खैरहनीमा ५० शैयाको क्वारेनटाईन निर्माण, इट्टा उद्योगमा ज्वरो परीक्षण

चैत १०, चितवन । खैरहनी नगरपालिकाले कोरोना भाईरसबाट हुन सक्ने जोखिम न्युनिकरणका लागि ५० शैयाको क्वारेनटाईन निर्माण गरेको छ । खैरहनी डिज्नी पार्क रिसोर्ट र सैनिक आवासीय महाविद्यालयमा क्वारेनटाईन निर्माण गरिएको खैरहनीका मेयर लालमणी चौधरीले जानकारी दिए ।
डिज्नी पार्क रिसोर्टमा २० शैया र सैनिक महाविद्यालयमा ३० शैयाको क्वारेनटाईन निर्माण गरिएको मेयर चौधरीले बताए । संभावित कोरोनाबाट सक्रमितलाई उपचार पद्धतीमा सहजताका लागि नगरले ति दुई संस्थासंग सहकार्य गरेर क्वारेनटाईन बनाएको हो ।
‘सुरक्षाको हिसाबले ति दुई स्थान उपयुक्त छन’् मेयर चौधरीले भने, ‘संभावित जोखिम न्युनिकरणमा नगरले क्वारेनटाईन बनाएको हो ।’

कोरोनाको जोखिम न्युनिकरणका लागि नगरपालिकाले स्वास्थ्य संस्थामा अत्यावश्यक बाहेकका सेवा वन्द गरिसकेको छ ।
यसैबीच खैरहनी नगरपालिकाले नगर भित्र रहेका इट्टा उद्योगका कामदारहरुको स्वास्थ्य परीक्षण गरि परामर्श समेत दिएको छ । केही कामदारमा ज्वरो आएको जानकारी पश्चात नगरबाट टोली इट्टा उद्योगमा पुगेको थियो । परीक्षण गर्दा कुनै पनि कामदारलाई ९८ डिग्री भन्दा माथी ज्वरो आएको फेला परेन ।
यहाँका इट्टा उद्योगमा भारतीय नागरीकले काम गर्दै आएका छन् । केही कामदार हालै यहाँ आएकाले कोरोनाको जोखिम हुन सक्ने भएकाले इट्टा उद्योगमा ज्वरो परीक्षण गरिएको खैरहनी नगरपालिकाका प्रवक्ता रामशरण पाण्डेले बताए । ज्वरो परीक्षणसँगै कोरोनाबाट वच्ने उपायका बारे त्यहाँका कामदारलाई परामर्श दिईएको पनि प्रवक्ता पाण्डेले बताए ।
ज्वरो परीक्षण र परामर्शका लागि खैरहनी नगरपालिका सामाजिक विकास समिति संयोजक मनेजर महतो, खैरहनी २ का वडाध्यक्ष टिकादत्त इटनी, स्वास्थ्य शाखा सहसंयोजक रुद्र शर्मा इट्टा उद्योगहरुमा पुगेका थिए ।
कोरोनाबाट बच्ने उपायका लागि नगरपालिकाले विभिन्न माध्यमबाट टोल टोलमा पुगेर प्रचार प्रसार समेत सुरु गरेको छ । सोमबारनै नगरपालिकाले संभावित कोरोनाको जोमिखका बारे उद्योग वाणिज्य संघ खैरहनी, चितवन उद्योग संघ खैरहनी इकाई, खैरहनी चेम्वर अफ कमर्स, इलाका प्रहरी कार्यालय खैरहनीसँग छलफल तथा सुझाव लिएको छ ।
छलफलमा बजारको भीडभाड कम गर्न बजार वन्द गर्न सक्ने विषयमा समेत छलफल भएपनि निर्णय भने भएको छैन् ।








