विद्यार्थीले बनाए चमत्कारिक विज्ञानका आविस्कार !

धरान, माघ १८ । ठूला मिडियामा कहिले काँहि विशेषगरी राजधानीका स्कुल तहका विद्यार्थीले गरेका विज्ञानका आविस्कारका खबर देख्ने अभिभावकहरुलाई लाग्न सक्छ, आफना छोरा/छोरी पढ्ने स्कुलमा त्यस्तो काम हुन सक्तैन । तर, विज्ञान विषयलाई रुची बनाएर पढ्ने राजधानी बाहिरैका विद्यार्थीहरु पनि विज्ञान र प्रविधिका प्रचलित सिद्धान्तका आधारमा पोख्त बन्न सक्छन् । त्यस्ता आविस्कार विद्यालयमा गर्दै आएका छन् । फरक यत्ति हो, उनिहरुले स्कुलमा गरेका काम मिडियामा आएका छैनन् । कामको परिणाम देखाउने उपयुक्त ठाउँ र अवसर पनि पाएका छैनन् ।
धरानमा पहिलो पटक पब्लिक हाइस्कुलद्धारा बुधवार देखी आयोजित विज्ञान प्रदर्शनी तथा शैक्षिक मेलाले त्यस कुराको पुष्टि गर्दै विद्यार्थीहरुले स्कुलमा गरेका विज्ञानका नयाँ नयाँ प्रयोगका परिणाम प्रदर्शन गर्ने अवसर पनि प्रदान गरेको छ । दुई दिने शैक्षिक मेलाका स्टलहरुमा धरानका विद्यालयहरुमा विद्यार्थी द्धारा गरिएका विज्ञानका प्रयोगात्मक अभ्यासका आविस्कारहरु प्रदर्शनका लागि राखिएका छन् । मेलाले धरानका स्कुलहरु विज्ञानको पठन पाठन र प्रयोगात्मक अभ्यासमा निकै अगाडि छन् भन्ने कुरा पुष्टि गरेको छ ।
कक्षा ६ देखी १२ सम्मका विद्यार्थीहरुले स्कुलमा विज्ञानको पठन पाठनबाट प्राप्त ज्ञानको आधारमा गरेका आविस्कारहरु मेलामा प्रदर्शन गरिएका छन् । स्कुलमा विद्यार्थीका समुहहरुले पढाइका आधारमा आफै तयार गरेका नमुना कामहरु सहित त्यस्मा संलग्न छात्रछात्राहरु उनीहरुले गरेका विज्ञानका आविस्कारहरुका बारेमा बताउँदै गरेका थिए । स्टलहरुमा ड्रोन देखी रसायन शास्त्र र अहिले निकै चर्चामा आएको स्मार्ट सिटीको नमुना समेत विद्यार्थीहरुले प्रदर्शनमा ल्याएका छन् ।
मेलामा दिल्ली पब्लिक स्कुलका विद्यार्थीहरुले बनाएको ड्रोन दर्शकहरुका अघि विद्यार्थीहरुले नै बनाएको रिमोट कन्ट्रलले उडाएर प्रदर्शन गरिएको थियो । पछिल्लो समय ड्रोनमा क्यामेरा जडान गरेर मानिसले आफै पुगेर खिच्न नसक्ने स्थानहरुको तस्विर खिच्ने कार्यमा बढी प्रयोग हुने गरेको छ । यसलाई जासुसी तस्विर लिन पनि प्रयोग गर्न थालिएकोले यसको प्रयोग पूर्व स्विकृति लिएर मात्र गर्न पाईने नियम बनेको छ । विज्ञानका यस्ता अत्याधुनिक साधन विद्यार्थीहरु आफैले तयार गरेका हुन् । मेलामा राखिएका ५० भन्दा बढी स्टलहरुको प्रदर्शनी आआफ्नै विशेषता अनुरुपको रहेका छन् ।
रामसिता माध्यमिक विद्यालय वर्जु २, भिमनगर कक्षा ९ का ५ विद्यार्थीहरुको समूहले तयार गरेको अटोमेटिक इस्टीकले राति आफै विजुली बल्ने र विहान भए पछि आफैँ निभ्ने स्वचालित नियन्त्रण प्रणाली प्रदर्शनमा राखेका छन् । सुनाखरी बोर्डिङ स्कुलका विद्यार्थीहरुद्वारा स्वचालित फाइटर ट्यांकको प्रदर्शनी गरिएको छ । पब्लिक हाई स्कुल धरान–१२ का विद्यार्थीहरुद्वारा स्मार्ट सिटीको प्रदर्शनी गरेको छ । पब्लिक कै विद्यार्थीहरुले तयार पारेको इञ्जेक्सन लगाउने पम्पबाट हाइडेलिक प्रणाली बनाएर चलाएको जेसीभी स्काभेटरको नमुना प्रदर्शनमा राखिएको छ । शिक्षा निकेतन, ल्याबोरेटरी मावि, सुनसरी टेक्नीकल स्कुल, पूर्वाञ्चल इञ्जिीनियरीङ क्याम्सि लगायतका शैक्षिक संस्थाहरुले विद्यालयमा विज्ञानको पठन पाठनका आधारमा विद्यार्थीले गरेका प्रयोगात्मक प्रविधि÷परिणामहरु विद्यार्थी सहित सबैका लागि रोचक विषयका रुपमा रहेका छन् ।
पछिल्लो समय विद्यार्थीहरुमा विज्ञान र प्रविधिको विषयमा गहिरो रुची बढ्दै गएको छ । त्यस्तो रुचीलाई थप प्रोत्साहित गर्न यो प्रदर्शनी र मेलाले महत्वपूर्ण भूमिका खेल्न सक्ने देखिएको छ । मेलामा कक्षा ५ देखी १२ सम्मका विद्यार्थीहरुले प्रत्येक स्टलमा देखाएको रुचीले यस्को पुष्टि गरेको प्रदर्शनी स्थलमा पूग्ने जो कोहीले अनुभव गर्न सक्दछ । मेला लाई विद्यार्थी समुहहरु विच सकारात्मक प्रतिस्पर्धाको स्थिति सिर्जना गर्न आयोजक पब्लिक हाइस्कुलले पुरस्कारको व्यवस्था पनि गरेको छ । त्यस्तो पुरस्कारको निर्णायकमा प्रदर्शनी अवलोकन गर्न आउने विद्यार्थीहरु समेत रहेका छन् । यस्को लागि मेला अवलोकन गरेपछि विद्यार्थीहरुले आफुलाई प्रभावकारी तथा उत्कृष्ट लागेको प्रदर्शन स्टललाई भोट दिने व्यवस्था गरिएको छ । मेला घुमिसकेका विद्यार्थीहरु अन्तमा आफुलाई राम्रो लागेको विद्यालयको प्रदर्शनीलाई भोट हाल्न लामै लाईनमा बसेको देखिए ।
यसअघि प्रदर्शनीको उद्घाटनमा समेत विद्यार्थीहरु द्धारा बनाइएको विद्युतीय प्रविधि प्रयोग गरिएको थियो । पूर्वान्चल इन्जिनियरिङ क्याम्पसका रोबोटिक्स क्लबका विद्यार्थीहरुले तयार गरेको पानसमा बत्ती बल्ना साथ यन्त्र जडित रोबोट मेशिनले रिबन आफै काटिने स्वचालित व्यवस्था गरिएको हो । प्रमुख अतिथि उपमेयर मन्जु भण्डारीले पानसमा बत्ती बालेकी थिइन् लगत्तै रोबोटले रिबन काटेको थियो ।








