पुनः निर्वाचन स्वीकार्य हुँदैन: एमाले


किशोर खनाल, भरतपुर । नेकपा एमाले चितवनले भरतपुर महानगरको वडा नं १९ को पुनः निर्वाचन कुनै हालतमा स्वीकार्य नहुने बताएको छ । वडा नं १९ को मतगणनाको क्रममा मध्यरातमा मतपत्र च्यातिएको विषयलाई लिएर सोमबार दिउँसो भरतपुरको चौबिसकोठीमा गरेको विरोध सभामा एमालेले आफ्नो जित सुनिश्चित भइसकेको दावी गर्दै मतपत्र च्यातेर पुनः निर्वाचन गराउने षडयन्त्र नगर्न चेतावनी दिएको छ ।
सभामा चितवन जिल्ला अध्यक्ष कृष्णभक्त पोख्रेलले भने, ‘माओवादी केन्द्रले मतपत्र च्यातेर विजयी हुने दिवास्वप्न नदेखे हुन्छ । पूर्वबाट सूर्य उदाइसकेको छ, यहाँ पनि आज (सोमबार) उदाउने निश्चित थियो । तर षडयन्त्रको तानाबाना बुनिए ।’ उनले पुन: मतगणना गर्न निर्वाचन कार्यालयलाई अनुरोधसमेत गरेका छन् ।
‘पुन: निर्वाचन गराउने षडयन्त्र भइरहेको छ, कुनै षडयन्त्र स्वीकार्य हुँदैन’ अध्यक्ष पोख्रेलले भने, ‘जनताको अभिमत कसैले च्यातेर च्यातिने होइन, यो अभिमत नमान्ने माओवादीको पुरानै शैली हो ।’ उनले भरतपुर महानगरपालिकामा एमालेको जित सुनिश्चित भएको समेत बताए ।
सभामा एमाले नेता तथा पूर्वमन्त्री केशवलाल श्रेष्ठले वडा नं १९ को मतगणना गर्नुपर्ने बताए । उनले भने, ‘कुनै हालतमा पुनः चुनाव हुँदैन, पुनः गणना हुन्छ र एमालेले विजयी हासिल गर्छ ।’ उनले माओवादीलाई पुनः चुनावको नाटक नगर्नसमेत चेतावनी दिएका थिए । ‘माओवादीले हार्ने निश्चित भएपछि यस्तो हर्कत गरिनु भनेको जनताबाट झन्झन् तिरस्कृत हुँदै जानु हो’ उनले भने ।
नेकपा एमालेका पूर्व जिल्ला सचिव विजय सुवेदीले महानगरमा माओवादीले हार्ने निश्चित भएपछि पुरानै धाँधली शैलीमा माओवादी गएको आरोप लगाएका थिए । उनले भने, ‘अहिले लोकतन्त्र छ, राणा शासन र पञ्चायती व्यवस्था छैन । मतपत्र च्यातेर सत्तामा जाने दुस्साहस नगरे हुन्छ । यस्तो कार्य राणाशासनमा कोतपर्व र भण्डारखाल पर्वमा मात्र हुने गरेको थियो ।’
एमालेका जिल्ला सचिव पार्वती रावलले एमालेको जित सुनिश्चित हुने देखिएपछि माओवादी केन्द्रले सहन नसकेर मतपत्र च्यातेको बताइन् ।
‘छापामार शैलीमा मतपत्र च्यातियो’
नेकपा एमाले चितवनले माओवादी केन्द्रका कार्यकर्ताले छापामार शैलीमा मतपत्र च्यातेको आरोप लगाएको छ ।
सोमबार बिहान एमाले पार्टी कार्यालय भरतपुरमा पत्रकार सम्मेलन गरी एमालेले माओवादी केन्द्रले हार्ने निश्चित भएपछि मध्येरातमा छापामार शैलीमा मतपत्र च्यातेर लोकतन्त्रको धज्जी उडाएको आरोप लगाएको छ । पत्रकार सम्मेलनमा एमालेका जिल्ला अध्यक्ष कृष्णभक्त पोख्रेलले माओवादी केन्द्रका नेताहरुको नामै किटेर मतगणना भइरहेको बेला माओवादीका कर्मचारीमात्र बस्ने ठाउँमा पुगेर मतपत्र खोसेर च्यातिएको बताए ।
उनले मतगणनास्थलमा अप्रिय घटना हुन्छ भन्ने सूचना दिँदा पनि निर्वाचन अधिकृत र प्रहरी प्रशासनको बेवास्ताले माओवादी कार्यकर्ताले मतपत्र च्यात्ने हर्कत देखाउन सफल भएको बताए । एमाले चितवनले मतपत्र च्यात्ने माओवादी कार्यकर्तालाई कानुनी कारबाही गरी तत्काल मतगणना सुरु गर्न माग गरेको छ ।
‘तत्काल फेरि मतगणना गरिनुपर्छ । छापामार शैलीमा जुन हर्कत गरिएको छ, यो सत्ताको आडमा गरिएको अपराधिक कर्म हो । मतपत्र च्यातेर लोकतन्त्रमाथि ठूलो खेलवाड गर्ने दोषीहरुलाई कडा कारबाही हुनुपर्छ’ अध्यक्ष पोख्रेलले भने, ‘च्यातिएको मतपत्र अलग राखी बाँकी मतपत्रहरु तत्काल गणना हुनुपर्छ ।’ एमालेले जित्ने सुनिश्चित भएपछि माओवादीले यस्तो कुकार्य गरेको उनले बताए । रेणु दाहालको हार पक्का हुने देखिएपछि योजनाबद्ध ढंगबाट मतपत्र च्यात्ने काम माओवादीबाट भएको उनको भनाइ थियो ।
पत्रकार सम्मेलनमा एमालेले जारी गरेको विज्ञप्तिमा च्यातिएको मतपत्रको बारेमा सञ्चारकर्मीलाई भिडियो खिच्नसमेत रोक लगाउनुले घटना नियोजित भएको आशंकासमेत गरिएको छ । एमालेले विज्ञप्तिमा माओवादीले १९ नम्बर वडाको गणना सकिँदा अपेक्षित मत पाउन नसकेपछि हार्ने निश्चित भएर मतपत्र च्यातेको आरोप लगाएको छ ।
कांग्रेस र माओवादी केन्द्र पुनः मतदानको पक्षमा
भरतपुर । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र पुनः मतदानको पक्षमा देखिएका छन् । कांग्रेस र माओवादी केन्द्रले छुट्टाछुटै विज्ञप्ति निकालेर विवाद भएको भरतपुर महानगरको वडा नं १९ को पुनः मतदान हुनुपर्ने जनाएका छन् ।

नेकपा माओवादी केन्द्रले सोमबार जारी गरेको विज्ञप्तिमा कानुनअनुसार विवादित रहेको वडामा पुनः मतदान गरिनुपर्ने बताइएको छ । ‘स्थानीय तह २०७३ को दफा ४९ र ५० बमोजिम सम्बन्धित मतदान केन्द्रमा तत्काल पुन मतदान गर्न माग गर्दछौँ’ माओवादी केन्द्रका जिल्ला इन्चार्ज ईश्वरी भट्टराईद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘मतगणना चलिरहेको बेलामा हाम्रो उम्मेदवारले मतान्तर घटाउँदै विजयीतर्फ अघि बढिरहेको समयमा एमालेका मतगणना प्रतिनिधिबाट मतपत्र कव्जा गरी च्यात्न लागेपछि हाम्रो पार्टीका मतगणना प्रतिनिधिले रोक्न खोज्दा केही मतपत्र च्यातिएको हो ।’
विज्ञप्तिमा प्रहरी प्रशासनबाट गिरफ्तार गरिएका पार्टीका नेताहरुलाई छोड्नसमेत माग गरिएको छ ।
त्यस्तै नेपाली कांग्रेसका सभापति जीतनारायण श्रेष्ठद्वारा जारी गरिएको विज्ञप्तिमा पनि वडा नं १९ को पुन मतदान प्रक्रिया सुरु गर्न माग गरिएको छ । विज्ञप्तिमा घटनाको सत्य कुरा बाहिर ल्याउन र दोषीमाथि कारबाही गर्न पनि माग गरिएको छ ।








