भारतीय तरकारी आयातले नेपाली किसानले मूल्य पाएनन्

भरतराज शर्मा(गोपाल), धरान । सुनसरी धरान वडा नम्बर–१३ को कृषि थोक बजारबाट दैनिक करिब तीन सय मेट्रिक टन बढी तरकारीजन्य वस्तु निकासी हुने गरे पनि किसानले भने अनुसार मूल्य पाएका छैनन् । पूर्वी पहाडी जिल्लाको तरकारी बाली सङ्कलन गर्दै आएको कृषि थोक बजार धरानले दैनिक ३ सय ५० मेट्रिक टनसम्म तरकारी बाली निर्यात गर्दै आएको छ । भने, भारतीय तरकारीको आयात पनि उल्लेख्य मात्रामा बढेको छ ।
नेपालमा उत्पादन भएका तरकारी बालीले उपभोक्ताको माग धान्न नसकेपछि भारत तथा बङ्गलादेशबाट समेत तरकारी आयात गर्दै आएको छ ।
कृषि थोक बजारले आर्थिक वर्ष २०७२/०७३ मा ४ अर्ब १४ करोड ३२ लाख २८ हजार ५ सयको तरकारी बालीको कारोबार गर्न सफल भएको छ ।
आर्थिक वर्ष ०७२/०७३ मा बजारबाट सबैभन्दा बढी तरकारी बाली एक अर्ब ६७ करोड ३७ लाख चार हजार पाँच सयको निकासी भएको कार्यालयले जनाएको छ ।

पछिल्लो समय भारतबाट आएको तरकारी सस्तो हुँदा नेपाली तरकारीको माग घट्दै गएको छ । नेपाली तरकारी बालीको उचित मूल्य नपाएको किसानको गुनासो छ । कृषि बजारले पनि नेपाली उत्पादनले भनेजस्तो बजार भाउ नपाएको बताउँछ । ‘पछिल्लो समय भारतीय तरकारी आयात बढिरहेको छ ।’ कृषि बजारका एक व्यापारीले बताए ।
बराह नगरपालिका वडा नं. ५ भरौलका कृषक कदमलाल मेहताले आफूले उत्पादन गरेको तरकारीले उचित मूल्य नपाएको बताए । उनका अनुसार आफ्नो बारीमा उत्पादन भएको बन्दा बारीमै ८ रुपैयाँ प्रतिकेजी बिक्री भए पनि त्यसलाई ट्रयाक्टरमा ढुवानी गरेर थोक बजारसम्म पुर्याउँदा समेत त्यत्ति नै रुपैयाँमा गर्नुपरेको बताए । ‘घरमै ८ रुपैंया किलो बन्दाकोपी लिन आउँछन् । यहाँ ल्याउँदा अलिकति बढी दाम आउँछ की भनेको ढुवानी खर्चपनि उठाउन गाह्रो भो ।’ उनले भने ।
कृषि थोक बजारले भने, किसान तथा समूहबाट खरिद गरिएको तरकारी तथा फलफुलमा ५ देखि १० प्रतिशतले मूल्य वृद्धि गरी बिक्री गर्ने गरेको बताएको छ । ‘हामीले कृषकबाट खरिद गरेर ५ देखि १० प्रतिशत नाफा राखेर बिक्री गर्ने गरेका छौँ ।’ कृषि बजारका ब्यवस्थापक भट्टराई भन्छन् ।
यहाँ हरेक हप्ता पशु हाट बजार समेत लाग्ने गरेको छ । प्रत्येक शुक्रवार लाग्ने खसी–बाख्रा बजारमा एक हजारको हाराहारीमा खसी–बाख्रा बिक्री हुने गरेको छ । पशुहाटमा खसी–बाख्रा बिक्री गर्नका लागि पूर्वी पहाडी जिल्ला धनकुटा, भोजपुर, सङ्खुवासभा, तेह्रथुम लगायतका स्थानबाट खसी–बाख्रा लिएर किसानहरू आउने गरेका छन् ।
पूर्वी पहाडी जिल्ला धनकुटा, भोजपुर, खोटाङ, तेह्रथुम, सङ्खुवासभा, उदयपुर का साथै सुनसरी, मोरङ, झापाका किसानहरुबाट तरकारी बाली, फलफुल तथा पशुचौपाया सङ्कलन गरिने धरान कृषि थोक बजार सरकारी स्वामित्वमा सञ्चालन हुँदै आएको छ ।
यहाँ सङ्कलन भएका अदुवा, अलैची, तेजपत्ता, अम्लिसो, नासपाती, बन्दा, टमाटर, सुन्तला, वेसार लगायतका बालीहरु नेपालका विभिन्न ठाउँका साथै भारत, बङ्गलादेश, चीन र भुटानसम्म निर्यात हुने गरेको छ । ‘यहाँबाट हुने कारोबार मध्ये ५५ प्रतिशत आन्तरिक र ४५ प्रतिशत बाह्य मुलुकबाट आयात हुन्छ, आन्तरिक क्षेत्रमा सबैभन्दा बढी धनकुटाबाट ५५ प्रतिशत तरकारी बाली आपूर्ति हुने गरेको छ । भने, बाह्य मुलुकमा भारतबाट ८० प्रतिशत कारोबार हुने गरेको छ ।’ ब्यवस्थापक भट्टराईले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =