, Innovative Visualization Technology चाहियो । त्यसको ८ महिना पछि ०७५ जेठ २७ गतेको निर्णय अनुसार टेण्डर रद्द गरिएको अर्को सुचना आयो ।

गत वर्ष एमआरआई १.५ टेस्ला उपकरण खरिदमा अनियमितता भएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान नै गर्नुपर्यो । जसको अहिलेसम्म टुँगो लागेको छैन । एमआरआई खरिद प्रक्रिया रद्द भइसकेको छ ।

यी उदाहरण मात्र हुन् ।

पछिल्ला १ वर्षयता प्रतिष्ठानले खोलेका अधिकांश टेण्डर दोहोरिएका छन्, रद्द गरिएका छन् र विवादित भएका छन् । आखिर किन प्रतिष्ठानका टेण्डरहरु खोलिँदै रद्द हुन्छन् ? किन विवादमा आउँछन् ? हामीले खोतल्ने प्रयास गर्यौं ।

    यसका लागि केहि सप्लायर्स, प्रतिष्ठानका केहि जिम्मेवार पदमा आसिन कर्मचारीबाट बुझ्ने प्रयास गर्यौं । साथमा स्वास्थ्य मन्त्रालयका लेखा शाखाका कर्मचारीबाट समेत बुझ्ने प्रयास गर्यौं ।

सप्लायर्स, प्रतिष्ठानका कर्मचारी, स्वास्थ्य मन्त्रालयका कर्मचारीको भनाईलाई अध्ययन गर्दा प्रतिष्ठानका दुई जिम्मेवार कर्मचारीका कारण यस्तो भएको रहेछ । प्रतिष्ठानको खरिद समितिका सदस्य सचिव रमेश पण्डित र मुल्याङकन समितिका सदस्य को जोडी अचम्मको देखियो । उनीहरु सँगै हिँड्दैनन, खाँदैनन् तर, प्रतिष्ठानले आब्हान गर्ने हरेक टेण्डर प्रक्रियामा सँगसँगै हुन्छन् । उनीहरुको एउटै बोली हुन्छ ।

दुईको मिलेमतोमा कसलाई टेण्डर दिने कसलाई नदिने निर्णय हुन्छ । कसको स्पेसिफिकेशन मिल्छ तय हुन्छ । अनी त्यहि अनुसार टेण्डर स्विकृत गर्ने नगर्ने निर्णय सम्म उनीहरुकै हातमा हुन्छ ।

खरिद र मुल्याङकन समितिका अन्य सदस्यहरुको काम पण्डित र साहको निर्देशन अनुसार गरिएको निर्णय सदर गर्ने मात्र हो ।

दुई ब्यक्तिको मनोपोलीले प्रतिष्ठानको खरिद तथा मुल्याङकन समिति विवादित बन्दै गएको छ भने, प्रतिष्ठानको सेवा समेत प्रभावित बन्दै गएको छ ।

आफ्नालाई हात बाहिरका लाई लात

ठेकेदार र सप्लायर्ससँग सेटिङ गरेर लाखौं कमिसन खान पल्केका यी दुईले प्रक्रिया विपरित टेन्डर स्विकृत गर्ने मात्र हैन, सप्लायर्सकै चाहनामा टेण्डर खोल्छन्, अनी उनीहरुलाई नै पार्छन् । ‘खरिदका सदस्य सचिव पण्डितले आफ्नो पायक पर्नेलाई टेण्डर पार्नुपर्यो भने एकै दिनमा मुल्यांङकन गरेर दोब्बर मुल्यमा टेण्डर स्विकृत गर्छन् । आफ्नाको टेण्डर नपर्दा महिनौ झुलाएर वार्गेनिङ गर्छन्, अनी नमिलेको खण्डमा अनेक कारण देखाएर रद्द गर्छन् ।’ प्रतिष्ठानमा वर्षौदेखि विभिन्न सामान सप्लाइ गर्दै आएका एक ठेकेदारले भने ।

नियत मै छ खोट

रमेश पण्डित र विकास साहको मिलिभगतमा चाहेको बेला टेण्डर खोल्ने नचाहेको बेला महिनौ लगाइदिँदा टेण्डरमा भाग लिनेलाई घाटा भइरहेको छ । ती सप्लायर्सका अनुसार टेण्डर विड गर्दा लागेको पैसा, फर्म र त्यहाँ खर्चिएको पैसा त्यसै खेर जान्छ । ‘प्रक्रिया पुरा नभएर टेण्डर रद्द हुँदा दुखः लाग्दैन, तर यहाँ जानीजानी गलत नियत राखेर टेण्डर रद्द हुन्छ । यस्ता कर्मचारीलाई पनि कारवाही गर्ने प्रावधान आउन आवश्यक छ ।’ उनले भने ।

