बाबुरामलाई राप्रपाले सहयोग गर्ने, कमल थापालाई नयाँ शक्तिले

मंसिर ५, काठमाडौँ । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टी र कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीबीच गोरखा र मकवानपुरमा चुनावी तालमेल गर्ने सहमति भएको छ । सहमतिअनुसार दुवै पार्टीले गोरखा र मकवानपुरमा एक–अर्को पार्टीका उम्मेदवारलाई सघाउने छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गोरखा क्षेत्र नं २ मा नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईलाई सहयोग गर्ने र मकवानपुर क्षेत्र नं १ मा राप्रपाका अध्यक्ष कमल थापालाई नयाँ शक्ति पार्टीले सहयोग गर्ने समझदारी भएको राप्रपाका प्रवक्ता भुवन पाठकले जानकारी दिए ।

नयाँ शक्ति पार्टीले मकवानपुर क्षेत्र नं १ मा प्रह्लाद लामिछानेलाई उम्मेदवार बनाएको भए पनि दुई पार्टीकाबीचमा भएको समझदारीबाट उनको उम्मेदवारीलाई स्थगित गरिएको छ । गोरखा क्षेत्र नं २ मा राप्रपाकातर्फबाट उम्मेदवारी दिइएको थिएन ।

यस्तै, गोरखा–२ मा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन् । भट्टराईलाई कांग्रेसको समेत समर्थन छ । अब गोरखा–२ मा राप्रपाले समेत भट्टराईलाई सहयोग गर्नेछ । यता कांग्रेससमेतको समर्थनमा मकवानपुर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका थापालाई अब बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले पनि चुनाव जित्न सघाउने छ ।

नयाँ शक्तिका राजनीतिक सम्बाद समितिका संयोजक देवी प्रसाद ओझा र राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले संयुक्त विज्ञप्ती जारी गर्दै गोरखा र मकवानपुरमा चुनावी तालमेल भएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − six =