बालकृष्णलाई भेटेपछि बैद्यले भने– ‘जनयुद्धको कमाण्डर सरकारमा छँदा सिपाही जेल बस्नुपर्ने ?’

काठमाडौं, माघ २४ । नेकपा(क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्यले डिल्लीबजारस्थित सदरखोर जेलमा सजाय काटिरहेका बालकृष्ण ढुंगेललाई भेटेका छन् । वैद्य‘ले ढुंगेलसँग डेढघण्टा लामो कुराकानी गरेका छन् ।

ढुंगेललाई भेट्न डिल्लीबजार पुगेका महासचिव किरणसँग ढुंगेलले जनयुद्धकै तत्कालीन कमाण्डर प्रचण्ड सरकारमा हुँदा जनयुद्धको सिपाही आफू जेल पर्नु परेको भन्दै यो कस्तो न्याय हो ? भनेर प्रश्न गरेका थिए । जनयुद्धकालीन राजनीतिक मुद्दालाई विशुद्ध व्यक्तिगत र प्राविधिक बनाएर आफुलाई षड्यन्त्रपूर्वक फसाइएको ढुंगेलले दाबी गरे । उनले जेलमुक्त गर्न पार्टीको तर्फबाट भूमिका खेलिदिन आग्रह समेत गरेका थिए ।

ढुंगेलले भने, “ममाथिको आक्रमण जनयुद्ध लडेका सबै नेता कार्यकर्तामाथिको आक्रमण हो । मैले न्याय नपाउनु भनेको जनयुद्धले, जनयुद्धका सहिद, वेपत्ता योद्धाहरुले न्याय नपाउनु हो । जनयुद्धको एउटा पहलकर्ता र नेतृत्वमध्येको एक र अहिले पनि क्रान्तिकारी धारको नेतृत्व गरेर अगाडि बढिरहनु हैसियतले तपाई र तपाईको पार्टीले जनयुद्ध, सहिद, वेपत्ता योद्धाहरुलाई न्याय दिलाउने काम गर्नुपर्छ ।”

जवाफमा किरणले जनयुद्धकालीन मुद्दा राजनीतिक भएकोले यसलाई राजनीतिक रुपमा नै हल गर्नुपर्नेमा जनयुद्धकै नेतृत्व गरेको व्यक्ति सरकारमा छँदा जनयुद्धको एउटा सिपाही जेल पर्नु विडम्बनापूर्ण अवस्था रहेको भन्दै ढुंगेललाई जेलमुक्त गर्न पार्टीको तर्फबाट दबाबमूलक भूमिका खेल्ने बताए ।

जनयुद्ध, सहिद तथा वेपत्ता योद्धामाथिको वास्तविक न्यायका निम्ति फेरि पनि नयाँ जनवादी क्रान्ति गर्नु अपरिहार्य रहेको भन्दै महासचिव किरणले जनताको गणतन्त्रमा मात्रै जनयुद्ध, सहिद र वेपत्तायोद्धाले न्याय पाउन सक्ने विचार राखेका थिए । त्यसका लागि छरिएर रहेका क्रान्तिकारी एकीकृत र केन्द्रकृत भएर जनवादी क्रान्तिको प्रक्रियामा अगाडि बढ्नु पर्ने आवश्यकता रहेकोमा बैद्यले जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + nineteen =