पुराना थन्काउँदै नयाँ किन्दै

प्रतिष्ठानले विगत १ वर्षयता पुराना उपकरण मर्मत गरेको छैन । अहिले कुनै उपकरण विग्रियो भने त्यसलाई कि कवाडीमा बेचिन्छ, कि गोदाममा थन्क्याइन्छ । यसको उदाहरण हेरौं ।

केहि समय अगाडी प्रतिष्ठानको भेन्टिलेटर विग्रिए, सामान्य मर्मत गरेर पुनः सञ्चालन गर्न सकिने भएपनि प्रतिष्ठान ब्यवस्थापनले ती भेन्टिलेटर मर्मत गर्नुको सट्टा नयाँ किन्ने काम गर्यो । अहिले पुरानालाई थन्क्याएर काठमाडौंको मेडिकल सलुसनबाट १० ओटा नयाँ भेन्टिलेटर खरिद गरिएको छ । यस्तै करिब १ करोड बराबरको माइक्रोस्कोप विग्रियो । सामान्य पावर सप्लाई विग्रिएर थन्किएको माइक्रोस्कोपलाई बनाउनुको सट्टा नयाँ किन्ने तयारी भर्इरहेकाे छ । एमआरआई १.५ टेष्ला खरिद प्रकरणमा पनि त्यहि भएको हो ।

प्रतिष्ठानको इमरजेन्सी अगाडी लाखौं मुल्यका फर्निचर कुहिएर बसेका छन्, त्यसलाई संरक्षण गर्ने योजना प्रतिष्ठानले गर्न सकेको छैन, बरु प्रतिष्ठानका पदाधिकारीका बंगलामा नयाँनयाँ फर्निचर र घरायसी सामान धमाधम भित्रदैछ ।

औषधि देखि सोडासम्ममा भ्रष्टाचार

प्रतिष्ठान स्रोतका अनुसार उनीहरुले प्रतिष्ठानका लागि चाहिने मेडिकल उपकरण, औषधी, स्टेशनरी, अफिस गुड्स, क्लिनिङ देखि लुगाधुने केमिकलसम्मको खरिदमा चलखेल गरी आफ्ना नजिकका (सप्लायर्स जसले मोटो रकम कमिसन दिन्छन्) लाई पार्ने गरेका छन् ।

खरिद समितिका संयोजक पण्डित प्रतिष्ठानका उपकूलपति डा. राजकुमार रौनियारका खास मान्छे हुन् । यीनले ठाडै सप्लायर्स र ठेकेदारलाई वार्गेनिङ गर्ने गरेको एक सप्लायर्सले नाम नबताउने शर्तमा भने । ‘के गर्ने काम गर्नुपर्छ, दुइ चार पैसा कमाउन खर्च नगरी काम पाइन्न, पण्डित र साहले हैरान बनाए ।’

कोटेसनमा खरिद गरिन्छ सामान

रमेश पण्डितले खरिद समितिमा रहेर अकूत सम्पत्ति आर्जन गरेका छन् । अहिले प्रतिष्ठानले खरिद गर्ने प्रायः सामान कोटेसनमा खरिद गर्ने गरिएको छ । ५ लाख भन्दा बढिको सामान खरिद गर्दा टेण्डर प्रकृयामा जानुपर्ने भएकोले पण्डितले प्रतिष्ठानमा सूचिकृत भएका तीन सप्लायर्सलाई कोटेसन माग्ने अनी जसले बढि कमिसन दिन्छ उसैबाट सामान खरिद गर्ने गरेका छन् ।

पूर्व कर्मचारी नै सप्लायर्स

पण्डितको यो नितिगत भ्रष्टाचारमा साथ दिएका छन् मेडिकल माफिया ब्यापारी वेणु कोइरालाले । कुनै बेला प्रतिष्ठानकै कर्मचारी रहेका उनले त्यहाँबाट राजीनामा दिएरै औषधी उपकरण सप्लाई गर्ने ब्यापार थालेका हुन् ।

उनले बबी एण्ड सन्स सप्लायर्स, ग्लोवल फर्माको कन्र्सन, हस्पिकेर इन्टरनेशनल, तिम्सिना सर्जिकल सप्लायर्स, सुस्वास्थ्य मेडिकल हल, रजक फर्मा डिष्टिब्यूटर्स लगायत उनी निकटका ११ ओटा फर्मबाट प्रतिष्ठानमा कारोबार गर्ने गरेका छन् । वेणु र पण्डितको कमाउ धन्धालाई प्रसय दिएका छन् प्रतिष्ठानका अस्पताल निर्देशक डा. गौरीशंकर शाहले ।

