बाढी प्रभावित क्षेत्रमा उद्दारमा सहयोग गर्न सरकारको अपिल

काठमाडौं, साउन २८ । मुलुकका विभिन्न स्थानमा ठूलो धनजनको क्षती हुनेगरि बाढी पहिरो र डुवान भएपछि सरकारले प्रभावित क्षेत्रमा उद्दारमा सहयोग गर्न अपील गरेको छ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले देशका विभिन्न भागमा बाढी र पहिरोको चपेटामा परेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न र राहत उपलब्ध गराउन सम्वन्धित जिल्लाका स्थानीय प्रशासनहरूलाई निर्देशन दिनुभएको छ ।

यसैबीच, देशैभरि बाढी पहिरोको अवस्थाका बारेमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री सहित सुरक्षा प्रमुख तथा गृहसचिवलाई बालुवाटारमा बोलाउनु भएको छ । बाढीले जनधनको क्षति भएपछि त्यसको उद्धारका लागि विहानै निर्देशन दिएका प्रधानमन्त्री देउवाले उद्धारका थप उपायहरु अपनाउन विषयमा छलफल गर्न साँझ साढे सात बजेका लागि बैठक डाक्नु भएको हो ।

यता गृहमन्त्री जनार्दन शर्माले पनि बाढी पहिरोका कारण मृत्यु हुनेहरु प्रति समवेदना व्यक्त गर्दै उद्धार कार्य तिव्र पार्न निर्देशन दिनुभएको छ । आज गृहमन्त्रालयमा पत्रकारहरुसँग उहाँले बाढी प्रभावित क्षेत्रहरुमा जानका लागि विमान स्थलमा खाद्द तथा उद्धार सामाग्रीहरु स्टेन्डबाई राखे पनि मौसम प्रतिकुल भएको कारणले आफु जान् नसकेको बताउनुभयो ।

यसैबीच गृह मन्त्रालयले स्थानीय प्रशासनको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खोज, उद्धार र राहतका लागि परिचालित भएको भन्दै सहयोग गर्न सबैमा आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता दीपक काफ्लेले उद्दार र राहत कार्यमा सहयोग पु¥र्याउन र समस्यामा परेका परिवारलाई दैनिक जीवनमा आवश्यक पर्ने खाद्यान्नलगायतका सामग्री उपलब्ध गराउने कार्यमा आ–आफ्नोतर्फबाट सहयोग गर्न उद्योगी, व्यवसायी, सामाजिक क्षेत्रमा क्रियाशील सङ्घसंस्था, समाजसेवी र सञ्चारमाध्यम सबैमा सरकारले आग्रह गरेको बताउनुभयो ।

देशका विभिन्न नदीको जल सतह बढिरहेको र केही नदीको जल सतह खतराको तहभन्दा माथि गएको हुँदा सम्बन्धित सबैले आ–आफ्नोतर्फबाट उच्च सतर्कता अपनाउन हुनसमेत मन्त्रालयले अनुरोध गरेको छ । यसैगरी, जल तथा मौसम विज्ञान विभागले विज्ञप्ति जारी गरी दुई दिन भारी वर्षा हुने भन्दै सतर्क रहन आग्रह गरेको छ । मनसुन सक्रिय भएसँगै देशैभर बदली र वर्षा जारी छ ।

यसैबीच, राष्ट्रिय जनता पार्टी नेपालले देशका विभिन्न ठाउँमा ठाउँमा आएको बाढी पहिरोमा परि ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति तथा घाइतेको तत्काल उपचार गर्न माग गरेको छ । राजपा अध्यक्ष मण्डलको आज बसेको बैठकले मृतकको परिवार, घाइते र धनमाल गुमाएकाहरुको युद्धस्तरमा बचाउन र उद्धार गरी राहत प्रदान गर्न माग गरेको संयोजक महन्थ ठाकुरले जानकारी दिनुभयो ।

धनमालको क्षति यकिन गरी क्षतिपूर्ति दिन, बाढी र पहिरोले गम्भीर रुपमा प्रभावित स्थानहरुलाई बढीग्रस्त घोषणा गरी आपतकालिन विपद व्यवस्थापन गर्न पनि राजपा नेपालले माग गरेको छ । यसैबिच, नेकपा माओवादी केन्द्रले वर्षासँगै आएको बाढी पहिरोबाट प्रभावित भएका प्रति दुःख व्यक्त गरेको छ । साथै बेपत्ताको खोजी तथा उद्दार र राहतको लागि सरकारसँग जोडदार माग गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =