नारायणगढ मुग्लिन सडक खुल्यो

किशोर खनाल, भरतपुर । बिहीबार रातिबाट अवरुद्ध नारायणगढ–मुग्लिन सडक शुक्रबार साँझ ६ः३० बजेबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालय भरतपुरका प्रवक्ता दीपक श्रेष्ठले अवरुद्ध मुग्लिन–नारायणगढ सडक खुलेको बताए । उनले भने, ‘प्रहरीको सक्रियतामा अवरुद्ध सडक साँझबाट दुईतर्फी रुपमा सडक खुलाइएको छ ।’ प्रहरीले सडक–खण्डमा यात्रा गर्दा सुरक्षा सतर्कता अपनाउन पनि सर्वसाधरणलाई आग्रह गरेको छ । इच्छाकामना गाउँपालिका वडा नं.६ स्थित कालीखोलामा बिहीबार राति खसेको पहिरो पन्छ्याएपछि सडक दुईतर्फी रुपमा संचालनमा आएको हो । सडक खुलेपछि रोकिएका हजारौं सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन् ।
नारायणगढ मुग्लिन सडक खण्डअन्तर्गत कालिखोलानजिक खसेको पहिरोले प्रहरीको भ्यान बगाउँदा दुई प्रहरीको मृत्यु भएको छ । भ्यानसहित २ प्रहरी बेपत्ता भएका छन् । पहिरोले एउटा ट्रकसमेत बगाएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनमा कार्यरत प्रहरी सहायक निरीक्षक निश्चलकुमार तामाङ र प्रहरी जवान दीपककुमार मास्केको मृत्यु भएको छ । धादिङ खनिया बास गाउँपालिका ४ निवासी तामाङ २९ वर्षका थिए । बारा हरैया ६ वस्ने मास्के ३० वर्षका थिए ।
प्रहरी जवानहरुमा गोर्खा मकैसिंह १ वस्ने वर्ष ३१ प्रहरी जवान लिलबहादुर चेपाङ र तनहु रुपाकोट ३ बस्ने वर्ष २१ को प्रहरी जवान सन्दिप कार्की बपत्ता भएका छन् । दुबै प्रहरी इलाका प्रहरी कार्यालय मुग्लिनमा कार्यरत थिए । घाइते ट्रक चालक रामकुमार लामाको अवस्था सामान्य र सहचालक मकवानपुर मनहरी बस्ने बर्ष २७ को सानु ब्लोन अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । प्रहरीसँग रहेको एसएलआर २ नाल, त्यसमा लाग्ने गोली १०० राउण्ड, चाईनिज हत्कडी १ थान तथा संचार साधन सेट हराएकोे छ ।