लुगाधुने केमिकलको अभाव

पछिल्लो समय प्रतिष्ठानमा सरसफाइको सामान अभाव छ । केहि महिना अगाडी प्रतिष्ठानले लुगाधुने केमिकलको टेण्डर आब्हान गर्यो । टेण्डरमा एउटा मात्र फर्मले भाग लिएको भन्दै टेण्डर रद्द गरियो । त्यसपछि पुनः दोस्रो पटक टेण्डर आब्हान गरियो, सबै मापदण्ड पुरा गरेर सप्लायर्सले टेण्डर मा भाग लिए तर, अहिले अन्तिम अवस्थामा विना कारण टेण्डर रद्द गर्ने चलखेल भइरहेको छ ।

प्रतिष्ठानका विरामीले प्रयोग गर्ने कपडा विशेष प्रकारको केमिकल हालेर धुने गरिएपनि अहिले केमिकल अभावका कारण सामान्य सर्फ, सोडा र व्लिचिङ पाउडर प्रयोग गरेर कपडा धुने गरिएको छ । रमेश पण्डित र विकास साहको दवावमा टेण्डर रद्द गर्ने चलखेल हुन थालेपछि प्रक्रिया पुरा गरेर टेण्डरमा आएका सप्लायर्सहरु अचम्मित भएका छन् । केमिकल खरिदमा प्रतिष्ठानमा पदाधिकारीले सिफारिस गरेपनि पण्डित र साहका कारण रोकिएको स्रोतको दावि छ ।

सर्फले लूगा धुँदा विरामीलाई असर

प्रतिष्ठानका एक चिकित्सकका अनुसार सामान्य सर्फ, सोडा र व्लिचिङ पाउडरले अस्पतालका कपडा धुँदा विरामीलाई संक्रमण हुने खतरा हुन्छ । ‘सर्जरी गरेका र गम्भिर प्रकृतिका विरामीलाई संक्रमण हुने संभावना हुन्छ ।’ एक चिकित्सकले बताए ।

केमिकल खरिदमा पण्डित र साह नजिकको सप्लायर्सले हालेको टेण्डर नपरेपछि अहिले दोस्रो पटक टेण्डर रद्द गर्ने नियत राखेका छन् ।पण्डित र साहले आफ्नो स्वार्थपुर्तिका लागि प्रतिष्ठानमा उपचाररत सयौं विरामीको स्वास्थ्यमा खेलवाड गरेका छन् ।

कपडा खरिदमा मनपरी

प्रतिष्ठानले हरेक वर्ष विरामीको वेडका लागि डसना, तन्ना सिरानी लगायत खरिद गर्छ । प्रत्येक वर्ष करिब ३०–४० लाखको कपडा खरिद गर्ने गरिएकोमा अहिले १ करोड रुपैंयाले पनि कपडा खरिद गर्न पुग्दैन । एक वर्षमै कपडाको मुल्य दोब्बर भएर हैन, केमिकल प्रयोग नगरी सोडा र ब्लिचिङ पाउडरले कपडा धुँदा कपडा खिइएर फाट्दै गयो ।

सामान खरिदमा मनपरी

प्रतिष्ठानले प्रशासनिक कामका लागि करोडौं मुल्यका स्टेशनरी, अफिस गुड्स, क्लिनिङका सामान खरिद गर्छ । ती सामानमा समेत उनीहरुले सप्लायर्सबाट राम्रो नजराना लिन्छन् ।

सामानको स्पेसिफिकेशन बनाउने बेलैमा पण्डितले आफ्ना नजिकका सप्लायर्सको डिटेल्स मिल्ने गरी बनाउने गरेका छन् । यसका अलावा कतिपय स्टेशनरीका सामानहरु विल बमोजिम नआउने, आइहालेमा कमसल र बढि दर रेटमा लिने गरेको स्रोतको दावि छ । वलपेन, पाइलटपेन देखि सामान्य किचनका सामान खरिदमा समेत घोटाला हुन्छ ।

सप्लायर्सलाई दुखः दिने काइदा

खरिद तथा मुल्यांकनमा पण्डित र साहले कतिसम्म गरेका छन् भने, आफ्ना वाहेकको सप्लायर्सले मात्र टेण्डर भरे अथवा उसको मात्र मापदण्ड पुगे त्यस्तो सप्लायर्सलाई अनेक वहाना बनाएर पत्र काट्ने, मुल्याङकन समयमा नगर्ने र टेन्डर रद्द गर्ने सम्मका कूकृत्य गरेका छन् । ‘टेण्डर पर्छ भनेर नाफा कम राखेर सबै मापदण्ड पुरा गरेर टेण्डर भर्दापनि अन्तिममा अनेक वहाना बनाएर रद्द गरिदिन्छन् ।’ एक मेडिकल सप्लायर्सले भने–‘उनीहरुलाई टेण्डर रद्द गर्ने अधिकार हुँदा हामी ब्यापारीलाई पनि के कति कारणले रद्द भयो सोध्ने अधिकार हुनुपर्छ ।’ उनको तर्क छ ।
उपकूलपतिका दाहिने हात

संयोजक पण्डित र मुल्यांकन समिति सदस्य साहका अगाडी उपकूलपति वाहेक प्रतिष्ठानका पदाधिकारी समेत कायल छन् । ‘उपकुलपतिका दाहिने हात भनेकै उनीहरु हुन्, उनीहरुकै इशारामा टेण्डर स्विकृत गर्ने नगर्ने निर्णय हुन्छ । मुल्यांङकन समितिका संयोजक समेत केहि गर्न सक्दैनन् ।’ प्रतिष्ठानका एक कर्मचारीले नाम नबताउने शर्तमा भने ।

डा. विकास साह जो फरेन्सिक विभागका डाक्टर भएपनि पछिल्लो समय उपकूलपति डा. राजकुमार रौनियारका खास मान्छे हुन् । साहलाई उपकुलपतिले नै मुल्यांकन समितिमा राखिदिएपछि उनको चुरीफुरी बढेको छ ।

भन्नमा उनी आफु र उपकुलपतिको कुनै साइनो नभएको भन्छन्, तर उपकुलपतिकै निर्देशनमा सप्लायर्ससँग वार्गेनिङ गर्ने, मिडियटरको भूमिका निर्वाह गर्ने काम गर्ने गरेको स्रोतको दावि छ ।

मकालु खबरले साहसँग यो विषयमा बुझ्ने कोशिष गर्दा उनले आफ्नो करियर अझै ३० वर्षको रहेकोले यस्ता कुरामा नअल्झने बताए । ‘कसले के भन्छ मलाई मतलब छैन, तपाईलाई कसले प्रभावमा पार्यो (पैसा दिएर लेख्न लगायो) र मलाई सोध्दै हुनुहुन्छ ?’ उनले भने ।

स्वास्थ्य मन्त्रालयमा पनि खराब रेकर्ड

एसियाकै उत्कृष्ट अस्पताल भनेर प्रतिष्ठानलाई उदाहरणका रुपमा प्रस्तुत गर्छौं । तर, प्रतिष्ठानको भ्रष्टाचार र बेथिति यतिसम्म बढेको छ की, स्वास्थ्य मन्त्रालयका कर्मचारी समेत आजकल वीपी प्रतिष्ठानको नाम लिन अन्कनाउँछन् । ‘हामीले समयमै बजेट फच्र्यौट गर्नुस भन्दा उहाँहरु भोली भोली भन्दै टार्छन् । खाली बजेट बजेट मात्र भनेर हुन्न, काम गर्नुस भन्दा टेर पुच्छर लगाउँदैनन् ।’ एक अधिकारीले भने ।

प्रतिष्ठानको भ्रष्टाचार देखेर नै होला यसपटक सरकारले विगतको भन्दा कम बजेट दियो । ‘एउटै टेण्डर बारम्बार खोल्नु, रद्द गर्नु भनेको ठिक हैन, मापदण्ड बनाएर टेण्डर आब्हान गरेपछि ठेकेदारले त्यहि मापदण्डलाई टेकेर टेण्डर भरेको हुन्छ । यसमा मुल्यांकन समितिले मापदण्ड पुरा गरेको नगरेको, कम लागत मुल्य कसको छ आदी हेरेर टेण्डर खुलाउने हो । तर, प्रतिष्ठानमा यसरी काम भएको पाइँदैन ।’ स्वास्थ्य मन्त्रालयका अधिकारीले भने ।

पूर्वको रेफरल सेन्टर भनेर सरकारले समेत मनग्य बजेट दिने गरेको वीपी प्रतिष्ठानको बेरुजु प्रत्येक वर्ष बढ्दो छ । प्रतिष्ठानका पदाधिकारीको भ्रष्टाचारको विषयमा मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति सुद्धिकरण, राष्ट्रिय सतर्कता केन्द्र, प्रधानमन्त्री कार्यालयमा समेत दर्जनौ उजुरी परेका छन् । तर, अहिलेसम्म सुनुवाइ हुन सकिरहेको छैन ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *