कुवेतको अस्पतालमा आफ्नो जीवनसँग लड्दै चापागाई

कुवेत । विदेश गएर टन्न कमाउने र सुन्दर भबिष्यको सपना देखेर कुवेत पुगेका नवलपरासी बर्दघाटका भागिरथ चापागाईको जीवनमा अहिले कालो बादल लागेको छ । वैदेशिक रोजगारीमा कुवेत आएका एक नेपाली कुवेतको अस्पतालमा आफ्नो जीवनसँग लडिरहेका छन् ।

करिव डेढ वर्ष अघि कुवेत आएका चापागाई गत जनवरी ७ का दिन कुवेत स्थित महाबुल्ला भन्ने ठाउँमा सडक पार गर्ने क्रममा गाडीले ठक्कर दिएपछि गम्भीर घाइते भएका थिए । तत्काल अदान अस्पताल भर्ना भएका भागिरथको २ महिना आईसीयुमा उपचार चलेको थियो । हाल सोही अस्पतालको १२ न. वार्डमा उपचार जारी छ । तर, बोल्न, खान तथा हिँड्न नसक्ने गरी एकदमै नाजुक अवस्थामा रहेका भागिरथलाई डाक्टरले स्वदेश फर्काउन सल्लाह दिएको लुम्बिनी समाज नेपाल कुवेतका महासचिव रुपेन्द्र बिक्रम हमालले बताउनु भयो । ‘वार्डमा सारेपछि हल्का हिड्ने बोल्ने, चल्ने र खान समेत थाल्नु भएको थियो,’ उनले भने-‘अहिले त सबै कुरा बन्द भएको छ ।’
उनलाई ज्यादा चिन्ताका कारण अबस्था नाजुक बन्दै गएको भन्दै डाक्टरहरुले नेपाल फर्काउन सुझाब दिएको हमालले बताउनु भयो । अहिले आवश्यक कागजी प्रक्रिया पूरा गरी छिट्टै नेपाल परिवारको साथमा पुर्याउन पहल शुरु समेत भएको छ ।
भागीरथ अस्पताल भर्ना भएदेखि प्रत्यक्षरुपमा सहयोग पुर्याउँदै आएको लुम्बिनी समाज नेपाल कुवेतका महासचिव रुपेन्ऽ बिक्रम हमाल र सकृय सदस्य श्रीकृष्ण भण्डारीले लुम्बिनी समाज र दुतावास कुवेतको सहयोगमा उनको दुर्घटना पर्दा हराएको पासपोर्ट बनाउनेदेखि भिसा नविकरण गर्नेसम्मको काम गराइसकेका छन् ।
लुम्बिनी समाजले भागिरथ सहयोग एक महिने अभियान कुबेतमा तीव्र पारेको छ भने कुवेतमा कार्यरत नेपालीहरुबाट हालसम्म दुई लाख पचास हजार संकलन भएको अभियानका संयोजक रुपेन्द्र बिक्रम हमालले जानकारी गराएका छन ।








