कास्कीमा निर्वाचन अधिकृतको कार्यालय तोकियो

एन एच पौडेल, पोखरा । प्रदेश र प्रतिनिधि सभा निर्वाचनको लागि कास्कीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न स्थान तोकिएको छ । कास्की क्षेत्र १ को उपत्यका नगर विकास समितिको कार्यालय, २ डिभिजन सहकारीको कार्यालय र ३ को जिल्ला समन्वय समितिको कार्यालय स्थापना गरिने क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुवेदीले जानकारी दिए । उनका अनुसार निर्वाचन अधिकृतको कार्यालय बिहीबार स्थापना हुँदैछन् । जिससमा हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले क्षेत्र ३ को निर्वाचन गराउनेछ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा १८ र निर्वाचन अधिकृतको कार्यालयमा १६ कर्मचारी खटिने छन् ।
निर्वाचन मिति नजिकिँदै गर्दा निर्वाचन कार्यालयले मतदाता शिक्षा कार्यक्रमको तयारी पनि तीव्र पारेको छ । जिल्लाका ३ सय १७ मतदान केन्द्रमा स्वयंसेवकले नयाँ दर्ता भएका मतदाताको फोटोसहितको मतदाता परिचयपत्र वितरण गर्नेछन् । मतदाता शिक्षा एक महिनासम्म चल्नेछ । कास्कीमा प्रतिनिधि सभाको लागि प्रत्यक्षतर्फ ३ जना र प्रदेशतर्फ प्रत्यक्षमा ६ जना सदस्य निर्वाचित हुनेछन् । प्रत्यक्षतर्फ निर्वाचन क्षेत्र अनुसार फरक फरक मतपत्र हुनेछ भने समानुपातिकतर्फ प्रदेश ४ को एउटै मतपत्र हुनेछ ।
मतदाताले ४ ठाउँमा स्वस्तिक छाप लगाउनुपर्नेछ । दोस्रो चरण अन्तर्गत कास्कीमा मङ्सिर २१ गते बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान कार्यतालिका तोकिएको छ । कास्कीको मतगणना नगर प्रशिक्षण केन्द्र, पोखरा सभागृह र जिससमा हुने जनाइएको छ ।
कास्कीमा २ लाख ५५ हजार मतदाता
निर्वाचन कार्यलय कास्कीले जिल्लामा कुल २ लाख ५५ हजार ४ सय ५२ मतदाताले निर्वाचनमा भाग लिने जनाएको छ। यो सङ्ख्या स्थानीय तह निर्वाचनको भन्दा ३० हजारले बढी हो । स्थानीय निकायको निर्वाचन पछि कास्कीमा ३० हजार मतदाता थपिएका हुन् । क्षेत्रीय निर्वाचन कार्यालय, पोखराका अनुसार दोस्रो चरण अन्तर्गत आगामी मङ्सिर २१ मा हुने संविधान सभा तथा प्रदेश सभा निर्वाचनमा कास्कीका २ लाख ५५ हजार ४ सय ५२ मतदातामध्ये पुरुषको तुलनामा महिला बढी छन् । पुरुष मतदाता १ लाख १९ हजार २ सय ९४ जना रहेकोमा महिला मतदाताको सङ्ख्या १ लाख ३६ हजार १ सय ५४ छ । यो भनेको पुरुषको तुलनामा महिला १६ हजार ८ सय ६० ले बढी हो । जिल्लामा तेस्रो लिंगीको सङ्ख्या भने मात्र ४ जना छ ।
यसै वर्ष फोटोसहितको मतदाता नामावलीको विवरण सङ्कलनपछि कास्कीका ३ क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र १ मा पुगेका छन् भने सबैभन्दा कम क्षेत्र २ मा छन् । क्षेत्र १ मा ९६ हजार ८४ जना मतदाता छन् भने क्षेत्र २ मा ७० हजार ६ सय ५१ जना छन् । क्षेत्र ३ मा ८८ हजार ७ सय १७ जना मतदाता छन् । यस्तै, प्रदेश सभा निर्वाचन क्षेत्रअन्तर्गत कास्कीमा कायम ६ क्षेत्रमध्ये सबैभन्दा बढी क्षेत्र १ को प्रदेश ‘क’ मा ५० हजार २ सय ८९ र कम क्षेत्र २ को ‘ख’ मा ३३ हजार ८ मात्र मतदाता कायम गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।
डेढसय मतदान स्थल तोकियो
कास्कीमा १ हजार ६४ जना मतदाता बराबर १ मतदान केन्द्र कायम गरिएको छ । जिल्लामा कुल ३ सय १७ मतदान केन्द्र तोकिएको छ । मतदान स्थलको सङ्ख्या भने जिल्लामा १ सय ५० छ । जिल्लामा सबैभन्दा बढी मतदान स्थल क्षेत्र १ मा कुल ६२ वटा र सबैभन्दा कम क्षेत्र २ मा मात्र ३२ कायम गरिएको छ । यस्तै क्षेत्र ३ मा मतदान स्थलको सङ्ख्या ५६ छ । मतदान स्थलअन्तर्गत सबैभन्दा बढी मतदाता पार्दी मावि, पोखरामा कायम गरिएको स्थलमा छन् । यो मतदान स्थल कास्की क्षेत्र २ को प्रदेश क अन्तर्गत पर्दछ । यहाँ कुल ४ हजार ९ सय २७ मतदाता छन् । त्यसपछि दोस्रो धेरै मतदाता क्षेत्र २ को प्रदेश क अन्तर्गत पोखरा लेखनाथ महानगरपालिका वडा न. १५ को वडा कार्यालय भवन, कोलपाटनमा कुल ४ हजार ४ सय ८४ मतदाता छन् ।
सबैभन्दा कम मतदाता कास्की क्षेत्र १ प्रदेश ख स्थित मादी गाउँपालिकाको महेन्द्रोदय मावि, घ्यामराङ मतदान स्थलमा छन् । यहाँ मात्र ३ सय ६३ मतदाता छन् । दोस्रो कम मतदाता रहेको स्थल हो, पोखरा लेखनाथ महानगरपालिका वडा न. १ स्थित बालज्योति आधारभूत विद्यालय बगर। क्षेत्र ३ अन्तर्गत प्रदेश क मा पर्ने यस मतदान स्थलमा मात्र ४ सय ५ मतदाता छन् ।








